काठमाडौँ /अभाव ढाकेर उपभोक्तालाई दोष लगाउँदै आएको नेपाल आयल निगमले आधामात्र भरिएको सिलिन्डर बेच्ने भएको छ ।

पछिल्लो समय विकसित घटनाक्रमका कारण अभाव हुन्छ भन्ने पटक पटक मिडियाले लेख्दा र ग्यास वितरणमा समस्या भएको समाचार प्रकाशित गर्दासमेत अफबाह भन्दै आएको निगमले आज भने विज्ञप्ति जारी गरेर आधा भरिएको ७.१ केजी ग्यास राखेर सिलिन्डर बेच्ने जनाएको छ ।
निगमले आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन भन्दै यस्तो कदम चालिएको जनाएको छ । साथै शुक्रबारदेखि लागू हुने यो निर्णय अर्को व्यवस्था नभएसम्मका लागि कायम रहने पनि जनाएको छ ।
ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधार मूल्य ९५५ मा विक्री वितरण गर्ने निर्णय भएको निगमले भनेको छ । १४.२ केजी ग्यासको सिलिन्डर भने १९१० रुपैयाँमा बेच्दै आएको थियो ।
अहिले आएर ग्यास दिने राष्ट्र भारतमासमेत ग्यासको समस्या देखिन थालेको उल्लेख गरेको छ ।
यसअघि भने निगमले ग्यासको कुनै अभाव नभएको भन्दै उपभोक्तालाई ग्यास सिलिन्डर एक भन्दा बढी थुपारेर नराख्न आग्रह गर्दैै आएको थियो ।
त्यतिमात्र होइन उपभोक्ताले भरी सिलिन्डर राखेकै कारण अभाव देखिएको भन्दै ग्यासको कुनै अभाव नभएको भन्दै उपभोक्तालाई मूर्ख बनाउँदै आएको थियो ।
तर उपभोक्ताले सिलिन्डर जहिले पनि खाली दिएर भरी मात्र आफूले लिने हुन् । त्यो आधारमा खाली सिलिन्डर भरेर उद्योगले दिए त पुगिहाल्थ्यो ।
केहीले घरमा स्टक राखे पनि होलान् । तर त्यसको दोष ग्यासै नपाएर छट्पटिएका र इन्डक्सनको प्रयोगका लागि बजारमा धाउन थालेकाहरूको पीडामाथि नूनचुक छर्कने काम निगमले गर्दै आएको छ ।
ग्यास नभएर रित्तो सिलिन्डर प्रदर्शन गर्नेहरूलाई पनि अपमान गर्ने गरी निगमले उपभोक्तालाई जथाभावी आरोप लगाउँदै आएको छ । खाली सिलिन्डर भरेर दिए त भैहाल्यो ।
अहिले हरेक टोलमा ग्यास नभएर हाहाकार छ । नेपाल आयल निगमले नेपाल ग्यास र एभरेष्ट ग्यास केन्द्रीय कार्यालय टेकुबाटै केही समयअघि सर्वसाधारणलाई दिँदै आएको थियो ।
तर यतिधेरै नामका सिलिन्डर घरघरमा छन् कि अब उनीहरुले नेपाल ग्यास र एभेरेष्ट ग्यास कहाँबाट खोजुन् ।
कुनै पनि ग्यास पसलमा गएर सोध्यो भने ‘कम्पनीले ग्यास छैन भन्छ कहिले दिन्छ पत्तो छैन’ भनेर जवाफ दिन्छन् ।
ग्यास खाली नै छन् । अझ कतिपय पसलले त रित्तो सिलिन्डर पहिले नै पसलमा बुझाएका पनि हुन्छन् । अनि भरेर कहिले आउने त ?
यसमा पनि उपभोक्ताकै दोष ? फेरि हाहाकार सर्वसाधारणलाई मात्रै ?
अहिलेसम्म ग्यास पाइएन भनेर कुनै होटल वा रेष्टुरेन्टले भनेको सुनिएको छैन । कुनै होटल बन्द भएको थाहा पनि छैन । कि त्यो तथ्याङ्क आयल निगमसँग छ ?
उनीहरुलाई निर्वाध रुपमा सिलिन्डर उपलब्ध गराउने निगमले किन सर्वसाधारणको चुलो बलेको देख्न चाहन्न ?
अब पनि जवाफदेही नबन्ने हो भने कहिले बन्छ आयल निगम ?
अहिलेको अवस्था २०७२ सालमा भारतले नाकाबन्दी गरेपछिको पहिलो हो । त्यतिबेला पनि तत्कालीन सत्तामा रहेको दलले आफ्ना कार्यकर्तालाई सिलिन्डरको डिपो खोल्न नलगाएर कार्यकर्ताको चुलो बाल्ने काम गरेको थियो । त्यो सरकारले सबै जनता हाम्रै हुन् भनेर हेरेन ।
काठमाडौँ उपत्यकामै कतिपयले दाउरा बालेर त्यसमै खाना पकाएरै पनि खाए । त्यतिबेला पनि इन्डक्सनको खुवै चल्ती भयो ।
तर लोडसेडिङको मार चर्को थियो । अहिले इन्डक्सनको प्रयोग ह्वात्तै बढ्न थालेको छ । खडेरी त्यस्तै भएकाले सुख्खामा लोडसेडिङ बढ्ने देखिन्छ ।
आखिर सरकार यतिसम्म किन निर्लज्ज देखिएको होला ।
भर्खरै निर्वाचन सकिएको छ । नयाँ सरकार गठनका लागि तयारी तीव्र पारिएका बेलामा नयाँ सरकारको पहिलो कदम नै सर्वसाधारणको घरमा कसरी चुलो बाल्ने भनेरै हुनुपर्नेछ ।
आयल निगम त फेरि पनि उपभोक्तालाई दोष लगाउने छ – घरमा ग्यास सिलिन्डर भरि राखे अनि हाहाकार भयो
साभार हाम्राकुरा




