आज माघ १६ गते, देश र जनताको स्वतन्त्रता ,सम्मान र समृद्धिका लागि जीवन उत्सर्ग गर्ने वीर सहिदहरुलाई स्मरण गर्ने दिन, सहिद दिवस । १९९७ सालमा राणा शासन विरुद्ध संघर्षको दौरान सहादत प्राप्त गर्नुहुने श्रद्धेय शुक्रराज शास्त्री,दशरथ चन्द ,धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको स्मृतिमा यो दिनलाई सहिद दिवसका रूपमा लिने गरिएको छ।नेपाल राष्ट्रको निर्माण र यो राष्ट्रको स्वतन्त्रताको रक्षाका लागि धेरै सपूतहरुको रगत बगेको छ।मुलुकको लोकतान्त्रिक रुपान्तरण तथा नागरिकको मुक्ति एवं समृद्धिका लागि थुप्रै होनहार वीरहरुले वलिदान दिनु भएको छ।नेपालको लोकतान्त्रिक रुपान्तरण र नेपाली जनताको गरिमामय जीवनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरु सर्वथा आदरणीय छन् ।देश र जनताको समुन्नतिका लागि आत्मोत्सर्ग गर्ने सपूतहरुको सम्झना गर्ने दिन वास्तवमा हाम्रा लागि सर्वाधिक महत्त्वपूर्ण दिन हो।
हामीले प्राप्त गरेको राजनैतिक उपलब्धिमा सहिदको रगत मिसिएको छ ।आज हामीले पाएको स्वतन्त्रता ,बोल्ने ,पढ्ने ,सम्पत्ति आर्जन गर्ने,निर्भयता पूर्वक हिड्न डुल्न पाउने,राजनैतिक पद प्रतिष्ठा आर्जन गर्ने लगायतका अधिकारहरु सजिलै पाइएका हैनन,सहिदका रगतसग साटिएर प्राप्त भएका हुन् यी अवसरहरु।के हामी कृतज्ञ हुनुपर्दैन?सहिदको सम्मान र सम्झनामा कतै हामी उदासिन त छैनौं ?
बर्दियाको सदरमुकाम गुलरियामा आज मनाइएको सहिद दिवसको परिदृश्यले सोच्न विवश बनाएको छ।जिल्ला समन्वय समितिको आयोजनामा प्रभातफेरी ,सहिदपार्कस्थित सहिद स्मारकमा माल्यार्पण र कोणसभासहित मनाइएको सहिद स्मृति कार्यक्रममा नागरिक सहभागिता न्यून देखियो ।केही सरकारी कर्मचारी ,सेना तथा प्रहरीको उपस्थितिमा कार्यक्रम सप्पन्न गरियो ।राजनैतिक दलहरु जसले सहिदको योगदानलाई सबैभन्दा बढी हृदयङ्गम गर्नु पर्थ्यो,उहाँको उपस्थिति शून्य देखियो ।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभामा बर्दियाबाट प्रतिनिधित्व गर्ने साम्सद संजय गौतम आफ्नो मन्तव्यका क्रममा दलहरुलाई खोज्दै हुनुहुन्थ्यो ,सहिद दिवसप्रति देखिएको उदासिनताप्रति कटाक्ष गर्दै विभिन्न तहका सरकार प्रमुखहरुलाई कहाँ ,के गर्दै हुनुहुन्छ ?भनेर प्रश्न गर्दै हुनुहुन्थ्यो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अभिव्यक्ति मननीय थियो।
सहिद दिवसप्रति उदासिन हुनु दु:खद विषय हो।राजनैतिक दल,जनप्रतिनिधि र सकृय नागरिकहरुमा देखिएको यस प्रकारको उदासिनताले राम्रो सङ्केत गर्दैन । यो कृतघ्नता र गैरजिम्मेवारीपन हो ,सभ्य समाजमा यस्तो प्रवृति निन्दनीय हुन्छ





