बाँके,मंसिर १७/बाँकेमा अफिम र चरेससहित एक दम्पत्ती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले अफिम र चरेससहित श्रीमान-श्रीमतीलाई पक्राउ गरेको डिएसपी नारायण डाँगीले जनाकारी दिए। शनिबार राति पौने ९ बजे कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरीबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कोहलपुर-८का ४० वर्षीय रेवन्त राना र उनकी ३३ वर्षीया श्रीमती कविता थापा छन्। उनीहरूले लागु औषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट टोली खटिएको थियो। त्यसक्रममा प्रहरीले बा ५ च ८२१५ नम्बरको कारलाई रोकेर चेक गरेको थियो।
उक्त कारबाट १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद भएको डिएसपी डाँगीले बताए। रेवन्त र कवितामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ।
रेवन्त राना यसअघि आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्। उनीविरूद्ध २०७१ साल चैत १९ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा चलेको थियो। २०७२ साल असोज २० गते बाँकेबाट सार्वजनिक अपराध शीर्षकमा र २०७३ असार ३ गते लागु औषध चरेश कारोबारको शीर्षकमा मुद्दा चलेको थियो।साभार सेतोपाटी




