लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बर्दियाले जितेको छ । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित लुम्बिनी फुटबल एकेडेमीको मैदानमा चैत्र ३० गते शनिबार दिउँसो भएको फाइनलमा दाङलाई उसकै घरेलु मैदानमा हराउँदै बर्दियाले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको च्याम्पियन बनेको बर्दियाले फाइनलमा १–० गोलको नतिजा निकाल्दै उपाधि माथि कब्जा जमायो । पहिलो हाफ गोलरहित अवस्थामा सकिए पनि दोस्रो हाफमा बर्दियाले गोल गरेको थियो । खेलको ६०औं मिनेटमा बर्दियाका संगम सारुले कर्नरबाट प्रहार गरेको बललाई दाङका गोलकिपर प्रतीक सुनारले पन्च गर्दै डी एरियाबाहिर पठाए पनि रिवाउन्ड भएको बल बर्दियाका सुनिल आलेले गोलमा परिणत गरे । आलेले करिब २५ यार्ड परबाट पाएको मौका खेर जान दिएनन् । सुनिल प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।
यसअघि फाइनलमा पुग्न दाङले प्युठान र बाँकेलाई हराएको थियो भने बर्दियाले रोल्पा र पाल्पालाई हराएको थियो ।




