बर्दिया,मंसिर ११(माउण्टेनसमाचार)/ भारतीयको कुटपिटबाट गम्भिर घाईते भएका गुलरियाका एकको मृत्यु भएको छ । उपचारको क्रममा लखनउँमा गुलरिया नगरपालिका–११ का अन्दाजी ४० वर्षिय रमेश यादवको आइतबार मृत्यु भएको हो । गत कात्तिक २३ गते नेपाल भारत सिमावर्ती लौकाही बजार नजिक गुलरिया नगरपालिका–११ डाडालालपुर स्थित कुटपिटपछि भएको मृतकको आफन्तले जनाएका छन् ।

अतहर खान भारतीय लौकाहीका डाक्टर हुन् । नेपाल भारत सीमावर्ती लौकाही नजिक गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँको नजिक दशगजामा डा. अतहरको औषधी पसल छ । कार्तिक तेस्रो साता गुलरिया नगरपालिका–११ मृतककी दिदी बृजमा यादवले घर नजिकै डा अतहर खानको पसलबाट औषधी ल्याएकी थिइन् । ल्याएको औषधीले निको नभई रियक्शन गरेपछि बृजमाले गुनासो गरेपछि भारतीय डा.अतहर खान हातपातमा उत्रेका थिए । आफ्नी दिदीमाथि हातपात गर्दा मृतक रमेश यादव बोलेका थिए । त्यस दिन सामान्य विवादपछि झगडा शान्त भएको थियो ।
दुई तीन दिनपछि कार्तिक २३ गते मृतकका भतिज ओमकार यादव दीपावलीको लागि लौकाही बजार सामान किन्न गएका थिए । त्यही मौकामा डा.अतहर खानले १६ वर्षीय ओमकार यादवलाई नियन्त्रणमा लिएका थिए ।
‘डा.अतहरले मलाई नियन्त्रणमा लिई तेरो अंकललाई छिटो बोला’ भनेर ज्यान मार्ने धम्की दिएको ओमकार यादवले बताए । ‘डा. अतहरले ज्यान मार्ने धम्की दिएपछि अंकललाई फोनमार्फत जानकारी गराए’ उनले भने, ‘अंकलले डा.अतहरको बुवा जलालुसंग भने ‘ मेरो भतिजलाई छोड्दिनुस् ।’ त्यही विषयमा विवाद हुँदा लौकाहीबाट अतहरलगायत अन्य व्यक्तिहरू आएर डाडालालपुर गाउँ नेपालमै पसेर कुटपिट गरेको ओमकारले जनाए । कुटपिटमा दाजु रमेश यादव र भाइ मनोज यादव गम्भीर घाइते भएका मृतककी बहिनी गिता यादवले बताइन् ।
घाइते दाइको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो । त्यसपछि थप उपचारको लागि भारतको लखनउ पु¥याएको उनले जनाइन् । मृतकका आफन्तले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेको जनाएका छन् ।




