• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गिरीघाट शिविरमा छैन दशैंको रौनक ‘चाडपर्व आउँदा बालबच्चा यो चाहियो, त्यो चाहियो भन्छन् । भनेको पुराउन सकिँदैन । झनै मन रुन्छ,’ रिता विक भन्छिन्, ‘हाम्रो छपेरामा जमरा राख्ने ठाउँ त छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ?

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ७, मंगलवार १५:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत, कार्तिक ७ गते / अहिले देशैभर दशैंको रौनक छ । रोजगारी, अध्ययन र पेशा व्यवसायका लागि शहर–बजार छिरेकाहरु घर फर्किएर मान्यजनबाट टीका–जमरा लगाएका छन् । मिठोमसिनो खाँदै रमाइलो गरिरहेका छन् ।

    तर, कर्णालीको राजधानी वीरेन्द्रनगरदेखि २० किलोमिटर पश्चिममा रहेको बराहताल गाउँपालिका–२, गिरीघाट शिविरमा भने चाडपर्वको रौनक छैन । उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । विगत १० वर्षयता उनीहरूका लागि दशैंमा कुनै उमङ्ग आएको छैन ।

    २०७१ साउन २८ र २९ गते भेरी नदी किनारमा आएको बाढीबाट प्रभावितहरु उक्त शिविरमा बस्दै अएका छन् । २५९ परिवारमध्ये केही घरपरिवारले बस्ती छोडिसकेका छन् भने हाल १२५ घरधुरी परिवार अस्थायी शिविरमै बस्दै आएका छन् । राज्यले उचित ठाउँमा व्यवस्थापन गर्न नसक्दा उनीहरु विस्थापित भएको १० वर्ष बित्दा पनि शिविरमै बस्न बाध्य छन् ।

    यो बस्तीमा दशैं–तिहार जस्ता चाड पर्वहरू कहिल्यै खास बन्न सकेका छैनन् । बस्ती अगाडिको कर्णाली राजमार्गमा दशैंको रौनक बोकेर सयौं गाडीहरू भित्रँदा सडक छेउमै रहेको यो बस्ती भने सुनसान छ ।

    ०७१ मा आएको बाढीले सयौंलाई घरबारविहीन बनायो । कैयौंले परिवारका सदस्य र आफन्त गुमाए । दर्जन बढीको ज्यान गयो । त्यो अप्रत्यासित घटना भएको १० वर्ष बित्यो । अझै पनि गिरीघाट वस्तीमा बसेका बाढीपीडितका आँखा ओभाएका छैनन् । बाढीले घर सम्पत्ति बगाएपछि उनीहरू टहरोकै व्यवस्थापन र बिहान–बेलुकीको छाक टार्नका लागि संघर्षरत छन् ।

    ‘यो शिविर मुनि अझै कति दशैं मनाउन पर्ने हो थाहा छैन,’ रामबहादुर नेपाली भन्छन्, ‘दशैँ त प्रत्येक वर्ष आउँछ तर हाम्रो बस्तीमा नपसेर जान्छ ।’

    बस्तीको अवस्था जिर्ण छ । शिविरमा निर्माण गरिएका त्रिपालका टहरा भ्वाङ्ग परेका छन् । कतिपयले खरको छानो हालेर एक कोठे छाप्रो बनाएका छन् । स्वच्छ खानेपानी छैन । चर्को बेरोजगारी छ । अभाव र अशिक्षा छ । १० वर्ष पहिले उनीहरुका घर आफन्तले भरिन्थ्यो, टीका र आशीर्वाद थाप्नेको भीड हुन्थ्यो ।

     

    बेलुका आँगनमा नाचगान पनि चल्थ्यो । १० वर्ष अघिसम्म सीता नेपालीको घरमा दशैंले यस्तै उमङ्ग ल्याउँथ्यो । तर अहिले दशैंले थप तनाव दिन्छ । ‘छोराछोरीहरु दशैंमा नयाँ कपडा, माछा–मासु चाहियो भन्दै कराउँछन्,’ उनी भन्छिन्, ‘हामीलाई साँझ–बिहानको छाक टार्नै मुश्किल छ । कसरी किन्दिनु नयाँ लुगा, कसरी मनाउनु दशैं ?’

    शिविरमा बस्दै आएका उनीहरु पीडा र ऋणको भारीले थिचिएको बताउँछन् । पहिले नजिकैको खोलाबाट बालुवा र गिट्टी कुटेर जिविका चलाउँथे उनीहरु । पछिल्लो समय सरकारले गिटी बालुवा उत्खनन्मा रोक लगाएपछि छाक टार्न धौ–धौ पर्न थालेको रामबहादुर नेपाली बताउँछन् । ‘पहिले गिट्टी बालुवा बाह्रै महिना खुला हुन्थ्यो अहिले गाउँपालिकाले बन्द गरेको छ । गिट्टी, बालुवा तान्न ठेक्का दिन्छ, ठेकेदारले डोजर लगाएर तान्छ, त्यसपछि त हाम्रो रोजगारी पनि खोसियो,’ रामबहादुर भन्छन् ।

    ‘यो पालमुनि अझै कति दशैं मनाउन पर्ने हो थाहा छैन,’ उनी भन्छन्, ‘दशैँ त प्रत्येक वर्ष आउँछ तर हाम्रो बस्तीमा नपसेर जान्छ ।’

    १० वर्ष पहिले आएको बाढीले रिता विकको घरजग्गा बगायो । घरजग्गा बगाएपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडक छेउमा बस्न थालिन् । शिविरमा आएदेखि चाडपर्व मनाउन नपाएको उनी बताउँछिन् । ‘चाडपर्व आउँदा बालबच्चा यो चाहियो, त्यो चाहियो भन्छन् । भनेको पुराउन सकिँदैन । झनै मन रुन्छ,’ रिता भन्छिन्, ‘हाम्रो छपेरामा जमरा राख्ने ठाउँ त छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ?

    बाढी प्रभावित परिवारको बसाइँ मात्र असुरक्षित छैन, स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता न्यूनतम सुविधाबाट समेत उनीहरू बञ्चित छन् । त्रिपालमुनि साँघुरो एउटा कोठामा ५ देखि ८ जनाको परिवार बस्दै आएका छन् । दाताले दिएका त्रिपाल भ्वाङ्ग परेका छन् ।

    उनीहरुसँग ओढ्न र ओछ्याउनलाई न्यानो कपडा छैन । गरिवी, अभाव, अशिक्षा र पछौटेपनले जेलिएका उनीहरु दशैंले उत्साह नभई दशा लिएर आउँने गरेको बताउँछन् । नयाँ लत्ताकपडा किन्न, मिठोमसिनो खान सक्ने अवस्था नभएपछि यो बस्तीमा दशैंको उल्लास नभएको शिविरकी हरिकला विकले बताइन् । साभार अनलाइनखबर

    Post Views: 236
    प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलवार १५:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.