मधुवन, मंसिर २४ गते / बर्दियाको मधुवन नगरपालिकामा “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नारा सहित ५ औं मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता आइतबार समुद्घाटन भएको छ।


मधुवन नगरपालिकाको आयोजना तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं ९ पुर्णपुरको संयोजक रहेको उक्त छनौट प्रतियोगिता ३ विधा ( एथलेटिक्स, कबड्डी र भलिबल) र २ अतिरिक्त विधामा (खो-खो, फुटबल) प्रतियोगिता गरिने सचिवालयले जानकारी दिएको छ भने सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरि ३६ वटा विद्यालय सहभागी रहेका छ्न।
समुद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद तथा लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, विशिष्ट अतिथी पुर्व लुम्बिनी प्रदेश संसद कुल प्रसाद पोख्रेल, समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर बिष्ट, मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उप-प्रमुख अनिता चौधरी, मधुवन नगरपालिका का पुर्व नगरप्रमुख गणेश बहादुर के.सी.(कृष्ण), ९ वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका नेतागण तथा प्रतिनिधि र शिक्षक, शिक्षिका बुद्धिजीवीहरु तथा विध्यार्थीहरुको उपस्थिति रहेको थियो।

समुद्घाटन समारोहका प्रमुख तिमिल्सिनाले अनुशासित भएर खेल्नु होला, खेलकुद जितेर मात्रै हुदैन, अनुशासन छैन भने प्रतियोगिता विजेताको औचित्य हुदैन, त्यसैले अनुशासनमा रहेर आफ्नो प्रतिभा प्रर्दशन गर्नुपर्ने बताए। तिमल्सिनाले मधुवन नगरपालिकाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुलाई स्मरण गर्दै घाइते महिला फुटबल खेलाडी यशोदा बोहराको स्वास्थ लाभको कामना समेत व्यक्त गर्नुभएको थियो।
सामाजिक विकास समिति तथा ५ औं मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताका संयोजक मीन बहादुर थापाको संयोजकत्वमा समुद्घाटन समारोह सम्पन्न भएको थियो भने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पुर्णपुरका प्राध्यापक थिर बहादुर वलिले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम संचालन सन्तोष तिमिल्सिनाले गर्नुभएको थियो। ५ औं मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता ३० मंसिर शनिबार सम्पन्न हुनेछ ।
।




