काठमाडौँ, कार्तिक ३० गते / परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशलाई बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा भएको बताएकी छिन् । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत् निर्यात गरिएको यो नै पहिलो पटक भएको समेत बताएकी छिन् ।

परराष्ट्रमन्त्री राणाले भनेकी छिन्, ‘आजदेखि नेपालबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरूआत भएकोमा खुसी लागेको छ । नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत निर्यात गरिएको यो नै पहिलो पटक हो । यसलाई क्षेत्रीय विद्युत् व्यापारको एक ऐतिहासिक कोशेढुंगा मान्न सकिन्छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबारबाट विद्युत् निर्यातको कार्य सुरू भएको हो ।’
गत अगस्टमा आफ्नो भारत भ्रमणका क्रममा भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरी नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिदको पूर्वसम्झौताको औपचारिक सुरूआतको घोषणा गरेको पनि परराष्ट्रमन्त्री राणाले बताएकी छिन् ।
बंगलादेशलाई बिजुली निर्यातका लागि सहजीकरण गरेकोमा भारतलाई धन्यवाद दिँदै उनले लेखेकी छिन्, ‘बंगलादेशमा विद्युत् निर्यातका लागि सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयात गर्ने बंगलादेश सरकारलाई विशेष धन्यवाद छ। नेपालको विद्युत् उत्पादन र बजारको सम्भावनाको थप विस्तारका लागि हाम्रा कूटनीतिक प्रयास र पहलहरू जारी नै रहेकाले आगामी दिनमा पनि यसैगरी सबैको सहयोग एवं समन्वयको अपेक्षा गर्दछौँ ।’
नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो
नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात शुक्रबार मध्याह्न साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुत्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५को जुन १५बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ ।
साभार / कान्तिपुर




