• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सानेपामा दाहाल, देउवा र ओलीको एकै स्वर– ‘प्रश्नहरूबाट भाग्दैनौँ, छिट्टै जवाफ दिन्छौँ’

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १२, आईतवार ००:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक १२ गते / प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अहिल्यै दलीय व्यवस्था, दल र राज्यका निकायहरूप्रति संशय व्यक्त गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । पुराना दल र दलीय व्यवस्थाप्रति उठेका प्रश्नहरूलाई आफूहरूले ठूलो चुनौतीका रुपमा नहेरेको शीर्ष नेताहरूको तर्क छ । कोजाग्रत पूर्णिमाको सन्दर्भमा कांग्रेसले शनिबार गरेको चियापान कार्यक्रममा सहभागी नेताहरूले प्रमुख दलहरू एकताबद्ध भएरै आफूहरूको भूमिकाप्रति उठेका प्रश्नहरूको जवाफ दिने बताए ।

    चियापानको निम्तो मान्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित शीर्ष नेताहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सानेपास्थित पार्टी मुख्यालयमा स्वागत गरेका थिए । त्यस क्रममा सधैँजसो राजनीतिक घोचपेच र आरोप-प्रत्यारोपमा उत्रिरहने नेताहरूबीच आपसी जमघट भयो । उनीहरूले सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना आदानप्रदान समेत गरे ।

     

    चियापानपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले अहिले पुराना राजनीतिक दल र व्यवस्थाविरुद्ध उठिरहेका प्रश्नहरू राष्ट्र जनता र लोकतन्त्रको हितमा नरहेको बताए । ‘जसले प्रश्न गरिरहेको छ, उसको इतिहास, विचार, राजनीतिक मुद्दा, संघर्ष र संस्कार हेर्ने हो भने त्यसको कुनै औचित्य देखिदैन‚ तैपनि प्रश्न उठाउने कोसिस भएको छ । तर त्यो कुनै राष्ट्र र जनता, लोकतन्त्र र स्थायी शान्तिको हितमा उठेको जस्तो लाग्दैन,’ उनले भने । त्यस्ता प्रश्नहरू समाजमा अराजकता पैदा गर्ने उद्देश्यले मात्रै उठाइएको आरोप उनले लगाए ।

     

    ‘जसरी राजनीतिक दल र व्यवस्थामाथि प्रश्नहरू उठाइँदैछ, मलाई ती त्यति चुनौतीपूर्ण छन् जस्तो त लाग्दैन । तर पछिल्लो समय मेरो दौडधुप र प्रयासलाई नजिकबाट हेर्नुभयो भने तपाईहरू प्रष्ट हुनुहुन्छ कि हामी अब प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर छिट्टै नै त्यसको जवाफ दिनेछौँ । सबै पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ,’ दाहालले थपे ।

     

    शीर्ष नेताहरू सानेपामा जम्मा हुनुअघि शनिबार बिहान मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले ०८४ को चुनावमा सबै पुराना दलहरूलाई बाई बाई गर्ने उद्घोष गरेका थिए । ‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ थोत्राजत्ति सबैलाई एकैपटक बाइबाइ गर्ने हो । एक सिट पनि नदिने हो,’ लामिछानेको भनाइ थियो । उनकै भनाइलाई उदृत गर्दै सञ्चारकर्मीहरूले शीर्ष नेताहरूलाई पुराना दल र तपाईहरूको नेतृत्वप्रति उठेका प्रश्नहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्न तेर्स्याएका थिए ।

     

    एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेसम्म आफूप्रति त्यस्तो प्रश्नै नउठेको दाबी गरे । ‘अरू–अरूलाई त्यस्तो प्रश्न उठेको होला, हामीमाथि त्यस्तो प्रश्न उठेको छैन,’ ओलीको जवाफ थियो, ‘तर जसरी प्रश्न उठाउन खोजिएको छ, हामी त्यसको यथोचित समयमा जवाफ दिन्छौँ ।’

     

    कांग्रेस सभापति देउवाले भने अहिले जवाफ फर्काउने बेला नभएको बताए । उनले कांग्रेस सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आलोचनाहरूलाई सकारात्मकरुपमा ग्रहण गरेर अघि बढ्ने बताए । ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु, हामीले अझै जनतामाझ लोकप्रिय काम गर्नु आवश्यक छ,’ देउवाले भने, ‘तर राजनीतिक दल र राज्यका संस्थाहरूप्रति अझै पनि विश्वास घटेको जस्तो मलाई लाग्दैन ।’

     

    सभापति देउवाले प्रश्न गर्नेहरूले समय आएपछि आफैँ जवाफ पाउने जिकिर गरे । ‘प्रश्न उठ्दै गर्छन् । प्रश्नहरूबाट भाग्ने कुरा छैन । उचित समयमा जवाफ दिन्छौँ,’ देउवाले भनेका थिए ।

     

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पुराना राजनीतिक दलहरू सच्चिएर अघि बढ्न आवश्यक रहेको बताए । ‘सबैले सुशासन चाहेको अवस्था छ । तर मुलुक भ्रष्टाचारले आक्रान्त छ,’ उनले भने, ‘त्यसकारण पुराना-नयाँ सबै राजनीतिक दलहरू सही बाटोमा आउनुपर्छ ।’ सबै दलहरू जनताको माझमा अग्निपरीक्षाका लागि तयार रहेर बस्नुपर्ने उनले बताए । ‘चुनावमा कसैले प्रतिष्पर्धा गर्नै नपाउने भन्ने हुँदैन । क-कसले कसरी अग्निपरीक्षामा जाँचिनुपर्ने हो, त्यसकालागि सबै तयार हुनुपर्छ । सबैको परीक्षा हुन्छ,’ उनको भनाइ थियो ।

     

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने आफूहरू अहिले आफ्नै गोडामा अल्झेर लडिन्छ कि भन्ने अवस्थामा रहेको बताए । ‘जनताले जुन आशा र विश्वासका साथ छोटो समयमा जुन विश्वास दिनुभएको छ, त्यसले अब आफ्नै गोडामा अल्झेर लडिन्छ कि भन्नेबाहेक हामीले अरू चुनौती देखेका छैनौँ । हामीलाई अहिले आफ्नै दलको संगठन विस्तार गर्ने, दस्तावेजहरू बनाउने, पार्टीलाई बलियो बनाउने विषयमा ध्यान दिनुपर्नेछ,’ उनले भने ।

     

    उनले पुराना राजनीतिक दलहरूलाई पनि आफूहरूले शत्रुका रुपमा नहेरेको बताए ।

     

    ‘कांग्रेसले पनि भ्रष्टाचारविरुद्ध लड्ने भनिरहेको छ । एमालेले पनि त्यही भनेको छ । अर्कोले पनि त्यही भनिरहेको छ । हामीले पनि त्यही भनेका छौँ । त्यो हाम्रो साझा शत्रु हो । त्यसकारण प्रतिष्पर्धा चुनावमा हुन्छ,’ उनले भने, ‘हामीले पुराना दललाई शत्रु ठानेको होइन।’

     

    दसैंको कोजाग्रत पुर्णिमाका दिन कांग्रेसले लामो समयदेखि चियापान गर्दै आएको छ । विसं. २०३३ मा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालको कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम आयोजना गरेका थिए । ०३८ सालसम्म बीपीले नै त्यसलाई निरन्तरता दिए । त्यसपछि पार्टीका नेता र सभापतिहरूले नै प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाको सन्दर्भमा चियापान कार्यक्रम गर्दै आएका छन् । तर कोरोनाका कारण पछिल्ला तीन वर्ष भने निरन्तर त्यस्तो कार्यक्रम हुन पाएको थिएन ।

     

    कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले २०३४ सालदेखि मनाउँदै आएको चियापान कार्यक्रमलाई यो वर्षदेखि पुनः निरन्तरता दिइएको बताए ।

     

    चियापानमा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, माओवादी केन्द्रका नेताहरू अग्नि सापकोटा, हितराज पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुख, कर्मचारी लगायत पार्टीकै नेता कार्यकर्ता सहभागी थिए । साभार इकान्तिपुर

    Post Views: 207
    प्रकाशित मिति: २०८० कार्तिक १२, आईतवार ००:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.