- गुलरिया नगरको तुलापुर गाउँ जहाँ मेरो पनि बसोबास छ,त्यहीँ स्थानीय भरत चन्दको निवासमा मुटु हल्लाउने गरी एउटा भीषण आगलागी भयो।सो आगलागीबाट एक महिला र तीन कलिला बालबालिकाको ज्यान गयो।त्यो दर्दनाक घटनाबाट सिङ्गो गुलरिया आहत थियो।म पनि स्तब्ध थिएँ ।दिन उदास बित्यो।साझ टहल्दै राधाकृष्ण चोक पुगेको थिएँ ।देखे,दिदीबहिनीहरु लैङ्गिक हिंसा बिरुद्धको यो दिवस मनाउन चोकमा एकत्रित हुँदै हुनुहुन्थ्यो ।म पनि सहभागी भए।

लैङ्गिक हिंसाका सिकार सामान्यतया महिलाहरु नै हुने गर्छन् ।मानव सभ्यताको उषादेखि नै महिलाहरु उत्पीडनको सिकार हुँदै आएका छन् ।पूर्वीय सभ्यतामा नारीलाई पूजनीय मानिएको छ।जीवनकि प्रेरणा मानिएको छ।जीवनसङ्गिनीलाई अरधाङ्गिनी भनिएको छ। सैद्धान्तिक रूपमा हाम्रो सभ्यतामा नारीको स्थान अत्यन्तै उच्च छ।तर व्यवहारमा परापूर्व कालदेखि नै नारी उत्पीडित छिन् ।इन्द्र देवकी सची होउन् या रामकी सीता ,रावणकी मन्दोदरी होउन् या पाण्डवको द्रोपदी ती नारी भएकै कारण दुखी थिइन् ।अहिले पनि समाजमा असल देखिनका लागि नारीले आफ्ना असीम आकाङ्क्षाहरु जलाउनु पर्छ ,नभए जिउदै जल्न तयार हुनुपर्छ ।इतिहासमा सतीका रूपमा जिउदै जल्न विवश नारीहरु अहिले पनि कतै दाइजो त कतै कथित सत्चरित्रताको परीक्षा दिन जीउँदै जलिरहेका छन् ।यही परिवेशमा हामी आज पनि हिंसा विरुद्ध जन चेतना जगाइ रहेका छौ।मैनवत्ती जलाइरहेका छौँ ।


डोमिनिकन गणतन्त्रका तीन साहसी दिदीबहिनीहरु पेटिया,मिनर्भा र मारिया जसले क्रुजिलो तानाशाही सत्ताका विरुद्ध विद्रोह गरे र मृत्यु स्वीकार गरे।नेपाली चेली योगमाया जसले राणा शासनमा समेत नारी अस्मिताको पक्षमा विद्रोह गरिन र जल समाधि लिइन् ,ती आदरणीय नारीहरुको सम्मानमा हामी श्रद्धा दीप प्रज्ज्वलित गर्दैछौं ।यो आफैमा सुन्दर कर्म हो।तर यतिमात्र प्रयाप्त छैन । आजको कार्यक्रममा म जो अभियन्ता दिदीबहिनीहरुलाई देखिरहेको छु,उहाँहरुको सुकर्मको मुक्तकण्ठले तारिफ गर्दछु ।मलाई लाग्छ हाम्रो समाज,राज्य र चिन्तन पद्धति अझै निष्ठुरी छ ।यसलाई नारी मैत्री बनाउन ठूलो अभियान आवश्यक छ,त्यसको तयारीमा जुटौं ,विलम्ब नगरौं ।




