नेपाली कांग्रेसभित्र महासमिति बैठक फेरि सार्ने तयारी भइरहेको छ।

पुस १६ गतेदेखि ललितपुरको गोदावरीस्थित सभाहलमा महासमिति बैठक गर्ने निर्णय गरे पनि सभापति शेरबहादुर देउवाले ‘पुसको चिसोमा बैठक नगरौं’ भनेपछि अन्योल देखिएको हो।
सभापति देउवाले धुम्बाराहीमा मंसिर १३ गते धुम्बाराहीमा भएको पदाधिकारी बैठकमा ‘पुसको ठण्डीमा महासमिति सदस्यहरू काठमाडौं आउन गाह्रो हुन्छ, बैठक दुई महिना सारौं न’ भनेका थिए। सभापतिका कुरा सुनेपछि उनीनिकट पदाधिकारीहरूले ‘हुन्छ त्यसै गरौं, बैठक धकेल्दा केही बिग्रिँदैन’ भनेका थिए।

गत कात्तिक २१ गते पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने बताएका थिए। तर बैठकका लागि प्रतिवेदन तयार पार्ने कामसमेत भइसकेको छैन।
कांग्रेसले मंसिरको १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय गरेको थियो। सो अवधिमा महासमिति बैठक गर्न नसकिने भन्दै मंसिर २९ देखि पुस २ गतेसम्म महासमिति सारेको थियो। त्यो मितिमा पनि बैठक असम्भव देखिएपछि कांग्रेसले पुस १६ देखि १९ गतेसम्मलाई सारेको थियो।
कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार अब फागुनमा महासमिति बैठक गर्ने तयारी छ। महासमिति बैठकको नयाँ मिति तय गर्न र राष्ट्रिय सभा चुनावका लागि दल दर्तालगायत प्रक्रिया अघि बढाउन सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइसकेका छन्।
‘मंसिर २९ गते धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्छ। त्यो बैठकले महासमिति बैठक फागुनमा गर्ने गरी मिति तय गर्ने र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तयारीलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिन्छ,’ ती पदाधिकारीले सेतोपाटीसँग भने।

कांग्रेसले महासमिति बैठक पुस १६ देखि गर्ने भनेर गोदावरीस्थित सभा हल दैनिक ५ लाख रुपैयाँ भाडा तिर्ने गरी बुकिङ्गसमेत गरिसकेको अवस्थामा महासमिति उक्त मितिमा गर्ने कि नगर्ने अन्योल देखिएको हो।
‘सभापतिले नै पुसको चिसोमा महासमिति सदस्य काठमाडौं आउन गाह्रो हुन्छ भनिसकेपछि बैठक केही धकेल्न खोजेजस्तो देखिन्छ,’ ती पदाधिकारीले भने, ‘तर बैठक सार्ने प्रस्ताव पो कसले ल्याउँछ। किनकि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुस १६ देखि नै महासमिति बैठक गर्नुपर्छ भन्ने अडानमा छन्, जिम्मेवारीअनुसार प्रतिवेदन पनि लेखिसकेका छन्।’
कांग्रेसले महासमिति बैठकका लागि सभापति देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति, महामन्त्री थापाको नेतृत्वमा सांगठानिक प्रतिवेदन र महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव समिति गठन गरेको थियो।
ती पदाधिकारीले दिएको जानकारीअनुसार उपसभापति खड्काले आफूले पाएको जिम्मेवारीअनुसार प्रतिवेदन लेखिसकेका छैनन्। ‘उहाँले बिसञ्चो छ भन्नु भएको छ, प्रतिवेदन तयार पारिसक्नु भएको छैन,’ ती पदाधिकारीले भने।
०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले १८१५ जना महासमिति सदस्य आउने व्यवस्था छ। केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्य, प्रवास, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबाट पनि महासमिति सदस्य आउने विधानको व्यवस्था छ। दुई हजार तीन सय जना हाराहारी महासमिति बैठकमा सहभागी हुन्छन्।
महासमिति बैठकमा विशेष गरी सैद्धान्तिक विषयमा छलफल हुन्छ। पार्टीले लिने नीतिबारे समूहगत रूपमा छलफल गर्ने तयारी पनि छ। ०७८ मंसिरमा भएको महाधिवेशनमा कांग्रेसले नेतृत्व अधिवेशन मात्रै गरेर नीति अधिवेशन पछि गर्ने निर्णय गरेको थियो।
कांग्रेसभित्र निर्णय प्रक्रियामा सभापति हाबी हुने गरेको गुनासो पनि छ। त्यसैले एकल नेतृत्व कि बहुपद भन्नेबारे पनि महासमितिमा गहिरोसँग छलफल गर्ने तयारीमा कांग्रेस छ। सहमहामन्त्रीमा मात्रै महिला आरक्षण दिइएको भन्दै केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्री र उपसभापतिमा पनि महिला समावेश हुनुपर्ने धारणा राखेकी थिइन्।
कांग्रेसमा अहिले १६८ सदस्यीय केन्द्रीय समिति छ। जसमा १३४ जना निर्वाचनबाट चुनिएर आउँछन् भने बाँकी सभापतिले मनोनीत गर्ने व्यवस्था छ। १४ पदाधिकारीमध्ये कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाट चुनिएर आएका छन्। सभापति देउवाले केन्द्रीय सदस्य मध्येबाट कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म गरेका छैनन्।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुसको चिसोमा महासमिति बैठक नगरौं भन्ने खालका सुझाव आए पनि यसबारे औपचारिक निर्णय नभएको बताए। ‘केही साथीहरूले शित लहर चल्ने बेला महासमिति नगरौं भन्नुभएको छ,’ उनले भने, ‘दुई पटक सारिसकेका छौं, सार्ने निर्णय भइसकेको छैन। राष्ट्रिय सभा चुनावपछि गर्ने कि भन्ने पनि छ, अब बस्ने बैठकले निर्णय गर्ला।’
केन्द्रीय सदस्य मधु आचार्यले कुनै पनि बाहनामा महासमिति सार्न नहुने बताए।
‘पुसमा जाडो हुन्छ भन्ने कुरा महासमिति बैठक तय गर्दा थाहा थिएन र?,’ उनले नेतृत्वलाई प्रश्न गर्दै भने, ‘जाडो हुन्छ, गर्मी हुन्छ, हावा चल्छ भनेर यो वा त्यो बाहनामा महासमिति सार्न हुँदैन। पार्टीलाई रुपान्तरण गरेर लैजानुपर्छ।’ साभार सेतोपाटी




