२०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको राजनैतिक नारा सहित नेपाली कांग्रेसका नेता लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष वीपी कोइराला आफ्ना सहकर्मीहरु सहित प्रवासको बसाइ परित्याग गरि स्वदेश फर्किए। निरङ्कुश शासन व्यवस्था भएको मुलुकमा मेलमिलाप दुर्लभ विषय हो।

राजाले स्थापना गरेको पन्चायती व्यवस्थामा फरक मत राख्नेहरु अराष्टिय तत्वका रूपमा राज्य संयन्त्रबाट दुत्कारिन्थे र कार्वाहीको निसानामा पर्दथे। स्वयं वीपी कोइरालामाथि समेत आठवटा राजकाज लगायतका मुद्दा चलाइएका थिए। यता राजावादीहरु वीपीलाई फाँसी दिनु पर्ने माग गरिरहेका थिए। वीपीका सुभेच्छुकहरु उनको नेपाल आउने निर्णयप्रति सहमत थिएनन् । जीवन र राजनीति दाउमा थियो ।
तर पनि वीपी स्वदेश फर्किए । भारतमा इन्दिरा गान्धीको उन्माद थियो । उनले सिक्किम निलेकी थिइन् ।उनी निरंकुश बन्दै थिइन । भारतीय लोकतन्त्र इन्दिराको सङ्कट काल सामु निरीह बनेको थियो। चीन र भारतबीच तनाव थियो।बङ्गलादेश अशान्त थियो । बर्मामा पनि तनाव थियो। शीत युद्ध उत्कर्षमा थियो । नेपाल भूराजनीतिक दृष्टिले कठिन मोडमा थियो । वीपीले राष्ट्रको पक्षमा निर्णय गरे । निरङ्कुश राजासग न संघर्ष न समर्पणको नीति ल्याएर स्वदेश फर्किए।
वीपीले राष्ट्रिय मेलमिलापको अवधारणामा प्रमुख दुई विषयलाई महत्त्व दिनुभएको थियो राष्ट्रियता र लोकतन्त्र ।राष्ट्र प्रथम र महत्त्वपूर्ण विषय हो।राष्ट्र रहे हामी रहनेछौ र हाम्रो राजनीति रहनेछ । त्यसैले वीपीले राष्ट्रियताको सवालमा राजासग मित्रताको हात बढाए। अर्को विषय लोकतन्त्र थियो । लोकतन्त्रका सवालमा वीपीले राजासग अविच्चिन्न फरक मत राखे । लोकतन्त्रमै राष्ट्रियता मजबुत हुन्छ भन्ने विषयमा वीपी दृढ थिए ।
लोकतान्त्रिक व्यवस्थामा नागरिक अधिकार सम्पन्न र सचेत हुन्छन् । नागरिकमा राष्ट्र हाम्रो हो भन्ने भावना जागृत भएको हुन्छ । लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई देशभक्त बन्ने अवसर र प्रेरणा दिन्छ । त्यसैले राष्ट्रियता र लोकतन्त्र एक अर्काका परिपूरक हुन्छ्न भन्ने विश्वासले वीपी प्रेरित थिए ।आफ्नो यही विश्वासको जगमा उभिएर उहाँ स्वदेश फर्किएका थिए । वीपीले प्रतिकूल अवस्थामा राष्ट्र र जनताको पक्षमा ऎतिहासिक निर्णय गरेका थिए । यही निर्णयका कारण मुलुकमा लोकतान्त्रिक आन्दोलनले उचाइ प्राप्त गर्यो ।
आज हामी भिन्न परिवेशमा छौ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र छ तथापि नागरिकमा सन्तुष्टि छैन । मुलुकले समृद्धिको बाटो समात्न सकेको छैन । भ्रष्टाचार मौलाएको छ।राजनैतिक शक्तिहरू वैचारिक रूपमा कमजोर बनेका छन् । राष्ट्र कमजोर भएको अनुभूति सर्वत्र गरिदैछ। राष्ट्रिय एकताको विगुल फुक्ने नेपाली काङ्ग्रेसमा आज आन्तरिक एकताको खोजी भैरहेको छ ।
राजनैतिक पार्टीहरुमा आन्तरिक लोकतन्त्र नाममात्र छ।जनतामा उकुसमुकुस छ।वर्तमान नेतृत्वले जनभावनाको समुचित सम्बोधन गर्न सकिरहेको छैन । यतिबेला वीपी कोइरालाको मेलमिलापको नीति खड्किएको छ।लोकतान्त्रिक मूल्य ,पद्धतिको जगेर्ना सुशासन सहितको समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय मेलमिलाप आज झनै सान्दर्भिक छ,आवश्यक छ।




