• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कपास खेती अब सम्झनामा मात्र बाँकी

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार ११:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया / जिल्लाको कुम्भरमा २५ वर्षअघि साढे ५ सय हेक्टरमा गरिने कपास खेती अब सम्झनामा सीमित बनेको छ । अहिले जिल्लास्थित कपास खेत बाँझै छ । खेती नभएपछि जग्गा अतिक्रमणको चपेटामा परेको छ ।

    ०५७ सालमा तत्कालीन माओवादीले जग्गा अतिक्रमणसँगै भवन र कारखाना लुटपाटपछि कपास उत्पादन ठप्प छ । स्थानीयका अनुसार कुम्भरमा कपास फुलेका बेला बस्ती नै सेताम्य हुन्थ्यो । त्यसबेला कृषि प्राविधिक गाउँघरमा पुगेर किसानलाई कपास खेती गर्न हौस्याउँथे । बढैयाताल–९ स्थित कपास विकास समिति सेयर जोताहा किसान मूल समितिका उपाध्यक्ष टेटीराम थारुले कुम्भरलाई त्यतिबेला कपास गढका रूपमा चिनिने बताए । ‘कपास विकास समितिले बीउ, मल र विषादी दिन्थ्यो,’ उनले भने, ‘जसले गर्दा धान, गहुँ र मकै खेती गरिरहेका किसान कपासतर्फ आकर्षित भए ।’ बलौटे माटोमा पानी नजम्ने भएकाले कपास राम्रै फुल्ने गरेको उनले बताए ।

    स्थानीयले समितिको ५ सय ५० हेक्टरभन्दा बढी जमिनमा बर्सेनि ५ सय मेट्रिक टन कपास फलाउँथे । ‘यहाँको कपास खेती हेर्न जिल्ला–जिल्लाबाट मानिस आइरिन्थे,’ कुम्भरका लहानु थारुले भने, ‘अहिले त्यहाँ कपास खेती हुँदैन, विगत लामो समयदेखि किसान फेरि धान, गहुँ, तोरी खेतीमै फर्किएका छन् ।’ २०३० सालतिर सरकारले नवलपुर, बाँके र बर्दियामा कपास खेती गर्न सकिन्छ कि भनेर परीक्षण गरेको कपास विकास समितिका कर्मचारी बताउँछन् । अनुसन्धान र पाइलट प्रोजेक्टले नेपालमा कपास खेती वित्तीय र आर्थिक दृष्टिले सम्भव रहेको देखाएको थियो ।

    कपास खेती गरेका खण्डमा कपास र कपडा किन्नका लागि खर्च भइरहेको विदेशी मुद्रा जोगिने आश सरकारले गरेको थियो । कपास खेतीको प्रवर्द्धन र विकास गर्नका लागि ०३७ सालमा कपास विकास समितिको गठन गरियो । किसानले उत्पादन गरेको कपास समितिले किनेर प्रशोधन गरेपछि कपडा उद्योगलाई बिक्री गर्थ्यो । समिति स्थापना हुँदा ६० हेक्टरमा रहेको कपास खेती पाँच वर्ष अवधिमा १ हजार ६ सय हेक्टरमा फैलिएको थियो । बढैयातालका गोपाल थारुका अनुसार ०५६ सालमा हेलियोथिस नाम गरेको किराले सयौं बिघामा लगाएको कपास नष्ट गर्‍यो । त्यसबेला विषादीले किरा मार्न सकेन । त्यसपछि खेतीप्रति किसानको रुचि घट्यो ।

    कपास खेती हुने जग्गा टुक्रिनु पनि अर्को कारण थियो । करिब १ सय २५ बिघा जमिन मुक्त कमैयालाई वितरण गरियो । उनीहरूलाई जग्गा धनी पुर्जा बाँडिएको छ । केही ठाउँको जग्गा सुकुम्बासीलाई पनि बाँडिएकाले उत्पादन घट्दै गएको कपास विकास समितिका प्रमुख वीरेन्द्रराज पराजुलीले बताए । ‘कपास विकास समिति जसरी चल्नुपर्थ्यो, त्यसरी नचलेकाले पनि कपासको उत्पादन घटेको हो,’ उनले भने, ‘नेपालमा फलेको कपास हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले किन्थे, दुवै उद्योग बन्द भएपछि समस्या भएको हो ।

    समितिले आफ्नो खेती मात्र होइन, आफ्नै सम्पत्ति पनि सुरक्षा गर्न सकेको छैन । तत्कालीन माओवादीले समितिका २६ मध्ये २२ भवन भत्काए । इँटा गायब पारिए । ती भवनका ढोका, झ्याल र छडमध्ये केही भारतको लौकाही पुर्‍याएर बिक्री गरियो । केही साबिक धधवार, कालिका, डेउढाकला र महम्मदपुर गाविसका विभिन्न ठाउँका घरमा लगिएको स्थानीय बासिन्दाले बताए । समितिका अनुसार भवनमा त्यसबेलाको रकम झण्डै तीन करोड रुपैयाँ बराबरको क्षति पुगेको थियो । जिल्ला प्रशासनको अभिलेख अनुसार समितिका भवनमा राखिएका ट्रयाक्टर, रोड क्रसर, कपासका बीउ बिजन ग्रेडर गरी ७० लाख ८४ हजार रुपैयाँको धनमाल लडाइँका बेला लुटिएको थियो ।

    कपास खेती परियोजनामा एसियाली विकास बैंकको ऋण, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको अनुदान र सरकारको आफ्नै लगानी पनि उपयोग भएन । राष्ट्रिय योजना आयोगका लागि तयार पारिएको यस परियोजनाको मूल्यांकन प्रतिवेदनका अनुसार यस परियोजना अन्तर्गत खरिद गरिएका ११ वटा कपासबाट दाना निकाल्ने मेसिनमध्ये ६ वटा जडानसम्म गरिएन । जडान गरिएकामध्ये पनि तीनवटा कहिल्यै चलाइएन । रुवा खाँद्नका लागि खरिद गरिएका चारवटामध्ये दुईवटा मेसिन जडानै गरिएन ।

    समितिका अनुसार सरकारले कपास किसानलाई बिनाधितो ऋणको व्यवस्था गरेमा, निजी क्षेत्रका उद्योगीलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गरेमा र पहिले चलेका हेटौँडा कपडा र बुटवल धागो कारखानाजस्ता उद्योग चलेका खण्डमा कपास खेतीमा आकर्षण फर्कन सक्छ । राम्रो आम्दानी हुने, वन्यजन्तुले नखाने कपासलाई प्राकृतिक रेसाको राजा मानिन्छ । यसबाट नरम, आरामदायी, धुन मिल्ने र बलियो धागो र कपडा बन्छ ।

    यसको खेती राम्रोसँग गर्न सकेमा नेपालमा उत्पादन हुनेभन्दा कमसल खालको कपास र कपासबाट बनेका बस्तु आयात गर्न नेपालले हरेक वर्ष साढे चार अर्बभन्दा बढी रुपैयाँ खर्च गर्नु नपर्ने र कृषिमा रोजगारी बढ्ने समिति प्रमुख पराजुलीले बताए । तर कपास खेतीको मियोका रूपमा रहेको कपास विकास समिति करिब पाँच वर्षदेखि निर्देशविहीन छ । कपास विकास समितिमा कार्यरत ७ जना कर्मचारी रहेका छन् । यसलाई प्रोत्साहित गरिएन भने ‘सेतो सुन’ मानिने कपासको खेती नेपालमा मासिने निश्चित छ ।

     

     

    साभार इकान्तिपुर

    Post Views: 80
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार ११:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.