बर्दिया, चैत्र ३ गते /(माउण्टेनसमाचार) ठाकुरबाबा उद्योग वाणिज्य संघले मेरो गोजि मेरो डस्टबिन कार्यक्रम अभियानको रुपमा शुरु गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँ बजारको देवीराम चोकबाट शनिबारदेखि मेरो गोजि मेरो डस्टबिन कार्यक्रम शुभारम्भ गरिएको ठाकुरबाबा उद्योग वाणिज्य संघका महासचिव गोपाल निरौलाले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै मेरो गोजि मेरो डस्टबिन अभियान शुरु भएको घोषणा गर्नुभयो । ठाकुरबाबा नगरपालिका पर्यटकीय गन्तव्य भएकाले सरसफाइयुक्त बनाउन आवश्यक रहेको उपप्रमुख भट्टराईले बताउनुभयो ।
उपप्रमुख भट्टराईले नगरपालिकालाई स्वच्छ सफा राख्नका लागि प्लाष्टिक न्यूनिकरण गर्न भुरीगाउँमा दुनाटपरी उद्योग संचालनमा आएको बताउँदै ४० माइक्रोन भन्दा तलको प्लाष्टिक र फाइवर प्लाष्टिकका कप, प्लेटहरु विक्रि वितरण नगर्न भनेर नगरपालिकाले सुचना समेत प्रकाशन गरेको बताउनुभयो । यस्तै उहाँले आउँदो बैशाखदेखि पूर्ण रुपमा प्लाष्टिकका कप, प्लेटहरु विक्रि वितरणमा रोक लगाइने बताउनुभयो । उद्योग वाणिज्य संघले थालेको मेरो गोजि मेरो डस्टबिन अभियानमा नगरपालिकाको पनि साथ रहने बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनालले उद्योग वाणिज्य संघले थालेको मेरो गोजि मेरो डस्टबिन अभियानमा एकतावद्ध भएर लाग्ने बताउनुभयो । नगरपालिकालाई स्वच्छ, सुन्दर र सरसफाइयुक्त बनाउनु सबैको जिम्मेवारी भएकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
यसैगरी ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुँवरले सरसफाइको सुरुवात सर्वप्रथम आफैबाट गर्नुपर्छ भन्ने उद्देश्यले मेरो गोजि मेरो डस्टबिन अभियान शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाह बजार र वडा नम्बर ५ शाहीपुर बजारमा पनि कार्यक्रम गरिएको छ ।
आउँदो १० गते वडा नम्बर ६ को बकुवा बजार र वडा नम्बर ९ ठाकुरद्वारा बजारमा कार्यक्रम गरिने कुँवरले बताउनुभयो । यस्तै १७ गते पुनस् भुरीगाउँ बजारमा गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईको प्रमुख आतिथ्ययता तथा ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गणेश कुँवरको अध्यक्षतामा कार्यक्रम शुभारम्भ गरिएको हो ।
बिशेष अथितिका रुपमा ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनाल रहनु भएको थियो भने ठाकुरबाबा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद आचार्य, ठाकुरबाबा उद्योग वाण्ज्यि संघको नवनिर्वाचित प्रतिनिधिहरु, वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष श्यामलाल थारु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख लगायत व्यापारीहरुको उपस्थिति रहेको थियो ।




