१७ पुस, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबार काठमाडौंमा हुँदैछ । नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने भारतको नेतृत्व जयशंकरले गर्नेछन् ।
जयशंकरको नेपाल भ्रमणका बेला नेपाल र भारतबीच दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । दीर्घकालीन उर्जा खरिदसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रकम बढाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।
सन् २००३ देखि हालसम्म भारतले नेपालमा विभिन्न क्षेत्रमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेको छ । बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नु पर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायत विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि उनीहरूले सुझाव दिएका थिए ।




