आज एकाबिहानै श्रद्धेय दाइ वासुदेव चौधरीको निधनको खबरले म विस्मित भए ।विश्वास नै लागेन।नेपाली काङ्ग्रेसका नेता दाइ विद्याप्रसाद खनाललाई फोन गरे ।उहाँले प्रष्ट उत्तर दिनु भएन , १० मिनेटमा आफूकहाँ आउन भन्नुभयो।हामी दुबैजना वासु दाइको घरमा गयौं ।उहाँ निष्प्राण जमिनमा सुत्नुभएको थियो ।शुभेच्छुक र साथीभाइहरुको उपस्थिति बढ्न थालेको थियो।उहाँको निधन मेरा लागि अविश्वसनीय थियो ,तथापि यो क्रूर सत्य थियो।

वासु दाइ बर्दियाको लोकतान्त्रिक आन्दोलनको एक अविस्मरणीय योद्धा हुनुहुन्छ ।२०४६ को जनआन्दोलनमा उहाँ अग्रपंक्तिमा उभिएर संघर्ष गर्ने विद्यार्थी नेतामा गनिनुहुन्छ।बर्दिया जिल्लामा नेपाल विद्यार्थी सङ्घ र नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा उहाँको महत्वपूर्ण भूमिका छ। सधै लोकतान्त्रिक आन्दोलनको झण्डा उठाइरहने निर्भीक व्यक्तित्वको पहिचान निर्माण गर्नुभएका वासु दाइ पछिल्लो समय काङ्ग्रेस राजनीतिबाट टाढा हुनुहुन्थ्यो तथापि उहाँ भावनात्मक रूपमा लोकतान्त्रिक आन्दोलन सदैव सन्निकट हुनुहुन्थ्यो ।
राजनैतिक पृष्ठभुमि र संघर्षको पूजीले ओतप्रोत वासु दाइ बर्दियाको पत्रकारिता क्षेत्रमा समेत स्मरणीय हुनुहुन्छ ।कुनै समय बर्दियामा सर्वाधिक लोकप्रिय पत्रिका नयाँ मुलुकमा प्रधान सम्पादक भएर उहाँले कुशल सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो।नेपाल पत्रकार महासङ्घ बर्दियाको सदस्यको रूपमा उहाँ लामो समय पत्रकारितामा आवद्ध रहनुभयो र अभिभावकीय भूमिका निर्वाह गर्नुभयो।म दुई पटक यो जिल्लामा नेपाल पत्रकार महासङ्घको अध्यक्ष भए।म अध्यक्षको जिम्मेवारीमा रहदा उहाँले जुन प्रकारको सहयोग र सद्भाव प्रकट गर्नुहुन्थ्यो ,त्यो मेरा लागि चिरस्मरणीय छ।
समाजसेवा उहाँको जीवनको अर्को उज्यालो पाटो थियो।बर्दियामा उच्च सामाजिक छवि भएको संस्था राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका सामाजिक सङ्घ संस्थाहरुमा उहाको उल्लेखनीय कृयाशीलता थियो।कानुन व्यवसायी ,लेखक,समाजसेवी ,राजनैतिककर्मी जस्ता समाजका बहुआयामिक विधामा जोडिनुभएका वासु दाइ एक असल मान्छे हुनुहुन्थ्यो ।बर्दिया जस्तो विविधता युक्त बस्तीमा उहाँ सामाजिक सदभावका विम्व हुनुहुन्थ्यो । एक सहृदयी व्यक्तित्व हुनुहुन्थ्यो ।उहाँको यो यो असामयिक निधनले हाम्रो समाजलाई अपुरणीय क्षेति पुर्याएको छ।म यो पीडाको क्षेणमा शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछु।




