• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तिजको मौलिकता जोगाउन चुनौती

  •  सावित्रा पाण्डे
  • २०८१ भाद्र २१, शुक्रबार १३:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     सालको पात टिपेर नलाऊ आमा टपरी 

    हाम्ले बिहे गरिँदैन मनै नपरी 

    हलहली मकै बढ्यो त्यही बारीको हावाले 

      कस्तो घर रोजेर दिन्छौ बाबाले ।

    स्तुत गीतका हरफ त्यतिबेला गाइएका हुन्, जतिबेला छोरीहरू बिहेबारे आफ्ना अभिभावकसँग खुलेर बोल्न सक्दैनथे । आफ्ना आमाबाबुले जुन र जस्तो मानिससित विवाह गरिदिन्थे उनीहरूसँगै चुपचाप जीवन बिताउनुपथ्र्यो, चाहे जस्तोसुकै सम्झौता गर्न किन नपरोस् । बोल्नका लागि छोरीहरूसित आवाज थिएनन्, आफ्ना कुरा अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण थिएन । आफूमाथि भएका अन्याय र अत्याचारविरुद्ध बोल्ने साहस थिएन, त्यतिबेला विद्रोहको एउटा मात्रै माध्यम थियो– तिजका गीत । विवाहित छोरीचेलीले आफ्नो कर्मघरमा भोगेका दुःखकष्ट, विभेद र अन्याय गीतका माध्यमबाट माइतीसामु प्रस्तुत गर्थे, जसले मनोरञ्जनसँगै शिक्षा पनि दिन्थ्यो ।

    एक समय थियो, शिक्षाको अवसर केबल पुरुषलाई प्राप्त थियो । छोरीहरू लेखपढको अवसरबाट वञ्चित थिए । आफूले नपढेकै कारण लोग्ने र परिवारका अन्य सदस्यले गर्ने व्यवहार, अपमान तिरस्कारबाट आहत भएर छोरीलाई नपढाउने बाबुआमालाई गीतबाटै यसरी व्यङ्ग्य कस्थे :

    नपढेकी छोरीलाई पढेकालाई दिनुभो 

    यति कुरा बाबाले पाप लिनुभो । 

    अङ्गे्रजीमा भन्दा रैछन् पानीलाई वाटर 

    नबुझेर दिएँ मैले काँचो कटर ।

    न आफूले पढियो न त बाउले पढाए

      के छ इच्छा सोधेनन् डोली चढाए ।

    अविवाहित छोरी आफ्नो हुनेवाला श्रीमान्सक्षम होस्, विवाह गरेर जाने घरमा आफ्नो सम्मान होस्, सुख सुविधा होस् भन्ने चाहन्थे । घाँसदाउराका लागि टाढा धाउन नपरोस्, लेकबेँसी गर्न नपरोस्, अन्धकार छिचोल्दै पानी बोक्न टाढाटाढा धाउन नपरोस् भन्ने चाहना हुन्थ्यो तर आफ्ना कुरा अभिभावकसँग सोझै व्यक्त गर्न सक्दैनथे र यस्ता गीतको सहारा लिन्थे :

    केटो हेर्नू बाबाले निकै छाँटकाँटको 

    खेतबारी हेर्नू बाबा सम्म फाँटको । 

    पानी बोक्न नपरोस् दैलादैला पँधेरो 

    कोठाकोठा बिजुली नहोस् अँधेरो ।

    महिलाले लेखपढ गर्ने अवसर नपाएका र घरगृहस्थीबाट माथि उठ्न नसकेका, आफ्नो हक अधिकारबारे बोल्न नसकेका महिलाले गीतका माध्यमबाट चेतनाको दियो बाल्थे । हामीले गर्न नसक्ने केही छैन, हामीमाथि भएका अन्याय, अत्याचार, दमनविरुद्ध हामीले नै आवाज उठाउनु पर्छ भन्ने हुन्थ्यो । हामी पनि राज्यको नेतृत्व तहमा पुग्न सक्छौँ, आफ्नो हक अधिकारका लागि बोल्न अब ढिलो गर्नुहुँदैन भनेर गीतकै माध्यमबाट महिला दिदीबहिनीलाई यसरी आह्वान गरिन्थ्यो :

    उठौँ जागौँ दिदीबैनी अब ढिला भैसक्यो

    अन्याय र अत्याचारले जालो लाइसक्यो ।

    कति बस्छौ अन्यायमा भित्रभित्रै रोएर

    कति बस्छौ सामन्तीको दासी भएर ?

    अरू देशका नारीहरू रकेट चढी चन्द्रमा

    हाम्रा देशका नारीहरू मस्त निन्द्रामा । 

    नारी अधिकारका आवाजसँगै त्यतिबेलाका गीतमा विद्रोहका स्वर पनि चर्को रूपमा बुलन्द हुन्थे । समाजको कलङ्क बनेर बसेको दाइजो प्रथाले आहत भएर भित्रभित्रै पिल्सिएका नारीलाई विद्रोह गर्न र स्वाभिमानपूर्ण जीवन बाँच्न गीतैबाट अनुरोध गरिन्थ्यो । विवाहमा दाइजोका रूपमा मोटरगाडी माग्ने केटालाई बेहुलीले विवाहमण्डपमै दिएको जवाफलाई गीतमा यसरी बुनिएको छ :

    सम्पत्तिले नपुगे लैजा भैँसी तानेर

    बसिँदैन मगन्तेलाई लोग्ने मानेर ।

    त्यसलाई दिने सम्पत्तिमा बस्छु बरु पढेर 

    सिन्दुर हाल्छ, त्यही मोटरलाई जान्छ चढेर । 

    अहिलेका शिक्षित र चेतनशील मानिएका महिलाले समेत प्रत्यक्ष रूपमा दाइजो प्रथाको विरोध गर्न नसकेको अवस्था छ । यसलाई अपनाएरै अगाडि बढिरहेको सन्दर्भमा आजभन्दा दशकौँ अगाडि नै तिजका गीतमा दाइजो प्रथाविरुद्धमा गीतैबाट आगो ओकल्नु चानचुने कुरा होइन ।

    त्यस समयका तिज गीतमा महिलाका सवाल मात्रै होइन, समाजमा भए गरेका विभिन्न विकृति विसङ्गतिप्रति व्यङ्ग्यको झटारो हानेर समाज रूपान्तरणका लागि शङ्खघोषसमेत गरिन्थ्यो । शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई गीतको यस पङ्क्तिले मार्मिक व्यङ्ग्य प्रहार गरेको छ :

    महिनाको तीन चोटि जान्छन् मास्टर पोखरा 

    दस पढेका विद्यार्थीले बिर्से कखरा । 

    त्यस्तै गरी आधुनिकतासँगै भित्रिएको फेसन संस्कृति र त्यसले युवा वर्गमा पारेको प्रभावलाई यसरी व्यङ्ग्य गरिएको हुन्थ्यो ः

    छ सयको पाइन्टलाई घुँडाघुँडा काटेर

    केटा पनि हिँड्न थाले कपाल बाटेर । 

    तीन सयको पाइन्टलाई छ सयमा सिलाउनी 

    बोल्नभन्दा अगाडि कपाल मिलाउनी । 

    ब्राह्मण समाजको सांस्कृतिक स्खलन र बढ्दो विकृतिलाई गीतका माध्यमबाट यसरी व्यङ्ग्य गरिन्थ्यो :

    थकाल्नीले रक्सी पार्छे चमचीले चाखेर

    आहो आहो बाहुन बाजे जनै राखेर ।

    छ सराको जनैले यति दुःख दिएको 

    ठाडो घाँटी लाएर रक्सी पिएको ।

    अचेल यसरी विकृति विसङ्गतिप्रति व्यङ्ग्य गरिएका, नारी समानताका लागि आवाज उठाइएका तिज गीत सुनिन छाडेका छन् । अचेलका तिज गीत सुन्न कम र हेर्न बढी थालिएसँगै पूर्ण रूपमा व्यापारिक बन्दै गएका छन् । आजकालका अधिकांश गीतमा शृङ्गार, सौन्दर्य, वस्त्राभूषण, शरीरको सजावट, खानपान, प्रेमजस्ता विषयले मात्रै प्राथमिकता पाउन थालेका छन् । गीत मिठो खाने, राम्रो लाउने, राम्री हुनेभन्दा माथि उठ्न सकेका छैनन् । यही होडमा महिलाले आफूलाई खानलाउनमै सीमित गर्न थालेका छन् । कसरी अरूभन्दा राम्री देखिने भन्ने प्रतिस्पर्धाले आफ्नै शरीरको वस्तुकरण हुँदै गएको पत्तै पाएका छैनन् । यसले देशको अर्थतन्त्रमा पारेको ऋणात्मक प्रभावप्रति कसैको चासो र चिन्ता छैन ।

    अहिलेका कतिपय गीत समाजमा अपाच्य तथा भद्दा शब्द र दृश्यको प्रयोगले परिवारबिचमा बसेर हेर्न र सुन्न नसकिने बन्दै गएका छन्, जसले तिज गीतको मौलिकतामाथि प्रश्नचिह्न मात्रै खडा गरेको छैन, यसको मौलिकता संरक्षणमा समेत चुनौती थपिएको छ । तिज गीतको आफ्नै छुट्टै लय छ, गाउने छुट्टै शैली छ, गीतमा व्यक्त हुने फरक भाव र संवेदना छ । तर आजकाल बजारमा आएका अधिकांश गीतमा न लय छ, न भाव छ, न संवेदना छ, छ त केवल उत्ताउला हाउभाउ, अश्लील दृश्य तथा द्विअर्थी शब्द । तिजको सांस्कृतिक महत्व, गीतको मौलिकता तथा लोकजीवनलाई बेवास्ता गरेर केवल व्यापारिक प्रयोजनले बजारमा ल्याइएका यस्ता भड्किला गीतले समाजमा पार्ने नकारात्मक प्रभावबारे बेलैमा सचेत हुनु जरुरी छ ।

    समय परिवर्तनशील छ । समयसँगै धेरै कुरा परिवर्तन भएका छन् । अब हिजोको जस्तो अवस्था रहेन । समयसँगै जीवनशैली फेरिएको छ, सुखदुःखका परिभाषा पनि फेरिएको छ । जीवनमा आएको परिवर्तन र मानिसका भोगाइ अनुसार गीत सङ्गीत परिवर्तन हुनु नौलो कुरा होइन । अबका तिज गीतमा पनि चेलीका दुःख, पीडा तथा बिलौनै व्यक्त हुनु पर्छ भन्ने होइन । तर तिजका नाउँमा आएका विकृत तथा समाजलाई भड्काउने तथा तिजको सांस्कृतिक तथा सामाजिक मर्यादामा आँच आउने किसिमका भड्किला विषय र दृश्यमाथि भने प्रतिबन्ध लाग्नै पर्छ ।

    महिलामाथि हुने लैङ्गिक विभेद कायमै छ, महिला हिंसाका घटना घटिरहेका छन् । महिलामाथि हुने गरेको शोषण, दमनबारे हामी अनभिज्ञ छैनौँ । समाजमा जातीय विभेद, छुवाछूत, वैदेशिक रोजगारीले निम्त्याएका समस्या तथा मातृभूमिबाट टाढिनुपर्दाका पीडा, संवेदना, युवा पलायन, आधुनिकतासँगै भित्रिएका विकृति र मौलिक संस्कृति संरक्षणमा चुनौती छ । भ्रष्टाचारको जालोले देश दिनानुदिन डरलाग्दो खाडलमा भासिँदै गएको छ ।

    बलात्कारजस्तो जघन्य आपराधिक गतिविधि बढेका छन् । निर्मला पन्तहरूका लागि न्यायको आवाज उठाउनुपर्ने छ । अबका तिज गीतमा यस्ता विषय उठ्नु जरुरी छ । गीतका माध्यमबाट समाजमा चेतना फैलाउन र विकृति विसङ्गतिको विरोध गर्दै स्वच्छ, सुसंस्कृत र समुन्नत समाज निर्माणको चाहना व्यक्तिनु पर्छ । तिजको गीतलाई कस्तो बनाउने ? कसरी अगाडि बढाउने ? भन्ने विषय यसका सर्जक र गायकमै निर्भर हुने भएकाले अब सर्जक, गायक तथा गीतका निर्माता यसतर्फ सचेत हुनु पर्छ । अनि मात्रै आगामी पुस्तामा तिज गीतप्रति सकारात्मक धारणा विकास गर्न सकिन्छ र तिज पर्वको मौलिकता जोगाउन सकिन्छ ।

     

     

     

    गोरखापत्र साभार

    Post Views: 168
    प्रकाशित मिति: २०८१ भाद्र २१, शुक्रबार १३:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.