काठमाडौँ,कात्तिक १३ / भन्सार छलेर सुन ल्याउने कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी आज (सोमवार) सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई तथा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार कतार एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरुले भन्सार छलेर सुन ल्याई कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा काठमाडौँ सिनामङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट प्रहरीले २६ लाख ५१ हजार ८०५ रुपैयाँ ४७ पैसा मूल्य बराबरका ३ थान सुनको ढिक्का (जम्मा तौल २१४ दशमलव ३६ ग्राम), ३ थान सुनका सिक्री (जम्मा तौल ५० दशमलव ०१ ग्राम) र नगद १ लाख १० हजार रुपैयाँ बरामद गरेको थियो। उनीहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौँमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।साभार थाहाखबर




