बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको नगर अस्पतालमा ब्लड ट्रान्फ्युजन (बिरामीलाई रगत चढाउने) कार्य सुरु भएको छ । रक्तसंचार सेवा केन्द्रले ब्लड संकलन गरेर सेवा दिन थालेपनि अस्पतालमा ब्लड ट्रान्फ्युजन सेवा सुरु हुन सकेको थिएन् ।


तर आइतवारदेखि भने बिरामी लाई अस्पतालबाट रगत चढाउने कामको सुरुवात भएको बारबर्दिया सिकलसेल नगर समितिका अध्यक्ष दिपक थारुले बताए । नगर अस्पतालमा कार्यरत नर्स सरिता राजीलाई गतको पोका हस्तान्तरण गरेर केन्द्रको नगर प्रमुख छवि लाल थारुले सुभारम्भ गरे ।
बारबर्दिया नगरपालिका उद्यम विकास शाखा प्रमुख पार्वती गौडेल ले बारबर्दिया नगरपालिका वडा नं. २, जोगिगाउँका बिटा थालेसिमियाका बिरामी विकास थारु लाई ओ पोजेटिभ रगत दान गरिन् ।
नगर अस्पतालमा रहेको रक्तसंचार केन्द्रमा तीन पटक वृह्तरक्तदान कार्यक्रम भइसकेको छ । संकलित रगत बिरामी हरुले आवश्यकताका आधारमा कोहलपुर र नेपालगन्जसम्म ल्याउने गरेका थिए ।नगर अस्पतालमा ब्लड ट्रान्फ्युजन सेवा नहुँदा संकलित रगत बोकेर बिरामीहरु रगत चढाउनका लागि नेपालगन्ज र कोहलपुर आउनुपर्ने बाध्यता थियो ।
सिकलसेल तथा थालेसिमियाका बिरामीहरुको समस्यालाई ध्यानमा राखी बारबर्दिया नगर अस्पताल मा ब्लड ट्रान्फ्युजन सेवा सन्चालन गरिएको नगर प्रमुख थारुले बताए ।
ब्लड ट्रान्फ्युजन सेवा सुरु भएसँगै सिकलसेल तथा थालेसिमियाका बिरामीलाई ठूलो राहात मिलेको सिकलसेल नगर समितिका अध्यक्ष थारुले बताए । कार्यक्रममा नगर अस्पताल सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज पौडेल, नगर अस्पताल मे.सु डा. माधव पन्त, स्वास्थ्य डा.सुधिर के.सी, डा.जितेन्द्र यादव, रक्तसन्चार केन्द्रका प्राविधिक अंकक्ष चौधरी लगायतको उपस्थिति रहेको थियो ।




