बर्दिया,मंसिर २७/बर्दियाको ग्रामीण क्षेत्र ठाकुरबाबा नगरपालिका -३ बगनाहमा रहेको चुरे माध्यमिक विद्यालयले ५०औँ वार्षिकोत्सब अर्थात स्वर्ण महोत्सव भव्य र सभ्य रुपमा मनाउने भएको छ । विक्रम संम्वत २०३० सालमा स्थापना भएको चुरे माध्यमिक विद्यालयले यहि पौष ३ गते ५० औँ वार्षिकोत्सब अर्थात स्वर्ण महोत्सव मनाउने भएको हो ।

विद्यालयको वार्षिकोत्सब तथा स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा मंसिर २९ गतेदेखि पौष ३ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएकाले सम्पूर्ण शिक्षक, अभिभावहरु, पूर्व विद्यार्थीहरु, पूर्व शिक्षकहरु, शिक्षाप्रेमी, बुद्धिजीवि तथा सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थितिका लागि विद्यालय प्रशासनले आग्रह गरेको छ ।
स्वर्ण महोत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक अर्थात वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुको अध्यक्षतामा मङगलबार बैठक बसी बिभिन्न गाउँका बडघर तथा शिक्षकहरुबीच छलफलसमेत गरिएको छ । २०३० साल पौष ३ गते स्थापना भएको चुरे माध्यमिक विद्यालयको यहि पौष ३ गते मंगलबार ५० वर्ष पुग्न लागेको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिएको छ । विद्यालयले स्वर्ण अवसर पारेर यहि मंसिर २९ गतेको दिन आन्तरिकका लागि गुबरा फोर, चम्चा दौड ,दौड तथा बोरा दौड यस्तै मंसिर ३० गते शिक्षक भलिबल प्रतियोगिता कुर्सी दौड लगायत विविध कार्यक्रमहरु हुने भएको छ ।
विद्यालयको ५० औँ वार्षिकोत्सब लागि ९ लाख ३५ हजार भन्दा बढी रकम संकलन भैसकेको छ । विद्यालयका प्रधानाध्यापक राजेश यादवका अनुसार चुरे पुर्व विद्यार्थीहरूबाट हालसम्म ९ लाख ३५ हजार ९ सय ६ रुपैयाँ रकम उठेको छ भने विभिन्न संघसंस्था र शिक्षाप्रेमी व्यक्तिहरुबाट घोषणा भएको २ लाख ७८ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ ।
संकलन गरिएको रकमबाट झण्डै १ लाख ५२ हजार रुपैयाँ बार्षिकोत्सवका लागि खर्च भइसकेको चुरे माविका प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । वार्षिकोत्सबका अवसरमा पौष ३ गते चुरे माध्यमिक विद्यालय बगनाहमा वृहत रक्तदान कार्यक्रमको आयोजना पनि गरिने भएको छ ।साभार टाइगरखबर




