बर्दिया, पुस २९ गते / समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने मुलनाराका साथ बर्दियाको राजापुरमा सञ्चालित बर्दिया राजापुर महोत्सव आजदेखि सुरु भएको छ ।

बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुर स्थित सरस्वती सामुदायिक वन क्षेत्रको मैदानमा आयोजना गरिएको महोत्सव लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे संगै सञ्चालनमा आएको हो ।
कृषि, औद्योगिक र पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधन गर्दै आर्थिक वृद्धि तथा स्थानीय क्षेत्रको विकास गरी स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढ गर्ने लक्ष्य लिई बर्दियाको राजापुरमा महोत्सवको आयोजना गरिएको बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापाले बताउनु भयो ।

पौष २९ गते देखि माघ ९ गते सम्म चल्ने राजापुर महोत्सवमा १०० वटा स्टल रहेका छन।
घरेलु उद्योगबाट उत्पादित बस्तु, कृषि उत्पादन तथा जडिबुटी, स्थानीय थारु परिकार, स्थानीय कला संस्कृती तथा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग प्रर्दशनी ‘हमार गाउँ’ महोत्सवकाे मुख्य आर्कषणक रहेका छन। साथै महोत्सवमा नयाँ प्रतिभा प्रस्फुटन गर्न बर्दिया आईडल पनि सञ्चालन गरिने छ ।




