काठमाडौं / रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरू गरेका छन् । सरकारको स्वरूप र आकारबारे टीममा छलफल भइरहेको स्रोतले बतायो ।

समानुपातिकतर्फ संख्या यकिन भइसके पनि क-कसलाई पठाउने भन्ने टुंगिसकेको छैन । निर्वाचन आयोगले संख्या दिएपछि रास्वपाले सो अनुसार संख्या टुंग्याइने छ र त्यसपछि पार्टीको बैठक बसेर सरकार गठनबारे औपचारिक छलफल हुने छ । त्यसअघि बालेन आफूनिकट समूहसँग आन्तरिक गृहकार्य गरिरहेका छन् ।
संविधानतः गैरसांसद पनि मन्त्री बन्न सक्छन्, तर ६ महिनाभित्र उनीहरु सांसद मनोनीत हुनैपर्छ । अन्यथा स्वतः पदमुक्त हुन्छन् । ६ महिनामा सांसद बनाउन सक्ने अवस्था नरहेको र तत्काल संविधान संशोधन पनि सम्भव नदेखिएको हुँदा बालेनले त्यो सोच नै नलिएको स्रोतको भनाइ छ ।
‘उहाँले गैरसांसदलाई मन्त्री बनाउन लागेको भन्ने हल्ला भ्रमपूर्ण हो, सांसदहरूमध्येबाटै क्षमता र विज्ञता हेरेर मन्त्रीको नाम छनोट गर्नुहुने छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार बालेनले मन्त्रालयको संख्या भने घटाउन चाहेका छन् । यसका लागि संविधान संशोधन गरिराख्नु पर्दैन । संविधानतः एउटा सरकारमा अधिकतम २५ जना मन्त्रीहरू रहन सक्छन् । मन्त्रालयको संख्या भने अहिले २२ वटा छ । बालेनले यसलाई १४/१५ मा झार्न चाहेको उनीनिकट एक नेताले जानकारी दिए ।
‘सरकारलाई सानो र छरितो बनाउने पक्षमा हुनुहुन्छ, मन्त्रालय संख्या घटाउने बारेमा आन्तरिक छलफल भइरहेको छ,’ उनले भने ।
विगतमा प्रशासन सुधार सुझाव आयोगको प्रतिवेदनले पनि मन्त्रालय संख्या घटाउन सुझाव दिएको थियो । यस्तै, अघिल्लो सरकारका पालामा डा. रामेश्वर खनालको संयोजकत्वमा बनेको आर्थिक सुधारसम्बन्धी कार्यदलले पनि संख्या घटाउन सुझाव दिएको थियो । खनाल अहिले अन्तरिम सरकारका अर्थमन्त्री छन् ।
साभार नेपालप्रेस




