बर्दिया,मंसिर २४(माउण्टेनसमाचार) / बर्दिया प्रहरीले अबैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका–९ कतर्नियाघाट स्थितबाट चेकजाँचको क्रममा दुवै जनालाई शनिबार पक्राउ गरेको हो । आइतबार पत्रकार सम्मेलन गरि बरामद सुनका गहनासहित पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।


पक्राउ परेका दुवै जना प्र ३–०१–०२३८१६८ नंम्बरको हुण्डाई गाडीमा भुरिगाउँबाट बाँसगढीतर्फ गईरहेको अवस्थामा कतर्नियाघाट स्थित चेकजाँच गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ ।
बाँके नेपालगंज उपमहानगरपालिका–१९ राँझा बस्ने २९ वर्षिय मोहन विक र राप्ति सोनारी गाउँपालिका–२ स्थायी वतन भई हाल डुडुवा गाउँपालिका–५ जब्दहवा बस्ने ३८ वर्षिय देबिन्द्र बहादुर घर्ति पक्राउ परेका छन् । पक्राउ परेका घर्ति गाडी धनीसमेत हुन् । प्रहरीका अनुसार बरामद सुन २९ तोला १२ आना छ । प्रहरीका अनुसार बरामद सुनको मुल्य रु ३५ लाख बराबर रहेको अनुमान छ ।

बरामद सुन राजापुर भन्सार कार्यालयमा बुझाउने प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । प्रहरी उपरीक्षक शाहीका अनुसार बरामद सुन कहाँबाट ल्याइएको खुलेको छैन ।




