• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

परालका जुत्ता लगाएर गाडी बोकेर काठमाडौँ भित्र्याउनेको कथा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ९, बिहीबार ०६:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक९ गते / २०१३ साल अघिसम्म काठमाडौँमा गाडी भरियाले बोकेर ल्याउँथे । २०१० सालदेखि बन्न थालेको त्रिभुवन राजपथ भीमफेदी–थानकोट तीन वर्षमा जोडिएपछि भरियाले गाडी बोक्नुपरेन, त्यसपछि सोही बाटो भएर भारतदेखि गाडी गुडेर काठमाडौं आउन थाले ।
    २०१३ सालसम्म विशेषगरी भीमफेदी, चित्लाङ र पालुङका मानिस गाडी बोक्ने काम गर्थे । गाउँको उत्पादनले वर्षभरि खान–लाउन पुग्दैनथ्यो । हातमुख जोर्न कि सहर पुग्नुपथ्र्यो कि मधेस । नत्र गाडी बोकेर काठमाडौं ल्याउँदा दुई–चार पैसा आम्दानी हुन्थ्यो ।
    तत्कालीन राणाशासकका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउने गरिन्थ्यो । भारत हुँदै नेपाल खाल्डो भित्रिने साना–ठुला गाडीलाई युवाहरूले भीमफेदीदेखि बोक्थे । वीरगन्जदेखि हेटौँडा हुँदै तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदीसम्म सडक सञ्चालन भइसकेको थियो । सोही सडक हुँदै गाडीहरू भीमफेदीसम्म आइपुग्थे । भीमफेदीबाट गाडी बोकेर कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पुर्याइन्थ्यो ।
    भीमफेदीदेखि काठमाडौंसम्म गोरेटोको भरमा हिँडेर आवतजावत गर्नुपथ्र्यो । धनीमानीहरु उलिनकाठ चढेर यात्रा गर्थे, उलिनकाठ (एक प्रकारको डोली) बोक्नेहरु पनि युवा नै हुन्थे । । सोही बाटो हुँदै युवाहरू गाडी बोकेर काठमाडौँ पुर्‍याउँथे ।
    राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्नका लागि सानो फाखेल, ठूलो फाखेल, तसर, तोक्मार, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका स्थानीय भरिया हुन्थे ।
    गाडी बोक्नेमध्येका एउटा इतिहास हिराबहादुर घलान, जसको निधन २०७७ सालमा भयो । भीमफेदी र पालुङमा अझै पनि गाडी बोकेर काठमाडौं लगेको देख्ने केही वृद्ध भेटिन्छन् । मकवानपुर, थाहा नगरपालिका– ५ निवासी ८९ वर्षीय हिराबहादुर नै गाडी बोक्ने अन्तिम र जिउँदो इतिहास थिए । काँधमा गाडी बोक्नेमध्ये घलान दोस्रो पुस्ताका भरिया हुन् । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेको कथा इतिहासको पानामा सीमित भएको छ । उनले जीवनभर २५ वटा गाडी बोके । गाडी बोक्ने थाहा– ५ कै अर्का पात्र जुक्तबहादुर वाइबाको २०७५ मा निधन भयो ।
    बाबियोको डोरीले बाँधेर बोकिन्थ्यो गाडी
    घलानले २००६ सालदेखि नै गाडी बोक्न सुरु गरेका थिए । त्यतिबेला ९६ जनाले र ६४ जनाले बोक्ने गाडी थिए । एउटा सिंगो गाडीलाई कसरी बोक्ने ? यो प्रश्न उब्जिनु सामान्य हो । गाडी बोक्नुअघि सबैभन्दा पहिले गाडीको चक्का र बम्परहरू निकालिन्थ्यो । त्यसपछि गाडीको चक्का बस्ने ठाउँमा दुईतिर ठुल्ठुला पोलजस्ता नोल राखिन्थ्यो । त्यसमा साना नोलहरू राखेर बाबियोको डोरीले कसेर नोल र गाडी एक ढिक्का हुने गरी बाँधिन्थ्यो । गाडी बाँधेपछि अगाडि र पछाडि बराबर संख्यामा भरिया बस्थे । अनि एकसाथ बल गरेर होस्टेहैंसे गर्दै गाडी बोक्थे ।
    गाडी बोक्ने काम भरियाको हुन्थ्यो भने त्यसको व्यवस्थापनका लागि नाइके र महानाइके भनेर तोकिएको हुन्थ्यो । नाइके र महानाइके नै भरिया छनोट गर्नेदेखि अन्य व्यवस्थापनका काम गर्थे ।
    हलुका गाडी पर्‍यो भने उनीहरूले एकै दिनमा कुलेखानीसम्म ल्याउँथे । गाडीलाई मार्खु, कुलेखानी र चित्लाङ पुगेर रोकेको दिन उनीहरू आ–आफ्नो घरमै बास बस्न आउँथे । अरु दिन भने उनीहरूको बास गाडी रोकिएकै ठाउँका स्थानीय घरमा हुन्थ्यो । हलुका गाडी सात र ठुला गाडीहरू १६ दिन लगाएर भरियाले काठमाडौं पुर्‍याउने गर्थे ।
    साना गाडीमा लामा–लामा नोल बाँधेर चार कुमामा ८–८, १६–१६ र २४–२४ जना युवाले काँधमा बोकेर हिँड्थे । त्यतिबेला भरिया र नाइकेले ८–८ जनाले बोक्ने गाडी ३२ मोडल, १६–१६ जनाले बोक्ने गाडी ६४ मोडल र २४–२४ जनाले बोक्ने ९६ मोडलको गाडी बन्ने गर्थे । भीमफेदी कुलेखानी मार्खु चित्लाङ चन्द्रागिरि हुँदै काठमाडौं पुर्‍याउन सातदेखि १२ दिनसम्म लाग्ने गथ्र्यो ।
    नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलोपटक गाडी ल्याएको इतिहासकार बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ । त्यो समयमा एउटा सानो गीतको अंश नै बनेको थियो, ‘हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी ।’
    मासु, ढिँडो, रोटी, जाँड र रक्सी खाएर उनीहरू गाडी बोक्थे । त्यसबेला पाँच पैसाको मासु र चार पैसाको फापरको रोटीले अघाउन्जेल खान पुग्थ्यो । कतिपयले भने घरबाटै मकै, कोदो र फापरको पिठो लिएर जान्थे । यसरी लिएर गएको पिठो बास बस्ने ठाउँमा ढिँडो बनाएर खाने गरेका थिए ।
    त्यतिबेला अहिले जस्तो जुत्ता थिएन । उनीहरू परालको जुत्ता लगाउँथे । गाउँभरि परालको जुत्ता बनाउने जिम्मा पनि हिराबहादुर घलानको हुन्थ्यो । त्यसो त हरेकले घरबाट परालको मुठो बोकेर जान्थे । गाडी बोकेर उकालो–ओरालो गर्दा परालको जुत्ता मुस्किलले एक दिन टिक्थ्यो । भरियाहरू असहजसँगै रमाइलो गर्दै गाडी बोक्थे ।
    नौ रुपैयाँ ज्यालामा बोकिन्थ्यो गाडी
    काँधमा गाँडी बोकेबापत उनले नौ रुपैयाँ ज्याला पाउँथे । बाँकी रहेको फैसा भरियाले बाँड्थे । त्यो पैसाले उनीहरू खानेकुरा किन्ने किन्थे । उनीहरूलाई काममा लगाउने र पैसा दिने मान्छे नाइके हुन्थ्यो ।
    त्यसबखत काठमाडौंको नेवार समुदायका कुलबहादुर नाम गरेका एक व्यक्ति गाडी कम्पनीमा काम गर्थे । उनै कुलबहादुरले दरबारमा गएपछि काठमाडौंमा गाडी भित्र्यााउन अनुमति पाए । शासकलाई सुविधा हुने कुरा सुनाएपछि शासकले गाडी भित्र्याउने जिम्मा उनैलाई दिए ।
    उनले नै अमलेखगन्जदेखि भीमफेदीसम्म गाडी चलाएर ल्याउँथे । भीमफेदीमा नाइकेलाई गाडी जिम्मा लगाएर उनी काठमाडौं जान्थे । गाडी थानकोट आइपुगेको खबर पाएपछि उनै कुलबहादुरले चलाएर गाडीलाई दरबारसम्म पुर्‍याउँथे ।
    यसरी गाडी बोकेर ल्याउने क्रम २०१३ सालसम्म चल्यो । २०१० सालदेखि बन्न थालेको त्रिभुवन राजपथ भीमफेदी–थानकोट तीन वर्षमा जोडिएपछि भरियाले गाडी बोक्नुपरेन । सोही बाटो भएर भारतदेखि गाडी गुडेर काठमाडौं आउन थाले । साभार रातोपाटी

    Post Views: 202
    प्रकाशित मिति: २०८० कार्तिक ९, बिहीबार ०६:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.