बर्दिया, पुस ३ गते (माउण्टेनसमाचार) / मंसिर ३० गते देखि सञ्चालित स्व.अजय श्रेष्ठ स्मृति क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा होराइजन क्रिकेट क्लब र युथ अफ टिकापुर विजयी भएका छन।

होराइजन क्रिकेट क्लबले लम्किचुहा क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको छ भने युथ अफ टिकापुरले मधुवन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।

होराइजन ले पहिलो ब्याटिङ गर्दै १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाउन सफल भएको थियो । होराइजनका लागि सुमित पराजुलीले ३६ रन बनाएका थिए भने निश्चल ज्ञवालीले ३४ रनको योगदान दिएका थिए। १ सय ५८ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको लम्किचुहा क्रिकेट क्लब १५ ओभर ५ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाएर ८३ रनमा अलआउट भएको थियो । होराइजनलाई जित अहम भुमिका गर्दै ५ विकेट लिएका निराजन भट्टराई म्यान अफ द म्याच घोषित भएका थिए।
यस्तै अर्को खेलमा मधुवन क्रिकेट क्लबले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ८ विकेट को क्षतिमा ९५ रन मात्र बनाउन सफल भएको थियो । ९६ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको युथ अफ टिकापुरले प्रवेश साउदको ३१ रनको मद्दतले १८ ओभर ३ बलमा ९६ रनको लक्ष्य पुरा गर्दै विजयी भएको थियो ।आक्रशक ब्याटिङ गरेका प्रवेश साउद म्यान अफ द म्याच घोषित भएका थिए।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ९० हजार ५ सय, द्वितिय हुने टिमलाई नगद रु ४० हजार ५ सय पुरस्कारसहित मेडल, ट्रफी र प्रमाण पत्र दिने आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा १२ टिमले सहभागिता जनाएको आयोजक बर्दिया क्रिकेट एकेडेमीका संचालक सिद्धार्थ श्रेष्ठले जनाएका छन् ।
प्रतियोगिता बर्दिया क्रिकेट एकेडमी आयोजक र जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा संचालन भईरहेको छ।




