१६ पुस, काठमाडौं । रुस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् । मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

रुसको मस्कोस्थित नेपाली दूतावासले मन्त्रालयलाई जानकारी दिएको हो । रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको बताइएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर गराइएको छ । परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिइएको हो ।
वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ । थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ ।




