बालिका हत्या गरेको आरोपमा भारतीय नागरिक जेल चलान भएका छन्।

बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो।
बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए। चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए।
उनका अनुसार अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन्। शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ।
चौहानले चमारको हत्या पश्चात नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालिले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए। अभियुक्त चौहानले घटनालाई तोडमोड गर्नका लागि खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए। अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट १.५ किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेको थियो। साभार सेतोपाटी




