विगतका बर्षका तुलनामा यस वर्ष नेपालमा छिटो मनसुनले प्रवेश गरेको छ । पूर्वी कोसी प्रदेशबाट नेपालमा प्रवेश गरेको मनसुनले पश्चिमी क्षेत्रमा पनि प्रभाव देखाउन थालेको छ । मनसुनको प्रवेशसगै नेपालका विभिन्न भूभागमा व्यापक वर्षा हुन थालेको छ, र बर्षाको कारण बाढी पहिरो आउँदा जनधनको क्षति हुन थालेको छ । बर्दिया जिल्ला पनि बाढीका दृष्टिबाट सम्वेदनशील ठाउँ हो । कर्णाली नदी र यसबाट छुट्टिएका गेरुवा र ओराही जस्ता भगाला हरुमा वर्सेनी बाढीको जोखिम हुने गर्छ । त्यस्तै बर्दियाको अधिकाङ्श भूभाग बबई नदीको तटीय क्षेत्र अन्तर्गत पर्दछ । नागबेली परेर बग्ने बबई नदीले हरेक बर्सातमा दुःख दिने गर्छ जिल्लाको पूर्वी सीमामा रहेको मान खोलाले पनि बाढीको जोखिम निम्त्याएको हुन्छ । विगतमा बर्दिया जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएको दृष्टान्त हाम्रो सामु छ । बर्दियामा संचालित कर्णाली नदी व्यवस्थापन आयोजना, बबई ओराही नदी नियन्त्रण आयो–जना जस्ता आयोजनाहरुका कामका कारण केही बर्षयता जिल्लामा बाढी र कटानका कारण हुने क्षति तुलनात्मक रूपमा न्यूनीकरण भएको छ तर प्रयाप्त रूपमा काम नहुदा र आवश्यक बजेटको समेत अभाव हुँदा नदी नियन्त्रणका कामहरू प्रभावकारी बन्न सकेका छैनन् । नदीका तटीय क्षेत्रमा अहिले पनि बाढीको जोखिम उच्च छ । त्यसैले सम्भावित विपतबाट जोगिन विपत प्रतिकार्यका लागि समयमै गृहकार्य हुनु आवश्यक छ । जिल्ला र पालिका स्तरमा रहेका विपत व्यवस्थापन सम्यन्त्रहरुले समयमै सम्भावित जोखिमको पहिचान गर्ने र सोबाट बच्न अपनाउन सकिने उपायहरु को खोजीको कार्यमा तदारुकता देखाउन आवश्यक छ । प्राकृतिक प्रकोप मानवीय नियन्त्रणभन्दा माथि र मानवीय शक्तिको सीमा भन्दा बाहिर हुने हुँदा यसबाट उत्पन्न सङ्कटको सामना गर्न सामुहिक प्रयत्न आवश्यक पर्दछ । मौसम पूर्व सूचना प्रणालीलाई चुस्त बनाउने र तटीय क्षेत्रका नागरिकमा सचेत बनाउने कार्यमा सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ साथै सम्भाव्य जोखिमका बेला राहत तथा उद्धारका लागि समेत पूर्व तयारी गर्न तदारुकता देखाउनको लागि समयमै गृहकार्य गरिनु आवश्यक छ ।






