बर्दिया,मंसिर २३ / बढैयाताल गाउँपालिका–२ फुटाहामा नेपाल-भारत सीमा छुटाउने सीमा स्तम्भको रङरोगन सुरु गरिएको छ । नेपाल-भारत ८३ किमि बर्दियासँग जोडिएको २ सय ४५ सीमा स्तम्भमध्ये ३९ वटाको रंगरोगन र मर्मत नेपाली पक्षबाट गरिने भएको छ ।


नेपालले बिजोर र भारतले जोर नम्बरको स्तम्भको रङरोगन र मर्मत संभार गर्ने भएको छ । रङरोगन शुभारम्भ प्रमुख जिल्ला अधिकारी नारायण रिसाल र भारत नानपारा ५९ नम्बर बटालियनका कमान्डेन्ट शक्ति सिंहले स्तम्भ नम्बर ६६३/५१ को रङरोगन गरी संयुक्तरुपमा गरेका हुन् ।
दुई दशकयता नेपाल-भारत छुटाउने मुख्य ५ सहित सहायक र सानो गरी ७२ वटा स्तम्भ फेला नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रजिअ रिसालले सन् २०१४ मा निर्माण भएका सीमा स्तम्भको मर्मत संभार र रङरोगन गर्न लागेको बताए । ‘पुनर्निर्माण केही सीमा स्तम्भ रङरोगन पछि गरिने छ,’ उनले भने, ‘मर्मत संभार र रङरोगनको जिम्मा सशस्त्र प्रहरीले गर्ने छ ।’
भारतको चित्तलहवामा भारतीय पक्षले दशगजा मिचेर कालोपत्र निर्माण गरेको छ । ५९ नम्बर बटालियनका कमाण्डर सिंहले करिब दुई दशकअघि निर्माण भएको कुरा आफूलाई कुनै जानकारी नभएको बताए ।साभार ईकान्तिपुर




