नेपालगन्ज, मंसिर ९ गते (माउण्टेनसमाचार) / नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जित्नुभएको छ ।

यसअघि उहाँले छैठौं संस्करणको उपाधि पनि जित्नुभएको थियो । उपाधिसँगै पार्कीले २ लाख नगद पुरस्कार जित्नुभएको छ । पार्कीले यसअघिको संस्करणका विजेता नेपाली सेनाका खडक बहादुर खड्कालाई पछि पार्दै उपाधि जित्नुभएको हो ।
खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख पुरस्कार पाउनुभएको छ । तेस्रो स्थान एपिएफकै किरणसिंह बाेगटीले हासिल गर्दै नगद ५० हजार हात पार्नुभयो । यस्तै म्याराथन महिलामा सन्तोषी श्रेष्ठले ह्याट्रिक गर्नुभएको छ । सातौँ संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गर्नुभएको हो । यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय हुनुभएको छ ।
प्रथम भएसँगै सन्तोषीले ७५ हजार नगद हात पार्नुभएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । दोस्रा हुनुभएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पार्नुभएको छ ।
प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।




