आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्त भएर निरास व्यवसायी र सर्वसाधारणमा आशाको सञ्चार गराउदै गुलरियामा लुम्बिनी प्रदेश स्तरीय औद्योगिक व्यापार महोत्सव २०८० शुरु हुदैछ । यही पौष ६ गतेदेखि शुरु हुने यस महोत्सवको प्रमुख नारा समृद्ध बर्दियाका प्रमुख आधार कृषि ,पर्यटन ,उद्योग ,संस्कृति र पूर्वाधार भन्ने रहेको छ।

लुम्बिनी प्रदेशको पश्चिम प्रवेशद्वारका रूपमा रहेको बर्दिया जिल्ला ऎतिहासिक रूपमा नयाँ मुलुक भनेर चिनिन्छ । लगभग ५१ प्रतिशत आदिवासी थारु समुदायको उपस्थिति रहेको यो जिल्लामा मधेसी लागायत अन्य नेपालका धेरैजसो जाति ,धर्म र संस्कृतिका मानिसहरूको बसोबास छ।भाषिक,जातीय तथा संस्कृतिका हिसाबले बर्दिया जिल्ला विविधताको मनोरम फूलबारी हो।
प्राकृतिक दृष्टिले जैविक विविधताले भरिएको यो जिल्ला हरिया बन जङ्गल ,नदी नाला र तालतलैयाले सजिएको छ।पश्चिममा कर्णाली नदीको तटीय क्षेत्र अन्नको भण्डारका रूपमा सुपरिचित भौराटापु छ,जसको शिरभागमा रहेको बुढीकुला नहरको इन्टेकको सौर्न्दर्यले जोसुकैलाई मोहित बनाउछ ।बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्र दुनियाँका प्रकृतिप्रेमीहरुका लागि खुला विश्वविद्यालयका रूपमा बर्दियामा विराजमान छन् ।एक सिङ्गे गैडा,पाटे बाघ ,घडियाल,मृग,अनेकौ प्रजातिका चरा र वनस्पतिले भरिएको बर्दिया हेर्न लायक सुन्दर ठाउँ मानिन्छ ।
बबई उपत्यका ,कर्णाली र बबई नदीका तटीय क्षेत्र ,बढैया ताल ,भगहर ताल,कृष्णसार ताल र ताराताल जस्ता प्राकृतिक तालहरुमा रहेका प्राकृतिक छटाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मन्त्रमुग्ध पार्दछ्न।
कर्णाली चिसापानीमा रहेको एक खम्बे नमुना पुल,कोठिया घाटस्थित नेपालको सबैभन्दा लामो पुल,सुप्रशिद्ध ठाकुरद्वारा मन्दिर लगायत विभिन्न धार्मिक तथा साम्सृतिक स्थलहएउले बर्दियालाई आकर्षणको केन्द्र बनाएका छन् ।सडक पूर्वाधार ,सूचना प्रविधि र पर्यटन प्रवर्द्धनका लागि आवश्यक अन्य आवश्यक सेवा सुविधाको समुचित प्रवन्ध गर्न सकिएमा बर्दिया मुलुककै नमूना पर्यटकीय गन्तव्य बन्न सक्छ । यतातिर सरोकारवाला सवैको ध्यानाकर्षण गराउन महोत्सव उपयोगी बन्न सक्छ ।बर्दियामा अवस्थित प्राकृतिक ,साम्स्कृतिक तथा मानव निर्मित सम्पदाहरुको प्रचार प्रसार गर्दै यश क्षेत्रको गरिमा र पहिचान स्थापित गर्न पनि महोत्सवले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छ।
बर्दिया कृषि ,पर्यटन ,संस्कृति ,सामाजिक सम्पदा र विशेषताले भरिपूर्ण छ।सबै किसिमबाट समृद्ध हुदाहुदै पनि अपेक्षा गरे बमोजिम यसको प्रचार गर्न सकिएको छैन र बर्दियाबासी लाभान्वित हुन सकेका छैनन् ।आयोजक संस्था उद्योग बाणिज्य संघ ,बर्दिया गुलरियाका अध्यक्ष मङ्गल प्रसाद पाण्डे यश जिल्लाको विशेषता,मौलिकता ,विविधता ,सम्भावना र अवसरलाई विकास ,संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गर्न थालिएको बताउनु हुन्छ।
कृषि ,औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास गर्दै यस क्षेत्रमा आर्थिक समृद्धि ल्याउने ,स्वदेशी वस्तुको निर्यात प्रवर्द्धन गर्ने,आन्तरिक बजार सुदृढ बनाउने,आयात प्रतिस्थापन गर्दै आर्थिक रूपमा कृयाशील बर्दिया बनाउने दीगो लक्षका साथ अगाडि बढेको बताउदै अध्यक्ष पाण्डेले महोत्सवलाई सफल बनाउन सम्पूर्ण बर्दियाबासीहरुमा आग्रह गर्नु भएको छ।
महोत्सवमा पाँच करोड बराबरको कारोबार हुने आयोजकको लक्ष छ।संघका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ महोत्सवमा करिब एक लाख दर्शक भित्र्याउने लक्ष राखिएको बताउनु हुन्छ ।
महोत्सवमा करिब दुई सय स्टल सङ्ख्या रहनेछन् ,महोत्सव प्रचार संयोजक मोहित पौडेलका अनुसार थारु गाउँ ,स्थानीय कला संस्कृति झल्किने झाकी प्रदर्शन तथा बाल उद्यान र स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरुका प्रस्तुतिहरु महोत्सवका मुख्य आकर्षण रहेका छन् ।




