बाँके, माघ २३ गते / बाँके-बर्दियाको पर्यटन प्रवर्द्धन तथा साइकल संस्कृतिको विकास गर्न सातौं संस्करणको ‘टुर डे ठाकुरद्वारा’ माघ २५ र २६ गते आयोजना हुँदैछ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा हुने इभेन्टको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

इभेन्टको तयारीबारे जानकारी दिन आज नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष एवम् इभेन्ट संयोजक सुरेन्द्र दीप कार्कीले प्रेस नोट वाचन गर्दै देश विदेशका गरी २०० बढी महिला र पुरुष साइकल यात्रीहरुले सहभागिता जनाउने जानकारी दिए । त्यस मध्ये भारतबाट २९ र चीनबाट १ जना साइकल यात्री सहभागी हुने कार्कीले बताए ।

माघ २५ गते बिहान नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु हुने नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘टुर दि ठाकुरद्वारा’ को उद्घाटन गर्ने सापकोटाले बताए । साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको घुमौ बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई समेत सघाउ पुग्ने अध्यक्ष सापकोटाले बताए ।
साइकल यात्रा बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, वीपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई, भुरीगाउँ हुँदै ठाकुरद्वारा मन्दिर पुग्नेछ । बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्मको दुरी करीब १०० किलोमिटर रहेको छ ।

सातौं संस्करणको टुर डे ठाकुरद्वारा इभेन्टका लागि २७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । यो कार्यक्रमलाई नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिकाले विशेष गरेको आयोजकले जनाएको छ । त्यस बाहेक बाँके बर्दियाका स्थानीय तह लगायतले सहयोग गरेका छन् । विश्वकै चर्चित इभी मोटर BYD मुख्य प्रायोजकको रुपमा छ । ‘टुर डे ठाकुरद्वारा’ २०७५ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले माघ २४ गते भोलि विहान सिद्धार्थ हस्पिटालिटीको मुख्य प्रायोजनमा सिद्धार्थ नेपालगञ्ज किड्स रेसको तेस्रो संस्करण पनि आयोजना गर्दैछ । नेपालगञ्ज साइक्लिंग क्बलका उपाध्यक्ष कबिराम बुढाथोकीले स्वागत मन्तब्य ब्यक्त गरेको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव इन्द्र गिरीले गरेका थिए ।
साभार बागेश्वरी पोष्ट




