• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बिपदवाट बच्न सिकाउदै “तयार नेपाल”!

  •  केशव कोइराला
  • २०८१ आश्विन ७, सोमबार १४:१६ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, असोज ७ गते / आकाशमा मेघ गर्जनासाथ पाकापुस्तालाई २०४० साल र नयाँ पुस्तालाई २०७१ सालको बाढीको भय मनमा पस्ने बर्दिया राजापुर नगरपालिका वडा नम्बर ४ का जीवराज रेग्मी बताउँछन् ।
    २०४० सालमा कर्णालीको भँगालो पस्दा चित्ताकर्षक राजापुरमा अफरातफरी मच्चिएको थियो । बाढीले खेतीयोग्य जमिन मात्रै कटान गरेन, धेरैको थातथलो नै उठिबास भयो । त्यतिबेला रेग्मी आफै उद्धारमा खटिएका थिए । बाढीले थातथलो उखेलिएका र ओतविहीन बनेकाहरूलाई आश्रय खोज्नै मुस्किल भएको थियो ।


    राजापुर वडा नम्बर ४ का चन्द्रध्वज जिसीको भोगाइ पनि उस्तै छ । राजापुरको पूर्वी भूभागबाट कर्णालीको एउटा भँगालो दक्षिण हानिन्छ । जसलाई गेरूवा कर्णाली भनिन्छ । पश्चिमतिर कर्णालीकै अर्को झनठूलो भँगालो (कर्णाली सत्तीघाट) सोझिएकाले राजापुरबासी हरेक वर्षा, बाढी र डुबानको त्रासमा अनिँदै बस्थ्यो ।
    ‘एक्कासि बाढी आउथ्यो, जिउज्यान जोगाउनै मुस्किल हुन्थ्यो । रातविरात लालाबाला च्यापेर भाग्नुपर्ने परिस्थिति आइलाग्थ्यो,’ उनले विगत सुनाउँदै भने, ‘बाढी रोकिएपछि मात्रै के कति नोक्सान भयो भनेर थाहा हुन्थ्यो !’ जिसी बताउँछन् ।
    त्यतिबेला नदी ठूला व्यवस्थित तटबन्धका संरचना बनेका थिएनन् । गाउँले मिलेर बोरामा माटो भर्र्र्दै नदीकिनारमा हाल्ने, रुख विरुवा स्याउला र ढुंगा हालेर कटान रोक्ने प्रयास हुन्थ्यो । तर त्यति ठूलो नदीको बेगलाई कसरी छेक्नसक्नु ।
    ‘बाढी आएपछि कर्णालीको भँगालासँग याचना गर्नुबाहेक हामीसँग कुनै विकल्प हुँदैनथ्यो,’ जिसीले भने, ‘सामान्य छेकबारले उर्लंदो भेल छेक्न सक्ने कुरा भएन । अरू संरचना बनेका थिएनन ।’ उतिबेला नदी उर्लेको हेरेर मात्रै बाढी आए नआएको थाहा हुने उनले बताए । प्रभावमा आधारित पूर्वानुमान प्रणाली त परको कुरा, मौसमपूर्व सूचना केन्द्र पनि थिएन । विपत्ति आइलागेपछि मात्रै राज्यको ध्यानकर्षण हुने र प्रशासन जुर्मुराउने अवस्था रहेको उनले बताए ।
    राजापुरमा बहुसंख्यक आदिवासी थारुहरुको बसोबास छ । यहाँ नगरपालिकाको कूल जनसंख्याको ८२ प्रतिशत थारु समुदाय बस्छन् र यो समुदायमा सामुहिकता बडो प्रखर छ जुन बडघर चलन त्यतिबेला मात्र होइन अहिलेपनि जीवन्त छ । उबेला पनि गाउँमा सामूहिकताको भावना जिउँदोजाग्दो थियो । गाउँमा एउटा मुखिया हुन्थे । जसलाई बरघर भनिन्छ ।
    ‘उतिबेला बाढी आए नआएको नदी हेरेरै मात्र थाहा हुन्थ्यो । गाँउमा चौकिदारी प्रथा थियो । कतै केही भइहाले, आपतविपद् परे, गाउँमा सामूहिकरूपमा गर्ने काम आयो भने चौकिदारले हाँक पार्थे (खबर पुर्याउँथे) । त्यसले ठूलो सहायता दिन्थ्यो,’ जिसीले भने ।
    वि.सं २०५० सालमा जल तथा मौसम विज्ञान विभागको रूपमा स्थापना भएपछि कैलालीको चिसापानीमा जलमापन केन्द्र राखियोे । त्यहाँ पार्वती गुरुङ गेज रिडर छिन् । कर्णालीको जल सतह बढ्नेबित्तिकै अहिले पनि उनले तटीय क्षेत्रका गाउँका मुखियाहरूलाई सूचित गर्छिन् । पानी सतर्कताको तहमा पुगेको भन्दै गाउँमा हाँक पार्न लगाउँछिन् ।
    आधुनिकताले प्रविधि फेरियो, तौर तरिका फेरियो तर नगरपालिकाले विपद् व्यवस्थापनमा तिनै बरघर चलनलाई विपद् न्यूनीकरण तथा व्यवस्थापनमा समेटेर काम गरिरहेको छ । प्रतिकार्यमा जुटाइरहेको छ । त्यसले विपद्बाट हुने क्षति न्यूनीकरणमा ठूलो भूमिका खेलेको छ ।
    २०७३ सालमा दौलतपुर, नयाँगाउँ, राजापुर, बदलापुर, भिम्मापुर र मानपुर टपरा, खैरी चन्दनपुर गाबिस समेटेर राजापुर नगरपालिका बन्यो । त्योसँगै विपद् जोखिम न्यूनीकरणका लागि नगरपालिकाले प्रयास व्यवस्थित गरिरहेको छ । त्यसमा अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाले भरपर्दो साथ दिइरहेको छ ।
    स्थानीय सरकार गठन त भयो । तर स्थानीय सरकार सञ्चालनको नीति बसिसकेको थिएन । विपद् न्यूनीकरणको विधि के हो ? यसलाई नीतिमा कसरी बाँध्ने भनेर राजापुर नगरपालिकाले मेसो पाइसकेको थिएन । राजापुर नगरपालिका र तयार नेपालबीच २०७७ साउन ३२ गते समझदारी पत्रमा हस्ताक्षर भयो । त्यसपछि नगरपालिकाले तर्जुमा गरेको विपद् व्यवस्थापन सञ्चालन कार्यविधि २०७६, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६ कार्यान्वयन गर्न सहज भयो ।
    यस परियोजनाले स्थानीय तहमा नीतिगत र क्षमता अभिवृृद्धिका कार्यक्रम सञ्चालन गर्दै विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा भूमिका खेलेको छ । परियोजनाको सहयोगमा नगरपालिकाले कर्मचारीको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी ११ वटा नीति एवम् कानून र १३ प्रकारका योजनाहरू निर्माण गरिसकेको नगर प्रमुख दिपेश थारूले बताउनुभयो ।
    ‘विपद् बर्सेनी आउँछ । तर त्यसको सामना कसरी गर्ने, समुदायलाई कसरी सुसूचित गराउने, विपद् प्रतिकार्यको नीति कसरी तर्जुमा गर्ने, अन्यत्रको अभ्यास के छ, आदि परियोजनमार्फत् बुझ्न पायौं । उहाँहरूले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभयो, जसका कारणले हामीले छोटै समयमा विपद्सम्बन्धी सम्पूर्ण नीति, नियम बनाउन सक्यौं,’ नगरप्रमुख थारूले भन्नुभयो ।
    परियोजनाकै सहयोगमा बाढीको समयमा खोज र उद्धार प्रभावकारी होस् भनेर मोटर बोट लगायतका उपकरणहरु समेतको व्यवस्था गरिएको छ ।
    ‘बाढीमा फसेका नागरिकहरूको उद्धार निकै चुनौतीपूर्ण हुन्छ । दुईतिरबाट नदीले घेरेको टापुजस्तो ठाउँ भएकाले डुबानको भय जहिल्यै हुन्छ । त्यसका लागि अहिले हामीसँग मोटर बोट छ । यसले खोज र उद्धारलाई प्रभावकारी बनाउन निकै भूमिका खेलिरहेको छ । यद्यपि विपद् प्रतिकार्यका नयाँनयाँ प्रविधि हामीले अंगीकार गर्नुपर्ने छ । त्यसका लागि तयार नेपालजस्ता सहयोगी संस्थाहरुको ठूलो भूमिका हुन्छ,’ थारूले भन्नुभयो ।
    बाढीको समयमा विद्युत आपूर्तिमा अवरोध पुग्छ । मोबाइल लगायत सञ्चार पनि विच्छेद हुन्छ । दुवैतिर विशाल कर्णालीको भँगाला भएकाले बाहिरबाट खोज र उद्धारमा जुट्न पनि मुस्किल हुन्छ । यसैलाई मध्यनजर राखेर तयार नेपाल परियोजनाले नगरपालिका र नगर आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २० वटा भिएचएफ रेडियो सेट सञ्चार उपकरण उपलब्ध गराएको छ ।
    ‘हामीले ती रेडियो सेट १० वटै वडामा उपलब्ध गराएका छौं । बाढीका बेला सम्पर्क र समन्वय गर्न सहज भएको छ,’ नगरप्रमुख थारूले बताउनुभयो । सेट सञ्चालनको तौरतरिका, सेटको मर्मतसम्भारका लागि आवश्यक पर्ने सामान्य ज्ञान सम्बन्धित कम्पनीले प्रदान गरेको थारूले बताउनुभयो ।
    तयार नेपालको कार्यक्रम पछि बाढीबाट हुने क्षतिबारे समुदाय चनाखो भएको बर्दिया उद्योग वाणिज्य संघका महासचिव लोकराज ढुंगानाले जानकारी दिनुभयो ।
    बाढी, जंगली जीवजन्तुको भयका अतिरिक्त राजापुर आगलागीको पनि उच्च जोखिममा छ । नगरपालिकाले दमकलको प्रबन्ध गरेको छ । छिमेकी टीकापुर लगायतका नगरपालिकामा हुने आगलागी नियन्त्रणमा समेत राजापुर नगरपालिकाको दमकलको उपयोग हुँदै आएको छ ।
    ‘नगरपालिकामा भएको आगलागी नियन्त्रणका लागि भएका प्रयासहरूलाई अझै व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन नगरपालिकाका कर्मचारीसहित स्थानीय स्वयम्सेवकहरूलाई आगालागी नियन्त्रण र व्यवस्थापनसम्बन्धी तालिम दिइएको थियो । आगलागी नियन्त्रणको कार्यलाई अझ प्रभावकारी बनाउन पहिलो पटक सन् २०२२ मा र दोश्रो पटक सन् २०२३ मा दुई पटक फायर फाइटर तालिम सञ्चालन भयो,’ नगरप्रमुख थारूले भन्नुभयो ।
    पहिलो चरणको तालिममा १२ जना नगरपालिकाका कर्मचारी स्थानीय स्वयंसेवक सहभागी थिए भने दोश्रो चरणको तालिममा १५ जना सहभागी थिए । तयार नेपालले नै तालिमको प्रबन्ध गरेको थियो । उक्त तालिमपछि अग्नि नियन्त्रकहरूमा कसरी सुरक्षित र प्रभावकारी तरिकाले आगो नियन्त्रणमा लिने ज्ञान, सीपको विकास भएको थारूको बुझाइ छ ।
    तालिमपछि अग्निनियन्त्रक र स्वंयम सेवकहरूको सुरक्षाका लागि आवश्यक सामग्री र उपकरण पनि तयार नेपालले उपलब्ध गराएको र अहिले त्यो रक्षाकवच बनेको नगर प्रमुखले बताउनुभयो ।
    परियोजनाले विपद् व्यवस्थापनमा उत्थानशीलता अभिवृद्धि गर्ने तालिम पनि सञ्चालन गरेको थियो । जसले विपद्बाट हनुे सम्भावित क्षति न्यूनीकरण गर्न सघाउ पु¥याएको छ । यस तालिमले विपद्को समयमा आवश्यक पर्ने सामग्री पहिचान र ती सामग्रीहरूको व्यवस्थापन, स्थानीय स्तरमा नै प्राप्त हुनसक्ने सामग्रीहरूको पहिचान गर्न सघाउ पु¥याएको नगरपालिका विपद् फोकल पर्सन खुशीराम थारु बताउँछन् ।
    ‘तालिमले आपतकालीन अवस्थामा सुत्केरी, गर्भवती, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक जस्ता बढी जोखिममा रहेका समूहका लागि आवश्यक पर्ने सामग्रीहरूको आवश्यकता पहिचान र त्यसको व्यवस्थापनका बारेमा समेत जानकारी दिएको थियो । आपतकालीन समयमा आवश्यक बन्दोबस्तीका सामग्रीहरूको सहजै व्यवस्थापन गर्न सकियोस् र त्यसको पूर्वतयारी गर्न पनि सहज होस भनेर नगरपालिकाबाट विपद्को क्षेत्रको जिम्मेवारी दिएका कर्मचारीहरूलाई सो तालिम प्रदान गरिएको थियो,’ फोकलपर्सन थारू बताउँछन् ।
    यस नगरपालिकाको लैङ्गिक तथा सामाजिक समावेशीकरण र अपाङ्गतासम्बन्धी नीति तर्जुमा गर्ने सन्दर्भमा पनि तयार नेपालको भूमिका उल्लेखनीय भएको उपप्रमुख मनकला चौधरीको भनाइ छ ।
    ‘परियोजनाका हरेक क्रियाकलापहरूमा लैङ्गिक तथा सामाजिक समावेशीकरण र अपाङ्गता सम्बन्धी विषयको सुनिश्चितताका लागि तयार नेपालले गरेको पहल अत्यन्त सराहनीय छ,’ उपप्रमुख चौधरी बताउनुहुन्छ ।
    युएसएआइडीको तयार नेपाल परियोजनाको सहयोगमा तयार भएका नीतिगत दस्तावेजहरूको कार्यान्वयन गर्ने, तिनीहरूलाई नियमित अद्यावधिक गर्ने, उपलब्ध गराइएका सामान तथा उपकरणहरूको नियमित रेखदेख तथा मर्मतसम्भार, सम्बन्धित निकायहरूसँग सहकार्य र समन्वयको जिम्मेवारी नगरपालिकाले लिएको उपप्रमुख चौधरी बताउनुहुन्छ ।

    Post Views: 281
    प्रकाशित मिति: २०८१ आश्विन ७, सोमबार १४:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.