अर्घाखाँची, कात्तिक १० गते / पश्चिम पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरुमा ‘वाख्खै–वाख्खै, हो’ भन्दै नाच भइरहेको छ । खुँडा, भाला, तरबार, ढाँडलगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिने गरी पञ्चेबाजासहितको तालमा सराय नाचिन्छ ।

पश्चिम अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पा, स्याङ्जालगायतका जिल्लामा कोट, दुर्गा र कालिका मन्दिरहरुमा दशैंसँगै सराय नाचको विशेष महत्त्व छ । यी जिल्लाहरूमा दशैंको टीकाको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म कोतघर, दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा गुन्जिन्छन् । सराय नाचले सबैतिर रौनकता बढाएको छ । दशैं मनाउन घर फर्किएकाहरू सराय नाच्छन् र मन्दिरबाट निकालिने देवीका आलाममा फूलपाती, अक्षता र भेटी चढाएर दर्शन गर्नेको यतिबेला भीड हुने गर्छ ।
बिहीबार अर्घाखाँचीको खाँचीकोट र ठाडाको कालिका भगवती मन्दिर, गुल्मीको धुर्कोटमा सहित जिल्लामा सराय नाच भइरहेको छ । गुल्मी, अर्घाखाँची पहाडी जिल्लाबाट तराइमा बसाइसराई गरेकाले पनि आफ्नो ठाउँ कपिलवस्तु, दाङ र रुपन्देहीमा सराय नाच हुने गर्छ ।
किंवदन्तीअनुसार अर्घाखाँचीको खाँचीकोट दरवारका राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो । त्यसबेलादेखि खाँचीकोट दरबारलाई विशेष महत्त्वको रुपमा हेर्न थालिएको थियो । चन्द्रावतीले मावतीघरमा आएका पृथ्वीनारायण शाहलाई राजकीय विधि, शासन पद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण भएको मान्यता रहेको स्थानीय एवं पूर्ववडाध्यक्ष प्रितम थापाले बताए । यसैका कारण खाँचीकोट दरबारलाई महत्त्वको रुपमा लिइने र त्रयोदशीका दिन सराय नाच विशेष हुने उनले बताए । सराय यस क्षेत्रको मौलिक नाच भएको उनले बताए । साभार इकान्तिपुर




