• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एक कार्टुनिस्टको कलाबाट जन्मेको ‘फलानो लुगा’

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २, बिहीबार ०७:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक २ गते / नेपाली मिडियाका पाठकहरूले ‘फलानो’ देखेको तीन दशक हुनै लाग्यो। ‘फलानो’ कार्टुन चित्रकार (कार्टुनिस्ट) राजेश केसीको कार्टुनको एक पात्र हो, कार्टुनको शीर्षक पनि हो।

    त्यही फलानो एक दशकदेखि लुगाको नेपाली ब्रान्ड भएर बजारमा स्थापित भएको छ।

    ‘मेड इन नेपाल’ अर्थात् नेपालमा बनेको सामान किन्न मन पराउने ग्राहकका कारण नेपाली ब्रान्डहरूको बजार विस्तार हुँदैछ। व्यवसायीहरूका अनुसार नेपाली कला–संस्कृतिका चित्र अंकित लुगाप्रति आकर्षण बढ्दो छ। मन्दिर, गुम्बा, स्मारक लगायत नेपालीपन झल्किने चित्र छापिएका लुगा नेपाली र विदेशी दुवैले रूचाउन थालेका छन्।

    हाल नेपाली बजारमा यस्ता चित्र छापिएका (प्रिन्टेड) लुगा बनाउने थुप्रै कम्पनी छन्। आयातीत लुगामा चित्र छापेर बजार पुर्‍याउनेहरू पनि छन्। नेपालमै लुगा बनाउने र त्यसमा नेपाली कला–संस्कृतिका चित्र छापेर बजार पुर्‍याउनेहरूको संख्या पनि बढ्दो छ।

    यस्तैमध्येको एक हो ‘फलानो लुगा’।

    फलानोमा कटनका लुगा बन्छन्, खासगरी टिसर्ट र हुडी। तिनको डिजाइन फलानोकै हुन्छ, आफ्नै चित्रकला प्रस्तुत हुन्छ। फलानो लुगामा छापिने सबै कलाका सर्जक हुन् कार्टुनिस्ट राजेश।

    फलानो लुगाका सञ्चालक पनि राजेश नै हुन्। उनी तीन दशकदेखि विभिन्न मिडियामा आबद्ध भएर कार्टुन बनाउँदै छन्। चित्रकलामा पनि पोख्त छन ।

    दस वर्षअघि, २०७० सालतिर, राजेशलाई उनका चित्रकला लुगामा प्रिन्ट गर्ने प्रस्ताव आयो। आफ्ना चित्र र कार्टुनमा उनी पूर्ण विश्वस्त थिए तर लुगाको गुणस्तरमा ढुक्क हुन सकेनन्।

    ‘कुन गुणस्तरको कपडामा मेरो कला प्रिन्ट भएर बजार जान्छ भन्नेमा म विश्वस्त हुन सकिनँ,’ राजेशले भने, ‘सहकार्य गर्ने निर्णय गर्न सकिनँ। बरू त्यही प्रस्तावबाट आफैं पो व्यवसायमा प्रवेश गर्न सक्छु कि भन्ने सोच्न थालेँ।’

    उनले धेरै सोचविचार गरे। आफ्नो सिर्जना ‘फलानो’ लाई आफैं सम्हाल्ने सोचे। फलानो लुगा बनाउने र त्यसको बजारीकरण गर्न सक्छु भन्ने भयो।

    राजेशले क्यालिफोर्नियाबाट डिजिटल प्रिन्टर मगाए। लुगा बनाउन भारतको लुधियानाबाट सूती (कटन) कपडा आयात गरे। करिब एक करोड रूपैयाँ लगानीमा २०७० सालमै फलानो लुगा प्रालि सुरू गरे।

    उनले सुरूमै ठूलो लगानी गरेका हुन्। अमेरिकाबाट ३० लाख रूपैयाँभन्दा बढी मूल्यको डिजिटल प्रिन्टर मगाए। ललितपुरको हरिसिद्धिमा कारखाना तयार गरे। पहिलो चरणमा एक हजारवटा टि–सर्ट तयार गरे। एकैपटक चार ठाउँमा आउटलेट (पसल) खोले।

    उनले ल्याएको डिजिटल प्रिन्टरमा एकपटकमा एउटा चित्र एक हजार वटासम्म टिसर्टमा प्रिन्ट गर्न सकिन्छ।

    ‘बजारमा अधिकांश व्यवसायीले चलाउने स्क्रिन प्रिन्टरभन्दा डिजिटल प्रिन्टर फरक हुन्छ। यसमा एकैपटक धेरैवटामा प्रिन्ट गर्न सकिन्छ,’ उनले सुरूमै अलि ठूलो लगानी गर्नुको कारण प्रस्ट पारे, ‘फलानो ब्रान्ड उच्च गुणस्तरीय हुने गरी बजार पठाउने सोच थियो। त्यसैले डिजिटल प्रिन्टरमा लगानी गर्‍यौं।’

    फलानो ब्रान्डमा कुनै नयाँ प्रिन्टको लुगा बजार पठाउनुअघि त्यसको नमूना तयार गरेर गुणस्तर परीक्षण हुन्छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया लिइन्छ र अन्तिम स्वीकृतिपछि मात्रै व्यापारिक उत्पादन गरेर बजार पठाइन्छ।

    त्यस्तै लुगा बजार पठाउनुअघि एकपटक धोइएको हुन्छ। यसो गर्दा ग्राहकले किनेको लुगा धुँदा घट्ने वा खुम्चिने हुँदैन।

    हाल टिसर्ट र हुडी गरी फलानो लुगा मासिक कम्तीमा दुई हजारवटा बिक्री भइरहेको छ। अधिकांश ग्राहक नेपाली छन्।

    पुल्चोक र हरिसिद्धिस्थित आउटलेटसँगै काठमाडौं उपत्यकाका पाँचवटा भाटभटेनी सुपरमार्केटमा फलानो लुगा पाइन्छ। त्यस्तै उपत्यकाबाहिर चितवन, पोखरा, बुटवल, जनकपुर र बिर्तामोडका भाटभटेनी सुपरमार्केटमा पनि उपलब्ध छ। दराज अनलाइन बजारमार्फत पनि बिक्री हुन्छ।

    हकम्पनीमा हाल दस जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अप्रत्यक्ष रोजगारी पनि छ। कटिङ, फिनिसिङ, आइरन लगायत काममा आवश्यकता अनुसार कर्मचारी राखिने राजेशले बताए।

    फलानो लुगा युवालक्षित भएकाले ग्राहक पनि युवा नै बढी छन्।

    ‘हालसम्मका ग्राहकमा दोहोर्‍याएर किन्ने आधा जति छन्। युवा लक्षित भनिए पनि सबै उमेर समूहका छन्,’ राजेशले भने, ‘लैंगिक रूपमा हेर्दा पुरूष ग्राहक बढी देखिएका छन्। टिसर्ट र हुडी पुरूषले बढी लगाउने भएकाले पनि हो। तर फलानोका लुगा महिला–पुरूष दुवैले लगाउन मिल्छ।’

    जाडो मौसममा हुडी र गर्मी मौसममा टिसर्टको माग बढी हुन्छ। माग र समयअनुसार पोलो टिसर्ट र ज्याकेट पनि बन्छ।

    फलानो लुगा अमेरिकी, युरोपेली मुलुक, जापान र अरू केही देशमा पनि पुगेको छ। कम्पनीले आफैं भने निर्यात गरेको छैन।

    ‘हामी आफैंले निर्यात गरेका छैनौं। त्यता बस्नेहरूले नेपाल आउँदा किनेर लैजान्छन्,’ उनले भने।

    फलानो लुगाको व्यावसायिक स्लोगन (सन्देश) हो ‘नेपालमै बन्या’। यसले ग्राहकको ध्यानाकर्षण गर्ने राजेश बताउँछन्।

    मिडिया क्षेत्रमा सक्रिय भएकाले राजेशले सुरूमा फलानो लुगा प्रचारका निम्ति पत्रपत्रिकाकै सहारा लिए। हाल सामाजिक सञ्जालहरूबाट भइरहेको छ।

    ‘कतिपय ग्राहक त अरूले सिफारिस गरेर नै आउनुहुन्छ। विदेशीहरू पनि आउटलेट खोज्दै आएको भन्नुहुन्छ,’ उनले भने।

    राजेशका अनुसार फलानो लुगाले बजारमा सन्तोषजनक उचाइ लिएको छ तर यो यात्रा सजिलो थिएन। काम सुरू भएको दुई वर्षमै, २०७२ सालमा भुइँचालो आयो। बजार सुस्त भयो। भूकम्पको मार खेपेर उठेको व्यवसाय २०७७ सालमा कोरोनाको चपेटामा पर्‍यो।

    ‘नेपाली ब्रान्ड बजारमा स्थापित गर्न अलिक बढी समय लाग्छ। यस्तो अवस्थामा कहिलेकाहीँ देखिने विभिन्न चुनौतीहरूले बजारीकरणमा थप असर गर्छ,’ उनले भने।

    कोभिडपछि फलानो लुगाले बजार विस्तार गर्दैछ। अब मासिक पाँच हजारवटा टिसर्ट र हुडी बजार पठाउने योजना छ। प्रत्येक साता लुगामा नयाँ चित्र आउनेछ।

    बजार विस्तारकै क्रममा चार महिनाअघि भाटभटेनी सुपरमार्केटसँग सहकार्य भएको हो।

    ‘नेपाली उत्पादन प्रवर्द्धनमा सुपरमार्केटहरू सकारात्मक हुँदै गएका छन्,’ राजेशले भने, ‘भाटभटेनीले पनि गुणस्तरीय स्वदेशी उत्पादन र रोजगारीलाई विशेष प्रोत्साहन दिँदो रहेछ। यसले अवश्य पनि हाम्रो उत्पादन बढीभन्दा बढी ग्राहकमाझ पुग्नेछ भन्ने विश्वास छ।’ फलानो लुगा नयाँ ढंगले पनि प्रस्तुत हुँदैछ। राजेश लुगा बनाउन आवश्यक कच्चा पदार्थ र कटन कपडा नेपाली नै प्रयोग गर्ने सम्भावना पनि खोजी गर्दैछन्। हालसम्म प्रयोग भएको कपडाको गुणस्तरसँग मिल्ने नेपाली कपडा फेला नपरेकाले आयात गर्नुपरेको हो।

    ‘मैले खोजेको गुणस्तरको कपडा पनि बन्न सक्छ भन्ने सुनेको छु। जतिसक्दो नेपाली कपडाबाटै फलानो लुगा बनाउने सोचाइमा छु,’ उनले भने।

    फलानो लुगाको लोगो राजेशले बनाउने कार्टुनको एक पात्र हो। उनका अनुसार सधैं तीनधर्के टोपी लगाउने ‘फलानो’ ले आम नेपालीको प्रतिनिधित्व गर्छ। राजेशले यो पात्र लिएको तीस वर्ष पूरा भयो।

    नेपाली मिडियामा कार्टुनको प्रयोग निकै कम हुने बेलामा उनले यो काम थालेका थिए। उनी समसामयिक राजनीतिक र सामाजिक विषय समेटेर व्यंग्य गर्छन्।

    ‘मलाई फलानोले नै बजारमा स्थापित गरेको हो। नयाँ व्यावसायिक यात्रामा पाइला टेक्दा यही नाम रोजेँ। फलानो लुगा भन्दा ग्राहकलाई फलानो कार्टुनको याद आउने भयो,’ ५५ वर्षीय राजेशले भने।

    उनले फलानो लुगामा छाप्न हालसम्ममा एक सयभन्दा बढी चित्र बनाएका छन्। प्रतिष्ठित व्यक्तिको मुहारचित्र र नेपाली मौलिक चित्र बनाएका छन्। प्रसिद्ध गीतका अंश र प्रसिद्ध भनाइहरू पनि लेख्ने गरेका छन्।

    ‘मेरो कलाकृतिले ब्रान्ड स्थापना गर्न मद्दत गरेको छ,’ उनले भने, ‘ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले सन्तुष्टि दिन्छ। फलानोलाई निरन्तरता दिन्छु।’

    उनी फलानो लुगा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन चाहन्छन्। केही प्रस्ताव पनि आएका छन्। तर आफैं आउटलेट चलाउन चाहन्छन्।

    हाल फलानो लुगा एक हजारदेखि १३ हजार रूपैयाँसम्मका पाइन्छन्। कपडा, लुगाको किसिम र चित्र छपाइ लगायतको गुणस्तरका आधारमा मूल्य निर्धारण हुने उनी बताउँछन्।

    बजारमा फलानो ब्रान्ड चोरी भएको पनि राजेशले देखेका छन्।

    ‘यो बौद्धिक सम्पत्ति चोरी हो। हाल यस्तो चोरी धेरै ठूलो छैन। ठूलो मात्रामा भयो भने असर पर्न सक्छ,’ उनले भने।

    ग्राहकहरूमा सक्कली र नक्कली सामान पहिचान गर्ने क्षमता बढेको उनले पाएका छन्। फलानो ब्रान्डका लुगा खोज्ने ग्राहक नक्कलीमा झुक्किँदैनन् भन्ने उनको विश्वास छ। साभार सेतोपाटी

    Post Views: 228
    प्रकाशित मिति: २०८० कार्तिक २, बिहीबार ०७:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.