बर्दिया, कात्तिक १५ (माउण्टेनसमाचार) / बर्दियाको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले आफ्नो पदभार एक घण्टाका लागि सरुना चौधरीलाई हस्तान्तर गरे । मधुवन नगरपालिका–३ धनौराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सरुना चौधरीलाई बुधबार एक घण्टाको लागि नगर प्रमुख भाटले पदभार हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण गर्दै चौधरीले नगर प्रमुख भाटसंग आफुले गर्ने कार्य तथा जीम्मेवारीहरुबारे जानकारी लिईन् ।

एक घण्टाका लागि नगर प्रमुख भयकि चौधरीले नगरपालिका मार्फत भईरहेका कार्यहरु सम्बन्धित शाखाले प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन् । एक घण्टाका लागि नगर प्रमुख भयकि चौधरीले शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाका प्रमुखलाई निर्देशन दिईन् । चौधरीको उक्त निर्देशनलाई सम्बन्धित शाखा प्रमुखहरुले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यका साथ बी ग्रुप द्वारा विगत देखि मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा बालविवाह न्यूनिकरण परियोजना सञ्चालित रहेको परियोजनाका प्राविधिक संयोजक कुलराज दहितले बताए ।
बालबालिकाहरूलाई शशक्तिकरण गराउने, बालिकाहरुको गुणस्तरीय शिक्षामा बालबालिकाको भुमिका निर्वाह गरि सहजिकरण गर्ने, रोजगारमा संलग्नता गराउन र बालबालिकाको प्रजनन स्वास्थ्य अधिकारका उद्देश्यका साथ गठन गरिएको “परिवर्तनका सम्भाहकहरु“ मार्फत विभिन्न कार्यहरु भइनैरहेको समेत दहितले भने ।
बालविवाह उच्च रहेको र यसले व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको हुनाले बालविवाहको नगर्ने र नगराउने भुमिका खेल्न साथ बालबालिकाहरू दुव्र्यसन र लागुऔषध सेवन नगर्न नगराउनमा सचेतना फैलाउन प्रमुख भूमिका बालबालिकाले खेल्नु पर्ने समेत मधुवन नगरपालिकाका नगर प्रमुख भाटले बताए । कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मान बहादुर गिरीलगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।




