• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालको धान खेतीमा चमत्कारी परिवर्तन ल्याउँदै छरुवा प्रविधि

  •  अमृता जैसी, ग्लोबल प्रेस नेपाल
  • २०८१ मंसिर ९, आईतवार २१:३० प्रकाशित
    तस्बिर – बर्दिया जिल्लाको बढैयातालस्थित आफ्नो धान खेतमा उभिइरहेका जगदीश थारू । फोटो क्रेडिट-अमृता जैसी ।
    • अ-
    • अ
    • अ+

    बढैयाताल, मंसिर ९ गते / सन् २०२३ मा कृषक जगदीश थारूको खेतमा अनुमान गरेभन्दा तेब्बर बढी धान फल्यो । पानीको मुहान सुक्दै गएर खडेरी पर्ने क्षेत्रमा यस्तो अनपेक्षित सफलता देखेर थारू र उनका छिमेकीहरू छक्क परे ।

    धान खेतमा झार उम्रिएको देखेर थारूका छिमेकीहरूले बढीमा १२ क्विन्टल धान फल्ने अड्कल काटेका थिए । तर ३२ क्विन्टल धान फल्यो ।

    थारूले योभन्दा पनि बढी धान फलाएका छन् तर यो वर्ष भने उनले कम खर्च र मेहनतमा नै यति धेरै धान फलाउन सकेका हुन् । खेतमा काम गर्नका लागि झन्डै ३० जना खेताला लगाउने गरेका उनले यस वर्ष त्यसो गर्नु परेन । काम गर्न पनि सजिलो भयो । उनले आफ्नै हातले धान छरे ।

    यो सबै चमत्कार छरुवा प्रविधिले गर्दा भएको हो । यो प्रविधि हाल चीन, भारत, संयुक्त राज्य अमेरिका र युरोप तथा अफ्रिकाका केही भागहरूमा लोकप्रिय बनिरहेको छ ।

    छरुवा धान खेती गर्दा सीधै खेतमा नै धान छरिने भएकाले ब्याडमा बीउ जमाउने र पछि फेरि त्यसलाई लगेर खेतमा रोप्ने झन्झट गरिराख्नु पर्दैन । फलस्वरूप मेहनत र खेताला पनि धेरै लाग्दैन । सन् २०२२ मा जर्नल सर्कुलर इकोनोमी एन्ड सस्टेनाबिलिटी नामक जर्नलमा प्रकाशित पेपरअनुसार परम्परागत धान खेतीको तुलनामा छरुवा प्रविधि प्रयोग गर्दा १२ देखि २५ प्रतिशत कम पानी खर्च हुन्छ, खेताला खर्च घट्छ र सातदेखि १० दिनअघि नै धान फल्छ ।

    छरुवा विधि जलवायु परिवर्तनको समस्यासँग जुध्नका लागि पनि अनुकूल विधि हो । परम्परागत धान खेतीमा एक केजी धान फलाउन औसतमा २५ सय लिटर पानी चाहिन्छ । विश्वमा नै पानीको अभाव भइरहेको र स्थानीय रूपमा खडेरीको समस्या आइरहेको अहिलेको समयमा पानीका हिसाबले परम्परागत विधि निकै नै महँगो पर्न जान्छ । तर छरुवा विधिले भने जमिनमुनिको पानी रिचार्ज गरेर भूजल पुर्नभरणमा मद्दत गर्छ, भूक्षय कम हुन्छ र हरितगृह ग्याँसको उत्सर्जनमा कमी आउँछ ।

    मधेश प्रदेशस्थित कृषि औजार अनुसन्धान केन्द्र रानीघाट, पर्साका स्टेसनका प्रमुख सचिन कुमार मिश्र भन्छन्, “यो जलवायु अनुकुलन स्मार्ट प्रविधि हो ।”

    मानिसहरूले भविष्यमा पनि भात खाइरहने हो भने छरुवा विधि नै प्रयोग गर्नु पर्ने उनको जिकिर छ ।

    उनी भन्छन्, “यसमा हामी जानै पर्छ नत्र जमिन बाँझो रहन्छ किनभने आउने दिनमा पानीको ठूलो समस्या हुन्छ ।”

    विश्व जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् ३.५ अर्बभन्दा बढी मानिसहरू चामलमा आश्रित छन् । खास गरी एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मानिसहरूको मुख्य आहार नै चामलबाट बन्ने खाना रहेको छ । नेपालको मुख्य खाद्यान्न बाली पनि धान नै हो । जलवायु परिवर्तनका कारण लामो खडेरी खेपिरहेको देशमा छरुवा विधि जस्ता पानी कम खर्च हुने कृषि विधि अवलम्बन गर्न आवश्यक हुँदै गइरहेको छ ।

    नेपालमा धान खेतीको महत्त्व एकदमै धेरै छ । नेपालको कुल जनसङ्ख्याको झन्डै ६७ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ र कृषि क्षेत्रले नेपालको कुल ग्राहस्थ उत्पादनको झन्डै एक चौथाई हिस्सा ओगट्छ । नेपालले सन् १९७२ र २०१६ का बिचमा जलवायु परिवर्तनसम्बन्धी घटनाहरूले गर्दा उल्लेख्य नोक्सानी बेहोरिसकेको छ ।

    विश्वभरि नै धान खेती विकासको क्षेत्रमा अनुसन्धान गर्दै आइरहेको गैरनाफामूलक संस्था इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटले नेपालको तराई क्षेत्रमा छरुवा विधिको प्रवर्धन तथा प्रोत्साहन गरिरहेको छ । त्यस्तै नेपाल सरकारले पनि खडेरी र बाढी जस्ता जलवायु परिवर्तनका प्रतिकूल प्रभावसँग जुध्न सक्ने विधि प्रयोग गरी धान खेती गर्न सिफारिस गरेको छ ।

    बर्दिया जिल्लाका कृषकहरूमा छरुवा विधिका साथै यस्ता केही जलवायु अनुकूलन धान खेतीहरूले बिस्तारै लोकप्रियता हासिल गरिरहेका छन् ।

    कृषक रामचन्द्र यादवले पनि यो प्रविधि प्रयोग गरेर धान खेती गरेको सात वर्ष भइसकेको छ । धानको बिरुवा उम्रने समयमा र बीउ हुर्कँदै गरेको सुरुवाती चरणमा खडेरी परेमा एकदमै ठुलो समस्या आउँछ । त्यसैले खडेरीका समयमा परम्परागत कृषि सम्भव हुँदैन । तर यस वर्ष भने यादवले परीक्षण स्वरूप खडेरीको समयमा पनि छरुवा प्रविधि प्रयोग गरेर पहिलो पटक धान छरे ।

    उनी भन्छन्, “मैले जुवा खेलेको जस्तो सुख्खामै धान छरेँ ।” तर खडेरी सकिएर पानी परेपछि उनको खेतमा धान राम्रोसँग हुर्किएर आयो ।

    तर यत्तिका धेरै फाइदा हुँदा हुँदै पनि छरुवा प्रविधिमा केही चुनौतीहरू छन् । कम सिंचाई गरिने भएकाले छरुवा प्रविधिमा झार आउने समस्याले एकदमै सताउँछ । झार नियन्त्रण गर्नका लागि विशेष औजारहरू चाहिन्छ र कैयौँ कृषकहरूसँग त्यस्तो औजार हुँदैन ।

    कृषि औजार अनुसन्धान केन्द्रका मिश्र भन्छन्, “अहिले किसानले चाहे पनि धान रोप्ने र झार उखेल्ने यन्त्रहरू उपलब्ध छैनन् ।” औजारहरू उपलब्ध नै भए पनि ती औजार महँगो पर्ने भएकाले कृषकहरूले खरिद गर्न नसक्ने उनी बताउँछन् ।

    तर यो प्रविधिका फाइदाहरू स्पष्ट छन् ।

    छरुवा धान खेती प्रविधिको कार्यसम्पादन मापन तथा परिष्कार गर्नका निम्ति सन् २०११ देखि २०१७ का बिचमा पश्चिमी तराई क्षेत्रमा विभिन्न परीक्षणहरू गरिएका थिए । छरुवा प्रविधि प्रयोग गर्दा परम्परागत विधिका तुलनामा उच्च मात्रामा धान फल्यो भने कुल कृषि खर्च पनि कम लाग्यो र पानी पनि कम खर्च भयो । यसले गर्दा कुल नाफा पनि बढेको पाइयो ।

    परम्परागत विधि प्रयोग गर्दा तीन वटा मोटर लगाएर जमिनमुनिको पानी तान्दा पनि पानीको स्तर कम नै हुने गरेको र खेताला खर्च उच्च हुने गरेको थारू स्मरण गर्छन् ।

    बीउ उखेल्न १० जना खेताला चाहिन्थ्यो भने धान रोप्न थप २० जना खेताला चाहिन्थ्यो ।

    थारू भन्छन्, “उनीहरूलाई दैनिक प्रति व्यक्ति ७०० रुपैँयाका दरले रकम र खाजा पनि दिनु पर्ने हुन्थ्यो ।” कृषि पेसा छाड्ने र रोजगारीका लागि विदेश जाने मानिसहरूको सङ्ख्या बढ्दै जाँदा हरेक वर्ष खेताला पाउन मुस्किल बन्दै गएको छ ।

    थारू अर्को वर्ष पनि छरुवा प्रविधि प्रयोग गरी आफ्नो जमिनमा धान खेती गर्न चाहन्छन् र हरेक वर्ष अझ धेरै धान फल्ने आशा गरेका छन् । यस वर्ष उनको गाउँका अन्य छ जना कृषकले पनि थारूले जस्तै यो प्रविधि प्रयोग गरेर धान खेती गरेका छन् ।

    बढैयातालका ३१ वर्षीय कृषक आशिष भट्टराई उनको पुस्ता कृषि पेसामा इच्छुक नभएको बताउँछन् । “सबैले किसानलाई तल्लो दर्जामा राख्नुहुन्छ,” भट्टराई भन्छन् ।

    उनले भने आफ्नो जागिर नै छाडेर १९.५ बिघा जमिनमा धान छरेका छन् । उनको गाउँमा सबैभन्दा धेरै जग्गामा छरुवा प्रविधि प्रयोग गरी खेती गर्ने उनी नै हुन् ।

    उनी भन्छन्, “मान्छेले गहुँ छर्न सजिलो र धान खेती गर्न गाह्रो मान्छन् ।”

    छरुवा प्रविधिले उक्त पुरानो मान्यता परिवर्तन गरेको उनी बताउँछन् र धान खेतीमा राम्रो भविष्य भएको उनको धारणा छ । (जैसीग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन् ।)

    (ग्लोबल प्रेस जर्नल अवार्ड विजेता अन्तर्राष्ट्रिय गैर नाफामूलक समाचार संस्था हो, जसले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा रहेका आफ्ना ४० भन्दा धेरै स्वतन्त्र समाचार ब्युरोहरूमा स्थानीय महिला रिपोर्टरहरूलाई रोजगारी प्रदान गर्दछ।)

    Post Views: 166
    प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार २१:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.