• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दलको विकल्प दल

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १४, मंगलवार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संसारमा निर्विकल्प कोही र केही छैन र असम्भव कुनै कुरा हुँदैन भन्ने भाष्य निर्माण भएका कारण असम्भव जस्ता लाग्ने कुरा सम्भव भएको हो । चन्द्रमामा मान्छे पुगेको हो । अनेक ग्रहको खोजी गरेर त्यहाँ बस्ती बसाल्ने सम्भाव्यताको खोजी गरिएको हो । विश्वको तीव्र विकास मान्छेको असन्तोषी, उग्र महìवाकाङ्क्षी स्वभाव र विकल्प खोज्ने अभीष्टले भएको मानिन्छ । अतः निर्विकल्प भन्ने कुरा हुँदैन ।

     

    विकल्पका लागि सबै वाद, प्रणाली र विधि खुला गरिने व्यवस्था र परिपाटीलाई नै आजको उन्नत लोकतन्त्र भनिन्छ । त्यसैले सडकमा विभिन्न थरीका नारा लिएर चर्चा हुनु सामान्य हो । मात्र के हो भने गणतन्त्रलाई जसरी र जुन तवरले ‘ड्राइभ’ गर्नुपर्ने हो, त्यसरी गर्न नसकेको कारण जनतामा आक्रोश, निराशा र कुण्ठा छ । त्यही आक्रोश अनेकन रूपमा अभिव्यक्त भएको पाइन्छ । जनता थरीथरीका माग लिएर सडकमा निस्कन्छन् । कहिले पुराना पार्टीको विकल्पमा नयाँ पार्टी अनुमोदनमा आतुर रहन्छन् ।

     

    हरेक वस्तु, चिजबिज र प्राणी खोटरहित छैनन् । खोट पनि सापेक्षित हुन्छ । मान्छे आफ्नो अनुकूल नहुनेबित्तिकै त्यसको खोट केलाउन थाल्छ । खोट केलाउने र देखाउने क्रममा खोट देखाउने पक्षको पल्ला भारी भयो भने त्यो विघटनमा जान्छ । खोटसहित नै कुनै पनि चिजको समर्थनमा त्यसको बाहुल्यता रह्यो भने त्यो निरन्तर रहन्छ । २०३७ को जनमत सङ्ग्रहमा पञ्चायतको पक्षमा जनमत देखियो र त्यो केही समय टिक्यो । २०४६ मा पञ्चायतको विरुद्धमा जनमत प्रकट भयो र ३० वर्षको पञ्चायत ढल्यो ।

     

    कुनै पनि व्यवस्थाको समर्थन र विरोधमा मान्छे हुन्छन् नै । यसमा दुई मत छैन । भविष्य र विकल्प सधैँ खुला हुनु पर्छ । लोकतन्त्रको सौन्दर्य यही हो । विश्वमा हुने सबै परिवर्तनमा जनताको चाहना चाहे त्यो ठिक होस् या बेठिक; त्यो युद्ध गरेर होस् या विद्रोह र शान्तिपूर्ण मतदान जनताको मतमा निर्भर रहन्छ । कुनै पनि व्यवस्थाको स्थायित्व र विनाश जनताको पदचापमा सन्निहित रहन्छ ।

     

    २०६२÷६३ को जनआन्दोलन र दस वर्षे माओवादी विद्रोहको जगमा करिब २५ सय वर्षदेखि अभ्यास गरिएको राजतन्त्र र २३७ वर्षदेखि चलेको शाहवंशीय राजतन्त्र नेपालको राजनीतिक इतिहासबाट (२०६५ जेठ, १५) विस्थापन गरियो । किंवदन्तीमा आधारित राजतन्त्र गोपाल वंशबाट सुरु भएको मानिन्छ भने प्रथम राजा धर्माकर रहेको कुरा बौद्ध ग्रन्थमा उल्लेख छ । बौद्ध धर्ममै राजतन्त्रको उल्लेख गरिएको र सिद्धार्थ गौतम राजकुमार भएका कारण राजतन्त्रको इतिहास तीन हजार वर्ष पुरानो भएको सहजै अनुमान लगाउन सकिन्छ । त्यही राजतन्त्रको निरन्तरताको क्रमभङ्ग करिब १६ वर्षअघि नेपालमा पनि भयो ।

     

    गोपाल, महिषपाल आभीरवंश र किराँतवंश; जसको ऐतिहासिक प्रमाण त छैन । इतिहास अध्येताहरूका अनुसार जनश्रुति, लोकोक्ति र वंशावलीमा उल्लेख भएका राजतन्त्रहरू हुन् । लिच्छविकालीन राजतन्त्रलाई भने प्रामाणिक ऐतिहासिक राजवंश मानिन्छ । लिच्छविकालीन राजतन्त्रको सुरुवात पहिलो शताब्दीमा भएको मानिन्छ । मानदेव प्रथम प्रामाणिक राजा भएको कुरा इतिहाससिद्ध विषय हो ।

     

    नेपालमा पटक पटक विभिन्न वंशका राजतन्त्रको पतन भएको छ । व्यवस्था परिवर्तन भएको छ । शाहवंश मात्रै नेपालको पहिलो पटक पतन भएको राजतन्त्र होइन । जनश्रुति या प्रामाणिक जे र जुन भए पनि क्रमशः गोपालवंश, महिषपालवंश, आभीरवंश, किराँतवंश, मल्लवंश र शाहवंश नेपालमा पतन भएका प्रमुख राजतन्त्रहरू हुन् । यद्यपि अन्य झन्डै तीन दर्जन राजा नेपालको हाल विद्यमान भूभागमा स्थापित थिए । तिनीहरू पनि राजा पृथ्वीनारायण शाहको एकीकरणसँगै नेपालको इतिहासका अध्याय मात्र बने । विश्वमा नै सबैभन्दा पछि स्थापना भएको गणतन्त्र भएकाले नेपालको गणतन्त्रलाई सबैभन्दा कान्छो गणतन्त्र भएको मुलुक भनेर पनि राजनीतिक बजारमा परिचर्चा हुने गरेको छ ।

     

    कुनै पनि व्यवस्था एकाएक समृद्ध र वैभवशाली हुँदैन । फेरि व्यवस्था आफैँमा साध्य होइन, साधन हो । यो साधन कस्तो क्षमता र बुद्धिले परिचालन ग¥यो, त्यसमा व्यवस्थाको सफलता, असफलता भर पर्दछ । प्रक्रियागत त्रुटि र काम गर्ने क्रममा अज्ञानतावश भएका कमजोरी सामान्य भए पनि नियतवश गरिने कमजोरी र गलत दृष्टिबाट हुने राज्य सञ्चालनका तौरतरिका व्यवस्था बदनाम गर्न र यसको बद्ख्वाइँका लागि काफी छ । हाल नेपालको समस्या पूर्णतया व्यवस्था असफल नभएर यसका सञ्चालकहरूको गतिविधिका कारण उत्पन्न भएको हो । राजनीतिक दलहरूले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेका कारण उत्पन्न परिस्थिति हो ।

     

    गणतन्त्रलाई सहज रूपमा वरण गरे पनि नेपाल जस्तो मुलुकका लागि सङ्घीयतालाई खर्चिलो भनेर विभिन्न प्रश्न बेलाबेला उठ्ने गरेका छन् । तथापि सङ्घीयता असफल भएको निष्कर्ष निकाल्न सकिन्न । यसलाई थुप्रै परिष्कार, परिमार्जन गर्दै आर्थिक व्ययभार कम गर्ने संरचनात्मक सुधार यसको पहिलो उपचार हो भन्ने यसका विज्ञहरूको तर्क छ ।

     

    असहजता, अप्ठ्यारा, थुप्रै चुनौती र बाधा–व्यवधानलाई व्यवस्थापन गर्दै जाँदा मात्र यो व्यवस्था बलियो हुन्छ । व्यवस्थापन गर्ने क्षमता प्रदर्शन गर्ने र केही कुरा र विषयमा पुनर्विचार गर्न भने ढिलो गर्न हुन्न भन्ने मर्मज्ञहरूको मत रहेको छ । आमजनतामा केही संशय छन्, त्यसको यथोचित जवाफ, जिम्मेवार नागरिक बौद्धिक जमात र राजनीतिक दल मिलेर दिनु पर्छ । अन्यथा समग्र प्रणालीमाथि नै अविश्वास प्रकट हुने स्थिति आउन सक्छ ।

     

    बहुदलीय लोकतान्त्रिक गणतन्त्रमा प्रश्न उठ्नु, आलोचना आउनु, तर्क–वितर्क प्रकट हुनु, विकल्पको कुरा उठ्नु अस्वाभाविक कुरा होइन । आलोचनात्मक चेत हामीले अवलम्बन गरेको व्यवस्थाको राम्रो पक्ष हो । आफ्ना कुरा राख्न पाउनु, सङ्गठन गर्न पाउनु, प्रश्न गरेर तिमीभन्दा हामी योग्य छौँ भन्न पाउनु युगीन विशेषता हो ।

     

    दलीय व्यवस्थामा कुनै पनि दल असफल हुन सक्छन् । त्यसको विकल्पमा अन्य दल जन्मन सक्छ तर व्यवस्था नै असफल भन्ने हुँदैन । नेपालमा पनि हाल व्यवस्थामाथि कतिपयले असफलताको दोष लगाउने गर्छन् । यस्ता आवाज निषेधयोग्य त छैनन् तर यस्ता कुराबाट चनाखो भने हुनु पर्छ ।

     

    व्यवस्थाभित्रका कमजोरी सुधारेर दलीय पद्धति, नेताहरू अझ उन्नत, सुसंस्कृत र सर्वोत्तम परिपाटीको हुनु आवश्यक छ । दल र नेताहरू नसुध्रे अन्य दलको प्रतिस्थापन गर्ने विषय जायज देखिन्छ । दलहरूको विकल्प दलहरू नै हुन् । बस खाँचो छ, कमजोरी सुधार्ने फराकिलो छाती र उन्नत मस्तिष्कको । अन्य विकल्प आजको सर्वोत्तम विकल्प होइन । सर्वोत्तम विकल्प दलहरूमध्येकै श्रेष्ठता हासिल गर्ने दल र जनअनुमोदित नेताहरू नै हुन् । जन्मश्रेष्ठता विगत हो । आगत र वर्तमान कर्मश्रेष्ठताको युग हो ।

     

    ज्ञानेन्द्र शाहले गणतन्त्र ल्याउन र सहजताका साथ भद्र तरिकाले स्वीकार गर्न जुन बुद्धिमत्ता प्रयोग गरे त्यो निश्चय नै तारिफयोग्य छ । स्वदेशमा नै बस्ने ज्ञानेन्द्रको देशभक्तिलाई सम्मानका साथ रहन दिनु पनि गणतन्त्रको उज्यालो पक्ष हो । गणतन्त्रको उज्यालो पूर्वराजादेखि गणतन्त्रवादी सबैले रक्षा र सम्मान गर्दा नेपाल र नेपालीको भविष्य उज्ज्वल छ । पूर्वराजाको सामाजिक सांस्कृतिक हैसियत आज पनि दुर्बल छैन ।

     

    देशभक्ति र राष्ट्रको स्वाभिमानको सवालमा, कूटनीतिमा ज्ञानेन्द्र शाहले पनि ससम्मान आफ्नो सहयोग दिनु पर्छ । राजा हुन नजन्मिएका ज्ञानेन्द्र दुई पटक राजा भइसकेका व्यक्ति हुन् । उनले आफ्नो मर्यादा सामान्य मान्छेको बहकाउ र भड्काउमा परेर घटाउने छैनन् । आफ्नो जीवनकालमा धेरै आरोह अवरोह देखेका विश्व नियालेका छन् उनले । त्यसैले गणतन्त्रको शुद्धीकरण र निर्मलीकरणमा सबैको योगदान रहनु पर्छ । साभार गोरखापत्र अनलाइन (सञ्जीव कार्की)

    Post Views: 229
    प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलवार ०८:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.