प्रिय अपरिचिता!

मेरो जात नसोध
कुनै गोत्र,
वङ्श या थर नसोध
म कहाँको हु?
मेरो उत्पत्ति ,
स्थायी ठेगाना र घर नसोध
म लाखौंको भीडमा पनि
नितान्त एक्लो हुन्छु
फेरि कहिलेकाही
नितान्त एकान्तमा पनि
भीडले घेरिएको हुन्छु
म प्रश्नको घेरामा हुन्छु
म घर कसलाई भनू
जहाँ जन्मिएको थिए
त्यो घर भत्किसक्यो
हुर्केबढेको घर
बनेको छ खंडहर
यो अस्थायी जीवनमा
जतासुकै मेरा घरैघर
म मनको डेरामा हुन्छु
प्रिय अपरिचिता!
मलाई मेरो घर नसोध।
अहो!हेर त
जताततै पहिचानको जुलुस
असङ्ख्य जीवनले भरिएको
यो जगतमा
फगत मान्छे मात्र विभाजित छ
घृणाको बीउ बोकेको
पहिचान अस्वीकार्य छ मलाई
म तिमीसगै एकाकार हुन चाहन्छु
प्रिय अपरिचिता
मेरो जात नसोध
थर नसोध।




