बाँके, पुस ९ गते / लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपालगञ्जमा हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगञ्जस्थित महेन्द्र रंगशालामा हुने उक्त फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

अखिल नेपाल फुटवल संघ (एन्फा) ले आयोजकलाई सोमवार पत्रमार्फत लुम्बिनी कप महिला फुटबल संचालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु जन्माउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए ।
यसअघि गत मंसिर १६ गते नेपाली महिला फुटबल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुब्बाले संयुक्तरुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए । लोगोमा शान्तिका अग्रदुत भगवान गौतम वुद्ध र महिला फुटवल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ । सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिँदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताए ।




