बर्दिया,मंसिर २७/गुलरिया नगरपालिका वडा नम्बर ७ का शिवराम लोनियाले व्यवसायिक तरकारी खेती गर्न थालेको २५ वर्ष भयो । तर पनि अवस्था सुध्रिएको छैन । करिब १५ कठ्ठा जग्गामा तरकारी खेती गरेको लोनियालाई आधुनिक कृषीगर्ने तरिका बारे कुनै ज्ञान छैन । तालिमको अभाव र अन्य सिपको कमीले परिवार पाल्नलाई भएपनि उहाँ जानीनजानी परम्परागत तरिकाले तरकारी लगाउँनु हुन्छ ।


तर मौसमी तरकारी लगाउने कति पटक त विउ तथा मौसम बारे जानकारी नपाउँदा पटक पटक तरकारी नै उत्पादन भएन । उहाँ भन्नुहुन्छ, “नत कसैले तालिम दिएको छ, नत बत्तिको सुविधा, नत बाटोको सुविधा छ । मलविउ आपुर्ति त परको कुरा हो । जसको बावजुत पनि परिवार चलाउन यहि तरकारी खेती गरि गुलरियाको हाट बजारमा लगि बेच्ने गरेको छु ।” उहाँको छोरा विनोद लोनियाको कथा पनि उस्तै छ ।
मेहनत धेरै छ तर आम्दानी एकदम थोरै छ, तरकारी बेचेर बचत कता हो कता लगानी उठाउन पनि गाह्रो छ । विनोदले भन्नुभयो, विदेश जाने सोंच बनाएको थिए । रकम अभावकै कारण विदेश गईन । तरकारी खेतीमै भविष्य खोज्न थालेको छु । तरकारी उत्पादनमा लाग्ने मिहनेत, महँगो मल, विउ तथा सिचाईको असुविधा लगायतको समस्या झेल्दाझेल्दै पनि व्यवसायिक तरकारी पेशातर्फ मोडिनु प¥यो ।
गुलरिया ७ बदलुपुर गाँउका थुप्रै महिला तथा पुरुष युवा वर्ग व्यवसायिक तरकारी गर्न खोजेपनि उक्त स्थानमा कुनैपनि सुविधा तथा सरकारको नजर पर्न नसकेका कारण बाहिर गई मेहनत मजदुरी गर्न बाध्य रहेको अर्का किसान महेश लोनियाको गुनासो छ । “न कुनै तालिम हामीलाई छ न त सरकारी अनुदान तरकारी बेचेर तरकारीमै लगाउछौं, उहाँ थप्नु हुन्छ, “कति नै फाइदा होस र घरका सवै परिवार सदस्य दिनभरि बारीमै हुन्छौं तर परिवारलाई खान पुगेपनि छोराछोरीलाई राम्रो शिक्षा दिन यो तरकारी खेतीले नसकिने अवस्था छ, यो त बत्तिमुनीको आँध्यारो भएन र ?” उहाँको प्रश्न छ ।
सरकारी अनुदानमा समेत हामीलाई समावेश नगरेको र ठुलाबडा भनाउँदाहरुकै मानिसले उक्त अनुदानमा सधै पहुँच राख्ने गरेको उहाँको गुनासो छ । बदलुपुरका लोनिया समुदायका किसानहरु धान बाली लगायत अन्य बाली कमले मात्र लगाउने गरेका छन । धान मकै तोरी खानका लागी पुग्ने भएपछि आम्दानी होला र परिवार पाल्न तथा छोराछोरी पढाउन सहज होला भनि उनिहरु व्यवसायिक तरकारी खेती अपनाएका हुन । तरकारी खेतीमा मल विउ तथा सिचाईको सहज पहुँच स्थानिय सरकारले गरेको भए ती कृषकहरु ऋझ बढी आम्दानी गर्न सक्ने देखिएको छ । २५ औं वर्ष देखी तरकारी खेत गर्दै आएका कृषकहरुले अझै सम्म विजुली बत्ति तथा सडक संजालको समेत तयार गर्न नसकेको उनिहरुको दुखेसो छ ।
व्यवसायिक तरकारी खेती गर्ने कृषकका लागी आधुनिक कृषी यन्त्र, तालिम, मल विउ लगायतका क्षेत्रमा सहुलियत दिन सके व्यवसायिक तरकारी खेती बाटै जिवन सुखमय बनाउन सक्ने नन्दुराम लोनियाको भनाई छ । गुलरिया नगरपालिकामा कतिपय वडामा सवैकुराको सहज पहुँचले व्यवसायिक तरकारी खेती बाटै प्रगति गरेका उदाहरण पनि नभएको होइन तर स्थालगत रुपमा हेर्दा बुझदा बदलुपुरका लोनिया समुदायले भने कुनैपनि सहयोग विना परम्परागत र अरुको देखासिकीका आधारमा संघर्ष गरि तरकारी खेती गर्न बाध्य छन । सदरमुकाम संगै जोडिएको गाँउमा तरकारी खेती गरिरहेका कृषकको मर्का बुझी राज्यले मलविउमा अनुदान तथा लगानी गरिदिने संघसंस्था संग उनिहरुलाई जोडी सक्ने सहयोग गर्न आवश्यक देखिएको छ ।साभार चुरेकुञ्ज




