सडकमा संचालन हुने सवारी साधनका चालकहरु अज्ञानता, भूल र लापरबाही जस्ता कारणले सडक दुर्घटना हुने गरेको पाइएको छ । सडक दुर्घटनाका अरु धेरै कारणहरु हुन सक्छन् । मुख्यरुपमा यातायात व्यावसायी तथा राज्यका सरोकारवाला निकायले सवारी चालकलाई प्रशिक्षित एवम् जिम्मेवार बनाउने हो भने दुर्घटनाबाट धेरै हदसम्म छुटकारा पाउन सकिन्छ ।

नेपालमा सडक दुर्घटनाका कारण ज्यान गुमाउने नागरिकको सङ्ख्या दिनप्रतिदिन बढी रहेको छ । मुलुकको गाउँबस्तीमा पक्की सडक संजाल फैलिदै छ । सवारी साधन अनियंत्रित रूपमा बढी रहेका छन् । निजी चार पाङ्ग्रे सवारी सवारी साधनको संख्या उल्लेखनीय रूपमा बढेको छ । बस, जिप, ट्याक्सी, ट्याक्टर, ट्याम्पु जस्ता यातायातका साधनहरुसमेत गाउँ शहर जतासुकै बेरोकटोक चली रहेका छन् । मोटरसाइकल, स्कुटी लगायतका दुई पाङ्ग्रे साधनको प्रयोग पनि निरन्तर बढ्दो छ । साना होउन् या ठूला सडकहरु व्यस्त छन् । हाम्रा सडकमा साइकल लेन छैनन, पैदल यात्रुका लागि पनि हाम्रा सड्कहरु सुरक्षित छैनन् । गाउघरतिर त गोरुगाडा, लहडु लगायतका परम्परागत सवारीका साधनहरुले सडललाई जाम बनाएका हुन्छन् । निर्माण सामग्रीको ढुवानी गर्ने टिप्पर र ट्रकसमेतले सडकलाई व्यस्त बनाएका हुन्छन् ।
हाम्रो देशमा जुन रूपमा सडक संजालको विकास भएको छ, त्यो रूपमा सडकलाई सुरक्षित बनाउन सकिएको छैन । दुर्घटना न्यूनीकरण गर्ने चेतना सडकको योजना बनाउने तहमा देखिदैन । राज्यले दुर्घटना न्यूनीकरण र सडक नियमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिएको छ । प्रयाप्त स्रोत साधनको अभावका बाबजुद ट्राफिक प्रहरी सडकमा खटेको छ । प्रहरीको अहोरात्र खटाइ र परिश्रमले दुर्घटना न्यूनीकरणमा केही परिणाम त अवश्य निस्केको छ तर त्यो प्रयाप्त छैन । एक्लो ट्राफिक प्रहरीको प्रयासले मात्र भयावह रूपमा बढी रहेको सडक दुर्घटनाको जोखिम कम गर्न सकिदैन । यसका लागि ट्राफिक प्रहरीलाई स्रोत, साधन र अधिकारले सुसम्पन्न बनाउनुका साथै सडक दुर्घटना विरुद्ध जनचेतनालाई पन सशक्त बनाउन आवश्यक छ । सार्वजनिक तथा अन्य जुनसुकै प्रकारका सवारी साधनका चालकलाई प्रशिक्षित एवम् जिम्मेवार बनाउन सबै पक्षको ध्यान जानु पर्छ ।





