यस मौसम विभागले विगतको भन्दा बढी बर्षा हुने आकलन गरे तापनि अहिलेसम्म धान खेतीको लागि आवश्यक पानी पर्न सकेको छैन । धान खेतीको समय सकिनै लाग्दा समेत आवश्यक मात्रामा पानी पर्न नसक्दा राम्रोसँग रोपाइँ हुन सकेको छैन । रोपिएको धानमा पनि प्रयाप्त पानी नहुदा लगाइएको धान फस्टाउन सकेको छैन । खेत तथा बारी सुख्खा बनेका छन् । खेती सुक्न थालेको छ । किसानको अवस्था नाजुक बनेको छ । खेती बिग्रेको र जमिन बाझो रहेको अवस्थाले किसान चिन्तित रहेका छन् । यस विषयमा सरकारले जिम्मेवारी बोध गरेको छैन ।

तराई धान खेतीका लागि महत्त्वपूर्ण गन्तव्य हो । उपयुक्त बर्षा र पानीको अभावले यस पटक धान खेती बिग्रेको छ । यद्यपि हालै मधेस सरकारले मधेस क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । सङ्घीय सरकारले समेत मधेसलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । तर तराईमा सबैतिर सुख्खा परेको छ । तराई सँग सरोकार राख्ने सबै प्रदेशका सरकार तथा सङ्घीय सरकारले तराईका जनताको समस्यालाई सम्बोधन गर्नु पर्छ ।
तराईमा खेतहरु बाझा छन् ! खेतहरु सुख्खा छन् । धान लगायतका बर्षे बालीमा प्रतिकुल असर परेको छ । किसानको मर्कामा सरकारले मौनता साध्न मिल्दैन । सरकारले सम्पूर्ण तराईका किसानका समस्यालाई सम्बोधन गरेर विशेष कार्यक्रम ल्याउनु अपरिहार्य छ ।





