बर्दिया, जेठ ६ गते / ठाकुरबाबा नगरपालिकामा बाल अधिकार संरक्षण समितिसंग आपतकालिन अवस्थामा बाल संरक्षण, शिक्षा, प्रजनन स्वास्थ्य अधिकार, यौन तथा लैङ्गिक हिंसाको मामिला व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) को समन्वय र सहकार्यमा संचालित सशक्त बालिका परियोजना अन्तर्गत जेठ ५ गते शनिबार ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ बावनपुरमा सरोकारवालाहरु सँग अभिमुखिकरण गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर उमा पौडेलले जानकारी दिनुभयो ।
बाल अधिकार समितिसँग बाल अधिकार, बाल अधिकार समितिका काम, कर्तव्यका बारेमा वृहत छलफल गरिएको समेत पौडेलले बताए।
साथै आपतकालिन अवस्थामा बाल संरक्षण, बाल श्रम निषेध, बाल विवाह न्यूनिकरण, लैङ्गिक हिंसा र लैङ्गिक हिंसा सम्बन्धि कानुनी व्यवस्था र बाल संरक्षणका विषयमा विस्तृत रुपमा सरोकावाला व्यक्तिहरुलाई जानकारी गराइएको पौडेलले भनिन।
कार्यक्रममा प्रारम्भिक बाल विकास तथा शिक्षा समामुदायिक प्रारम्भिक बाल विकास निशुल्क तथा अनिवार्य शिक्षा, सुरक्षित जन्म, गर्भ पहिचान र विभेदबाट संरक्षण, पोषण, निशुल्क स्वास्थ्य सहायता, सुरक्षित विद्यालय तथा सार्वजनिक पुर्वाधार, यौन तथा प्रजनन स्वास्थ्य सेवा लगायतको बिषयमा ठाकुरबाबा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिका शाखा प्रमुख गोगनसरा आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयहरुमा यौन तथा प्रजनन् स्वास्थ्य शिक्षालाई अनिवार्य गराई किशोर– किशोरीहरुलाई किशोरावस्था, यौन स्वास्थ्य, बाल संरक्षण, बुवाहरुको समुहमा प्राम्भिक बाल विकासमा बुवाको जिम्मेवारी, स्वास्थ्यकर्मीहरुलाई बालबालिकाको दुव्यावहार तथा हिंसा भई आएको अवस्थामा के गर्ने भन्ने बिषयमा पनि बृहत छलफल गरिएको समेत राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर उमा पौडेलले जानकारी दिनुभयो ।




