बर्दियामा लामो समयदेखि शिक्षा, राजनीति , साहित्य र समाजसेवाको क्षेत्रमा अनवरत सेवा गर्ने कर्मयोगी व्यक्तित्व श्रद्धेय रमेशचन्द्र ज्ञवाली भौतिक रुपमा यही असार २० गते यो संसारबाट बिदा हुनुभयो । सन १९५१ मार्च ६ गते अर्घाखाँची जिल्लाको साधनबुटा खिदिममा जन्मनु भएका ज्ञवालीले विक्रम सम्वत २०२१ सालदेखि बर्दियाको गुलरियालाई कर्मक्षेत्र बनाउनु भएको थियो । बर्दियाको सबैभन्दा पुरानो शिक्षण संस्था श्री महाकवि लक्ष्मीप्रसाद देवकोटा माविमा लामो समय शिक्षण गर्नुभएका ज्ञवाली जिल्लाको उच्च शिक्षाको पहिलो र अग्रणी संस्था बबई बहुमुखी क्याम्पसका संस्थापक प्राध्यापक भएर सेवा गर्नुभयो र ज्ञानको ज्योति छर्नु भयो ।

श्री रमेशचन्द्र ज्ञवाली प्रगतिशील राजनैतिक चेत बोकेका एक वामपन्थी विचारक हुनुहुन्थ्यो । शिक्षण पेशाका साथमा उहाँले निरङ्कुश पन्चायती सत्ताको अध्यारो कालखण्डमा स्वतन्त्रताको पक्षमा निर्भिक संघर्ष गर्नुभयो । राजनैतिक रूपमा वि.स.२०३६ ,२०४६ का आन्दोलनहरुमा उहाँले खेल्नु भएको भूमिका अविस्मरणीय मानिन्छ । बर्दिया जिल्लामा कम्युनिस्ट पार्टीको संस्थापकमध्यको एक मानिनु हुने उहाँ माओवादी वैचारिक आन्दोलनको निकट हुनुहुन्थ्यो । २०५२ देखि २०६२ सम्मको १० बर्षे सशस्त्र द्वन्द्वको वेलामा उहाले देखाउनु भएको संयम, आफ्नो विचारप्रतिको निष्ठा, सत्ता र पार्टीबीचको सन्तुलन निकै जिम्मेवार एवम् प्रेरक रहेको छ । शान्त र शालीन छविका ज्ञवाली क्रान्तिकारी रोमान्च तथा अस्वभाविक उन्मादभन्दा टाढा हुनुहुन्थ्यो । दुखको बेला उहाँ क्रान्तिका मित्र हुनुभयो, माओवादीहरु शान्ति प्रक्रियामा आएर सत्ताको रथमा आनन्द पूर्वक सवार हुँदा भने उहाँमा कुनै प्राप्तिको लालशा देखिएन । उहाँले शान्त सेवा निवृत जीवन यापन गर्नुभयो ।
श्रद्धेय रमेशचन्द्र ज्ञवाली आमन्त्रण गरेका हुन्छन् ।

श्री रमेशचन्द्र ज्ञवाली बर्दियाली साहित्य समाज सँग समेत आवद्ध हुनुहुन्थ्यो । यो समाजको स्थापनामा उहाँको प्रेरणादायी भूमिका थियो । बर्दियामा आदरणीय अग्रजको छवि निर्माण गरेको व्यक्तित्व उहाँ बर्दियाली साहित्य समाजको कार्यसमिति सदस्य र लहर पत्रिकाको सहसम्पादकको एक अथक साहित्य साथक हुनुहुन्थ्यो । नेपाली साहित्य को गहन अध्ययनमा अभिरुचि राख्ने उहाँ एक कुशल स्रष्टा समेत हुनुहुन्थ्यो । प्रगतिशील साहित्यमा रुचि राख्ने ज्ञवालीका थुप्रै फुटकर रचनाहरु प्रकाशित छन् । महाकवि देवकोटा माविको मुखपत्रको रूपमा प्रकाशित वाणी, बर्दियाली साहित्य समाजको लहरजस्ता साहि–त्यिक पत्रिकाहरुमा उहाँका रचनाहरु प्रकाशित भएका छन् । कृतिका रूपमा उहाँको नीरु कथासङ्ग्र्रह प्रकाशित रहेको छ । बर्दियाको साहित्यिक फाटमा प्रगतिशील कथाकारका रूपमा उहाँ चिरस्मरणीय हुनुहुन्छ । उहाँका कथामा शोषित पीडित जनताका आवाजहरु प्रतिध्वनित भएका हुन्छन् । सामन्ती शोषण विरुद्ध विद्रोह ओकल्ने उहाँका कथाले नयाँ र शोषणरहित युगको भूमिकामा रहेर काम गर्नुभयो । बबई बहुमुखी क्याम्पस गुलरियामा उहाँ हाम्रो अग्रजको रूपमा हुनुहुन्थ्यो, एक प्रकारले अभिभावकजस्तै । बर्दियाली साहित्य समाजमा म अध्यक्ष हुँदा कार्यसमिति सद्स्य भएर, लहरमा म प्रधान सम्पादक हुँदा सहसम्पादक भएर मार्ग निर्देश गर्नुहुन्थ्यो । उहाँको सरल र आत्मीय व्यक्तित्व मेरा लागि सर्वथा प्रेरक थियोे । म उहाँलाई हरदम स्नेह र आदर गर्थे । केही समयअघि सहकर्मी साथी बबई बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद जोशी र म उहाँको निवासमा गएका थियौ । उहाँले प्रकट गर्नुभएको आत्मीयता अब स्मृतिमा मात्र छ । अब उहाँ भौतिक रूपमा यो लोकमा हुनुहुन्न तर उहाँको योगदान र स्मरण जीवित छ, जीवन्त रहनेछ ।
लेखक बबई बहुमुखी क्याम्पसका उपप्रधापक एवम् बर्दियाली साहित्य समाजका संस्थापक अध्यक्ष हुन् ।




