• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दुइटा मेसिनबाट सुरू गरेको व्यवसाय भयो १० करोडको

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १, बुधबार २२:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक १ गते / राजकुमार कार्की करिब ३५ वर्षअघि सिन्धुलीबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका थिए।

    त्रिचन्द्र कलेजमा भर्ना भएर पढाइ सुरू गरे। आफन्तसँग बसे पनि पढाइ खर्च जुटाउन काम गर्नैपर्ने बाध्यता थियो। बिहान कलेज गएर दिउँसो एउटा गार्मेन्टमा काम थाले।

    गार्मेन्टका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आउँथ्यो। उत्पादन पनि सबै बाहिरै जान्थ्यो। त्यहाँ उनले पाँच वर्ष काम गरेर केही अनुभव बटुले।

    ‘केही आइडिया भएपछि आफैंले यस्तो व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने भयो,’ राजकुमारले भने, ‘गार्मेन्टकै अनुभवले जागिरमा भन्दा व्यापारमा फाइदा हुन्छ भन्ने निष्कर्षमा पुगेँ म।’

    उनले सुरूमा भारतबाट साडी, कुर्ता र अन्य केही लुगा ल्याएर बेच्न थाले। दुई वर्ष यो काम गरेपछि उनलाई विदेश जाने हावाले छोयो। अमेरिका जान प्रयास गरे। सबै तयारी गरेर भिसाका लागि आवेदन दिए। पाएनन्।

    ‘अमेरिका जाने चक्करमा ३५ हजार रूपैयाँ डुबाएँ। त्यो जमानामा काठमाडौंमा त्यति पैसाले रोपनी नै जग्गा आउँथ्यो,’ उनले सम्झिए।

    अमेरिका जान नपाएपछि खाडी मुलुक कतार जाने प्रक्रिया सुरू गरे। २०५२ सालमा कतार गएका उनले त्यहाँ पनि गार्मेन्ट कम्पनीमै काम पाए। नेपालमै पाँच वर्ष काम गरेर केही अनुभव हासिल गरेका राजकुमारलाई कतारमा सहज भयो।

    त्यो कम्पनीले लुगा उत्पादन गरेर अमेरिका निर्यात गर्थ्यो। राजकुमार कटिङ गर्ने, सिउने, सामान डेलिभरी दिने लगायतका काम गर्थे। उनले नेपालको र कतारको काम गराइमा धेरै फरक अनुभव गरे। त्यहाँ धेरै सिक्ने अवसर पनि पाए।

    उक्त कम्पनीसँग २२ महिना काम गर्ने सम्झौता थियो। अवधि पूरा भएपछि उनी फर्के। कतारमा राम्रै कमाइ भएकाले केही बचत गरेका थिए। त्यही रकम लगानी गरेर उनले फेरि व्यवसाय गर्ने सोचे।

    फर्केको केही महिनापछि राजकुमारले दुइटा सिलाइ मेसिन किने। न्युरोडको सुरज आर्केडमा जिन्सका लुगा सिउने सिउने टेलर खोले।

    ‘दुई जना सहयोगी राखेको थिएँ। म भने बजारमा डिजाइन र ग्राहकको माग बुझ्ने अनि व्यापारको मेसो मिलाउने काममा व्यस्त हुन्थेँ,’ उनले भने।

    टेलर खोलेको करिब एक वर्षमा उनले सीतापाइलामा जमिन भाडामा लिए। त्यहाँ सानो संरचना खडा गरेर ११ वटा मेसिन राखे। अनि तयारी लुगा उत्पादन गर्ने गार्मेन्ट चलाए।

    यो कामको पहिलो चरणमा करिब ६ लाख रूपैयाँ खर्च भयो। न्युरोडमा टेलरिङ छँदै थियो।

    त्यही समय राजकुमारको बिहे भयो। श्रीमती मुना थापा पढाइमा थिइन्। श्रीमानको व्यवसाय अनुकूल हुने गरी मुनाले फेसन डिजाइन पढिन् र यसमै स्नातक तह पूरा गरिन्। मुना पनि यही व्यवसायमा लागिन्।

    ‘फेसन डिजाइन पढेर गार्मेन्ट व्यवसायमा लाग्दा कपडाको गुणस्तर र रङ छनौट गर्न, लुगा डिजाइन गर्न सजिलो भयो,’ मुनाले राजकुमारले २०६१ सालमा ‘ओम अपेरल गार्मेन्ट’ नामक कम्पनी दर्ता गरे। मुना पनि यसको सञ्चालक भइन्। सुरज आर्केडको टेलरिङ राजकुमारले एक जना साथीलाई जिम्मा लगाए। दम्पती मिलेर बालबालिका र महिलाका पहिरन बनाउन थाले। सबै सामान निर्यात हुन्थ्यो।

    ‘गार्मेन्टको सबै उत्पादन निर्यात हुने देखेर तयारी कपडा उत्पादनमा लागेँ,’ राजकुमारले भने, ‘त्यो बेला तयारी पोसाक उत्पादक कम्पनी थोरै थिए। सबै बाहिर निर्यात हुन्थ्यो। हामी खुद्रा व्यापार गर्दैन थियौं। सबै सामान होलसेल व्यापारीले लैजान्थे। भारतका दार्जिलिङ, ग्यान्टोक र सिक्किमबाट अनि भुटानीहरू पनि आउँथे।’

    उनका अनुसार केही होलसेल व्यापारीहरूले भने यी सामान विदेशबाट आएको भनेर खुद्रा व्यापारीलाई बेच्थे। सबै कुरा थाहा भए पनि राजकुमारहरूले केही भनेनन्। काम गर्न समस्या भएको अनुभव गरेपछि आफैंले होलसेल व्यापार गर्नु उचित ठाने।

    अनि २०६५ सालमा उनले रञ्जना ट्रेड सेन्टरमा होलसेल पसल खोले।

    राजकुमारले गार्मेन्टको काम थालेको समयमा कर्मचारी पाउन समस्या थियो। देशमा सशस्त्र द्वन्द्व चरमोत्कर्षमा थियो। सिलाइ कारखानामा नेपाली, भारतीय र बंगलादेशी कर्मचारी थिए। जनशक्ति अभाव भएपछि कम्पनीले नै तालिम दिने गरी कर्मचारी भर्ना गरे।

    ‘पहिलोपटक पैसा दिएर १७ जनालाई तालिम दियौं तर ९ जना मात्र काम गर्न राजी भए। तिनले पनि दुई-तीन महिना काम गरेर छाडे,’ उनले भने।

    जनशक्तिको समस्या झेलिरहेको समयमा एक गैरसरकारी संस्थासँग सम्पर्क भयो। त्यो संस्थाले युवाहरूलाई गार्मेन्टको काम सिकाउँथ्यो। त्यहीँबाट तालिमप्राप्त कर्मचारी पाए।

    कम्पनीले करिब १२ वर्ष बालबालिका र महिलाका पहिरन मात्र उत्पादन गर्‍योयो। त्यही बीचमा राजकुमारले केही समय खुद्रा पसल पनि चलाए।

    यतिन्जेलसम्म ओम अपेरलको ब्रान्ड भने थिएन। करिब सात वर्षअघि बल्ल राजकुमार र मुनाले ‘फ्रिडम’ ब्रान्ड बनाए। यसपछि पुरूषका सबै खाले पहिरन पनि उत्पादन थाले।

    ‘धेरै नयाँ नेपाली ब्रान्ड आइसकेका थिए। हामी दस वर्षभन्दा पुराना उत्पादक भए पनि ब्रान्ड थिएन,’ राजकुमारले भने, ‘अब आफ्नै ब्रान्ड बनाएर अघि बढ्नुपर्छ भन्ने निर्णयमा पुग्यौं र फ्रिडम नाम रोज्यौं।’

    फ्रिडम ब्रान्डका धेरैजसो पहिरन क्याजुअल भए पनि औपचारिक पहिरन पनि पाइन्छ।

    हालसम्म ओम अपेरलमा दस करोड रूपैयाँ लगानी भइसकेको उनले बताए। कारखानामा कम्तीमा तीन सय जना कर्मचारी छन्। कर्मचारीमध्ये केही कम्लहरी महिला पनि छन् जसलाई कम्पनीले नै तालिम दिएको हो।

    अहिले कम्पनीले पुरूषको पहिरन मात्र उत्पादन गरिरहेको छ।

    यसको कारण खुलाउँदै मुनाले भनिन्, ‘पुरूषको लुगामा छिटोछिटो डिजाइन परिवर्तन गर्नु पर्दैन। व्यापार सहज हुन्छ।’

    हाल उनीहरूले तीन वटा होलसेल पसल चलाएका छन्। फ्रिडम ब्रान्डसँगै चिनियाँ कम्पनीका लुगा पनि बेच्छन्।

    मुनाका अनुसार कोरोना भाइरस संक्रमणअघि नेपाली लुगाको बजार उति राम्रो थिएन। कोरोनापछि चिनियाँ लुगा आयात बन्द भयो। यसपछि बल्ल नेपाली उत्पादनको बजार बढेको हो।

    ‘कोरोनाअघि त हामीले उत्पादन गरेको लुगा विदेशी भन्दै बेच्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘अहिले गर्वका साथ नेपाली भन्दै बेच्न पाउँदा खुसी लागेको छ। ग्राहकहरूले नेपाली उत्पादन खोज्न थालेका छन्।’

    लामो समय विदेशमा बसेर आएका नेपाली र नेपाल आउने विदेशीहरूले नेपाली ब्रान्डका लुगा खोज्ने गरेको उनले बताइन्।

    नेपाली ब्रान्डको लुगाको व्यापार चुनौतीरहित भने छैन। धेरैलाई नेपाली लुगा सस्तो हुनुपर्ने हो भन्ने लाग्छ। कतिपयले महँगो भनेर गुनासो र प्रश्न गर्छन्।

    ग्राहकको यो गुनासोबारे मुना भन्छिन्, ‘हामीले बेच्ने गुणस्तरको विदेशी लुगा पनि महँगो पर्छ। नेपालमै उत्पादन भएकाले बरू हाम्रो अझ केही सस्तो परिरहेको हुन्छ।’

    कम्पनीले अब फेरि बालबालिका र महिलाका लागि पहिरन उत्पादन गर्ने योजना बनाएको छ।

    ‘नेपाली ब्रान्डका लुगा खोजी हुन थाल्नु हाम्रो लागि सबभन्दा खुसीको कुरा हो,’ दम्पती राजकुमार र मुना भन्छन्, ‘यो स्वदेशमै व्यापार विस्तार हुने राम्रो लक्षण हो। विदेश निर्यात त छँदैछ।’ साभार सेतोपाटी

    Post Views: 321
    प्रकाशित मिति: २०८० कार्तिक १, बुधबार २२:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.