गाउँका युवती मानव बेचबिखनका दलालको तारो हुने गरेका छन्। आर्थिक रूपमा कमजोर भएको मौका छोपी सजिलै प्रलोभनमा पारी फकाउन सकिने भएकाले पनि यस्तो भएको सरोकारवालाको भनाइ छ।

मानव बेचबिखनमा महिलालाई आकर्षक रोजगारीको प्रलोभन देखाई भारतस्थित दिल्लीमा पुर्याउँदै आएकी एक महिलालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंसिर १४ गते पक्राउ गरेको थियो। पक्राउ परेकी ती महिला बाँके वैजनाथ–८ स्थायी घर भएकी ३९ वर्षीया मुना ठकुरी हुन्।
पहाडी जिल्ला सुर्खेत, दैलेखलगायत विभिन्न ठाउँबाट महिलालाई भारतमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभनमा पारी नयाँ दिल्लीस्थित यौन गतिविधि केन्द्रमा बेचेको आरोपमा ठकुरीलाई ब्युरोबाट खटिएको टोलीले नेपालगन्जबाट पक्राउ गरेको हो।
पक्राउ परेकी ठकुरीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जानकारी गराएको छ।
ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेका छन्।
‘ग्रामीण क्षेत्रका आर्थिक अवस्थाले विपन्न, कम पढेलेखेका र एकल महिलालाई टार्गेट बनाउने गरेको पाइएको छ,’ उनले भने, ‘ठकुरीले भारतको नयाँदिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिकासहित दुईजना युवतीलाई बेचबिखन गरेको खुल्न आएको छ। पीडितलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा समेत यौन गतिविधिका लागि पठाउने गरेको पाइएको हो।’
नेपालबाट रोजगारीका क्रममा भारत पुर्याएका महिला भागेर हिँड्दासमेत पुनः समातेर सोही गतिविधिमा लगाउने गरेको उनले बताए। त्यस्तै ब्युरोबाट ठकुरी मात्रै नभई हालै वेश्यावृत्तिमा लगाएको आरोपमा अर्का एक पुरुष पनि पक्राउ परेका छन्।
विभिन्न प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाई वेश्यावृत्तिमा लगाएको आरोपमा संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेल पक्राउ परेका हुन्। उनी पनि मंसिर १० गते ब्युरोद्वारा पक्राउ परेको पंगेनीले जानकार गराए।
पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पंगेनीले जानकारी गराए।
रातोपुलस्थित पौडेलसमेतले सञ्चालन गरेको नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टरमा काम गर्ने युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले तीनजनाको उद्धार गरेको थियो।
त्यसरी उद्धार भएका युवतीमध्ये दुईजना नाबालिग रहेको ब्युरोले जानकारी दिएको छ।
‘दलालले मसाज सेन्टरमा युवतीलाई शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको पाइएको छ,’ उनले भने, ‘युवतीले नमानेको खण्डमा शारीरिक तथा मानसिक यातनासमेत दिने गरेको छ। त्यति मात्र नभई पुरुषहरूसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित राख्ने गरेका हुन्छन्।’
त्यसैगरी युवतीहरू दलालले भनेअनुसारको नमान्दा सामाजिक सञ्जालमार्फत आफन्तलाई फोटो र भिडिया पठाइदिने भनी डरत्रास समेत दिने गरेको उनले बताए।
दलालहरूले आर्थिक अवस्था कमजोर भएका र हेर्दा सुन्दर देखिनुको साथै ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई फसाउन विभिन्न जाल बिछाएका हुन्छन्। त्यस्ता युवतीहरूको कमजोरी पक्षलाई दलालीले केन्द्रबिन्दु पारेका हुन्छन्।
दलालले आकर्षक सेवासुविधा देखाउँदै गरिब समुदायका युवतीलाई मसाज मात्र नभई विभिन्न कार्यमा लगाउँदै आएका ब्युरोका प्रहरी उपरीक्षक पंगेनीले बताए।
उनका अनुसार मानव बेचबिखन हुनमा पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबरजस्ती शोषण, घरेलु काम, मानव अंग किड्नी झिक्ने, छाला झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्य गरिन्छ।
अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको प्रहरी उपरीक्षक पंगेनीले जानकारी गराए।
हाल समाजमा फस्टाउँदो गतिमा रहेका अवैध संगठित अपराध लागु औषध, हातहतियारमध्ये प्रमुख मानव बेचबिखन रहेको पंगेनीले बताए।
‘मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ,’ उनले भने, ‘दलालहरूले श्रम तथा यौन शोषणजस्ता कार्यमा जबर्जस्ती संलग्न गराउँछन्। उनीहरूलाई गलत कार्यमा लगाइन्छ।’
उनले थपे, ‘महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र आफ्नो मनोरञ्जनका सामान खरिद गरेझैं युवती राख्ने र विभिन्न शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृत्ति फेरिँदै आएको छ।’
स्वदेशमा अशिक्षा र रोजगारीको अवर नहुँदा मानिस बेचबिखनको सिकार भएको पंगेनीले बताए।
घरमा पति र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका वा घरेलु हिंसामा परेका महिला बेचिने अर्को कारण रहेको ब्युरोका अधिकारीले खुलाए।
आधुनिक सुविधाको उपभोग गर्ने रहर, धन कमाउने र विदेश घुम्ने प्रलोभनले गर्दा ग्रामीण क्षेत्रका युवती बेचिने मुख्य कारण रहेको पंगेनीले बताए।
‘हिंसामा परेका मानिस सधैं अवसरको खोजीमा हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने चाडै त्यस्ता दलालको पन्जामा पर्छन्। जसले गर्दा मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदै छु भन्ने जानकारी हुँदैन। मानव बेचबिखनमा लिंगको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिने गरेका छन्।’
उनका अनुसार पीडितलाई पहिलेजस्तो वेश्यालयमै पुर्याउनुपर्छ भन्ने छैन। डान्स बार, क्याबिन रेस्टुरेन्टलगायतमा पनि बेचिन्छन्। विवाह गरेको नाटक गरी विदेश पुर्याउने पनि गरिन्छ।
स्वदेशमै वा वैदेशिक रोजगारीको लालचमा पनि बेचिन्छन्। आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूप बदलिएका छन्। मानव बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी रहेको ब्युरोका अधिकारीले जानकारी गराए।
विद्यालयदेखि नै बालबालिकालाई यसबारे शिक्षित गराउनुपर्छ। पाठ्यपुस्तकमा समावेश गरी आफू कसरी बच्ने र अरूलाई कसरी बचाउने भन्ने कुरा उल्लेख गराउन जरुरी रहेको ब्युरोको सुझाव रहेको छ।
‘रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरबारे जानकारी गराउनुका साथै व्यक्तिगत तवरबाट आफू सचेत रही परिवार र साथीहरू सबैलाई सचेतना फैलाउने, यसैगरी ग्रामीण क्षेत्र पहिचान गरी मानव बेचबिखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्याली, घरदैलोजस्ता कार्यक्रम गर्ने,’ ब्युरोका प्रहरी उपरीक्षक पंगेनीले बताए । साभार नागरिक




