केही समय अगाडि बर्दिया अस्पतालको बाल रोग वार्डमा एउटा सानो शिशु निस्सासिएर रोइरहेको थियो । २९ हप्तामै म्याद नपुगी जन्मिएकाे उसको शरीर झन्डै १.५ किलो मात्र । शिशुको आँखामा जीवन र मृत्युको संघर्ष झल्किरहेको देखिन्थ्यो । त्यही बेला, सेतो कोटमा देखिए डॉक्टर विश्वनाथ शाह । उनका लागि त्यो शिशु कुनै बिरामी मात्र नभई, एउटा युद्धको सन्देश बोकेको जीवन बन्याे ।


लुम्बिनी प्रदेशका ठूला अस्पताल भन्दा टाढा, सीमित स्रोतसाधन सहित सञ्चालित बर्दिया अस्पतालमा डा. शाह जिल्लाकै एक मात्र बाल रोग विशेषज्ञका रूपमा कार्यरत उनी विगतका वर्षदेखि निरन्तर बाल उपचारमा प्रति नवजात एक युद्ध लडिरहेका छन् । दिन होस् या रात, हप्तान्त होस् या चाडपर्व बाल रोग वार्डमा उनी सधैं भेटिन्छन्।
२०७९ चैत १५ मा २९ हप्तामा जन्मिएको एक नवजात शिशु, डा. शाहका लागि एउटा चुनौती थियो । त्यो शिशुलाई ३७ दिनसम्म एनआईसीयूमा राखी उनले उपचार गरे, अन्ततः जीवनको जित भएको घोषणा गरे । यही सफलताहरूले उनलाई ‘बालरक्षक डाक्टर’ उपाधिद्वारा हेल्थ अवार्ड–२०८० मा नेपाल सरकारले सम्मानित गर्यो ।
डा. शाह नवजात शिशुहरूको उपचारमा विशेष ध्यान दिन्छन् । ‘हामी बिरामी होइन, भविष्य बचाइरहेका हुन्छौं,’ भन्ने उनको भनाइ केवल शब्द होइन, उनको हरेक उपचारमा त्यो भावना देखा पर्छ । उनले जिल्लाकाे बालमृत्यु न्यूनीकरणमा पुर्याएको योगदान उल्लेखनीय छ ।
अहिले अस्पतालकाे एसएनसीयू वार्डमा रहेका सबै वेडहरू पुरानाे भएर काम नलाग्ने भएका छन् । नवजात शिशुहरूको स्वास्थय समस्या दर्शाउँदै प्रदेश सरकारसँग नयाँ वेडकाे लागि पहल गरिएकाे डा.शाहले बताए । उनी भन्छन्, जिल्लाकाे विभिन्न पालिकामा रहेका गरिब दुखी घरपरिवार लगायतलाई सहजै सेवा प्रदान गरिएकाे छ ।

आर्थिक वर्ष २०८१/०८२ काे चैत्र मसान्त सम्म एसएनसीयू वार्डमा राखेर ५ सय ११ नवजात शिशुको उपचार गरिएको जानकारी अस्पतालका सुचना अधिकारी केशव न्याैपानेले दिए । उनका अनुसार, कम तौलका, महिना नपुगेर जन्मिएका, जन्मिने बेला निस्सासिएका र नवजात बच्चाहरुमा देखिने जन्डिस लगायतकाे उपचार गरिएकाे छ ।
उनको निरन्तर सेवा र प्रतिबद्धताले बर्दिया अस्पताललाई लुम्बिनी प्रदेशमा प्रथम र देशभर दोस्रो स्थानमा पुर्याउन योगदान पुर्याएको छ । अस्पतालका सुचना अधिकारी न्याैपाने भन्छन्, “शाहजस्ता चिकित्सकहरू हाम्राे अस्पतालमा हुनु बर्दियावासीकाे लागि गर्वको कुरा हो ।”
आज पनि डा. शाहकाे कहिल्यै नथाकेजस्तो देखिने अनुहारमा मुस्कान छ, तर आँखामा गम्भीरता । किनभने उनी जान्दछन्, अर्को नवजात शिशु कुनै पनि क्षण युद्धको मैदानमा ल्याइनेछ, जीवन र मृत्युको सीमामा । अनि, फेरि एक पटक उनी त्यो युद्धमा होमिनेछन् । डा. शाहको यात्रा केवल उपचारको होइन, भविष्य बचाउने मिशनको हो।




