०४६ साल मङ्सिर महिनातिर पहिलोपटक नेपालगन्ज सहरमा पाइला टेकेको थिए । मैले बर्दिया जिल्लाको दुर्गम गाउँ गोलामा बाल्यकाल बिताएको हु। मैले त्यतिबेलासम्म देखेको ठूलो बजार राजापुर मात्र थियो।गाउँबाट राजापुर पुग्न पैदल हिडेर ३/४ घण्टा जति लाग्थ्यो ।

सानोतिनो सामान किन्न पनि राजापुर नै जानु पर्थ्यो।राजापुर त्यतिबेला पश्चिम नेपालको ठूलो हाटबजार थियो ।मध्य र सुदूरपश्चिमका धेरैजसो पहाडी जिल्लाका मानिसहरुको प्रमुख बजार राजापुर थियो।
भारततिर जाने मानिसहरुको ठूलो भीड राजापुरमा देखिन्थ्यो ।राजापुर बजारमा नेपाल राष्ट्र बैंकको सटही काउन्टरबाट भारु पैसा बदल्ने मान्छेहरुको भीड म अहिले पनि सम्झन्छु।
राजापुर बजार त्यतिबेला निकै गुल्जार हुन्थ्यो।विशेषगरी हिउँदमा पहाडबाट झर्ने हटारुको हुल र स्थानीय किसानहरुले धान बेच्न बजारमा हिडाउने गोरुगाडाका लहरहरुले राजापुर बजारको रौनक बढाएका हुन्थे।
राजापुर मलाई निकै राम्रो र आकर्षक बजार लाग्थ्यो ।बजार जान पाउनु निकै खुसीको विषय हुन्थ्यो हाम्रा लागि ।मैले पहिलोपटक भिडियो फिल्म हेरेको यहीँ हो।अङ्ग्रेजी र गणित विषयको ट्युसन पढ्न बसेको यहीँ हो।
कोठा लिएर पहिलोपटक डेरामा बसेको यहीँ हो।राजापुर बजार मेरो सपनाको सहर थियो ।राजापुर मेरा लागि सबैभन्दा ठूलो सहर थियोे ।संयोगले मलाई त्योभन्दा ठूलो सहरमा जानुपर्ने अवस्था आइपर्यो।
२०४६ सालमा क्याम्पस पढ्नु पर्ने भयो ।राजापुर क्षेत्रमा क्याम्पस थिएनन् ।उच्च शिक्षा हासिल गर्न सबैभन्दा नजिकको ठाउँ नेपालगन्ज नै थियो ।त्यसैले नेपालगन्ज जानुपर्ने भयो।उतिबेला गोलाबाट नेपालगन्जको यात्रा निकै कठिन थियो।
पहिलोपटक नेपालगन्ज आउँदाको घटना म अहिले पनि सम्झन्छु ।नेपालगन्ज जानु आजको जस्तो सहज थिएन ।गाउँबाट ५/६ घण्टा पैदल हिडेपछि कोठियाघाट पुगिन्थ्यो।कोठियाघाटमा लामो समयसम्म डुङ्गाको प्रतीक्षा गर्नुपर्थ्यो।डुङ्गा पार गरेपछि कोठियाघाट बजारमा भारतीय बस लागिरहेका हुन्थे ।
ती बसमार्फत भारतीय बजार नानपारा पुग्नुपर्थ्यो।नानपारामा फेरि अर्को बस बदलेर रुपैडिया पुगेपछि त्यहाँबाट टागा अथवा रिक्सामर्फत नेपालगन्ज पुग्न सकिन्थ्यो ।पहिलोपटक पटक नेपालगन्ज पुग्दाको अनुभूति मैले अहिलेसम्म हृदयमा सगालेर राखेको छु।
एकातिर क्याम्पस पढ्न जाने भन्ने कुराको खुसी र रोमाञ्चको अनुभूतिले हृदय आनन्दित थियो ।अर्कोतिर टाढा र नयाँ ठाउँमा जानुपर्ने विषयले मन चिन्तित बनेको थियो ।चिन्ताभन्दा आनन्द नै अधिक थियो किनभने म एक्लो थिएन ।
म पहिलोपटक नेपालगन्ज जान लाग्दा पिताजी लगायत अभिभावकहरु आधाबाटोसम्म पुर्याउन आउनु भयो ।दाजु पूर्ण प्रसाद धितालले टाढैसम्म पुर्याएर फर्कनु भयो ।बाटोकेको बारेमा जानकार मामा लक्ष्मीकान्त आचार्य साथमा हुनुहुन्थ्यो ।मेरा सहपाठी साथीहरू ईश्वर रेग्मी र गणेश भण्डारी पनि सगै थिए ।
बिहान ४ बजे गाउँबाट हिडेका हामी राति ८/९ बजेतिर नेपालगन्ज सहरमा पुग्यौं ।मैले यसअघि कहिल्यै बिजुली बत्ती बलेको देखेको थिएन ।राति सहरको झिलिमिली देखेपछि म चकित भएको थिए।
राति महेन्द्र बहुमुखी क्याम्पसको छात्रावासमा गाउँकै दाइ नगेन्द्र रेग्मीको कोठामा बस्यौं ।बिहान छात्रावासमा बस्ने अग्रज दाइहरुसग भेट भयो।गाउँकै दाइहरु धेरै भएकोले होला त्यो ठाउँ नौलो लागेन ,आफ्नै ठाउँ जस्तो लाग्न थाल्यो ।दाइहरुकै सहयोगमा डेराको बन्दोबस्त भयो।
क्याम्पसभन्दा अलि माथि ट्राफिक प्रहरी कार्यालय नजिकैको घरमा थियो हाम्रो डेरा ।म र साथी गणेश भण्डारी एउटा कोठामा बस्ने भयौं ।कोठाको व्यवस्था भएपछि विस्तारा लगायतका सामग्री किन्न दुईभाइ बजारतिर गयौं ।सामान किन्यौ,विस्ताराको गुन्टा बनायौ।हाम्रा नागरिकता लगायतका प्रमाणपत्र र रुपैयाँपैसा समेत त्यसै गुन्टाभित्र बेर्यौ।
गुन्टा रिक्साको पछाडि राख्यौं र डेरातर्फ सवार भयौं ।रिक्सावालले सररर रिक्सा चलाएको छ।हामी रिक्सामा बसेका छौ।यसरी रिक्सा चढेको हाम्रो पहिलो अनुभूति थियो ।हामीले आफैलाई बर्सिरहेका थियौ।रिक्सा आफ्नो गतिमा थियो ।हामी भावनाको लहरमा थियौं ।यत्तिकैमा झट्ट पछाडि हेर्छु त सामान छैन ,गुन्टा त बाटैमा खसेछ।विद्युत प्राधिकरण नजिक पुगिसकेका थियौ।अब के गर्ने ?रिक्सा रोकायौ,त्यो रिक्सावाला दाइलाई फर्कन भन्यौं ।उनी फर्कन मानेनन् ,हामीले उनलाई छोड्यौ र पैदलपैदल सोधपुछ गर्दै बजारतिर लाग्यौं ।
भेरी अस्पतालभन्दा अलिमाथि गोर्खा फर्निचर उद्योग लेखिएको फर्निचरको पसल थियो ।त्यही पसलका सहृदयीले गुन्टा राखिदिनुभएको थियो ।पसलमा वरपरका धेरै मानिसहरू थिए ।उनीहरूले हामीलाई सहरका नयाँ र कलिला विद्यार्थी सम्झेर माया गरे।गहिरो सहानुभूति देखाए र सहरी जीवनका जटिलताका बारेमा सम्झाए।मैले त्यतिबेला सहरमा जीवन्त मानवता को दृश्यलाभ गरे ।उहाहरुको स्नेह र करुणाबाट कृतज्ञ हुदै हामी कोठामा फर्कियौ।कोठामा साझपख धेरै साथीहरूको जमघट भयो ।
हाम्रो अनाडीपन धेरै साथीहरुको हासोको विषय बन्यो ।नेपालगन्ज सहरमा मैले अनुभूत गरेको त्यो सानो घटना सधैको लागि अविस्मरणीय बनेको छ।
(राजेन्द्रप्रसाद धिताल मध्यपश्चिम विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ भने वहा नेपाल पत्रकार महासंघ बर्दियाको २ कार्यकाल अध्यक्ष समेत रहिसक्नु भएको छ।)




