काठमाडौं,मंसिर ४ / जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरको पञ्चभयार मावि भूकम्पपछि पहिलो दिन खुल्दा ६ वटा कक्षाका विद्यार्थीले खुला चौरमै बसेर पढे । विद्यालयका साना ठूला गरी ५ वटा भवन थिए, २ वटा पूर्ण रुपमा क्षति भएको छ भने बाँकी ३ वटा भवनमा पनि क्षति पुगेको छ । तुलनात्मक रुपमा कम क्षति भएको भवनको ४ वटा कक्षाकोठामा कक्षा १, २, ५ र ६ को पढाइ सञ्चालन भयो । ‘अरु कक्षाका विद्यार्थीलाई प्रांगणमै राखेर पढाइयो’ विद्यालयका निमित्त प्रधानाध्यापक वीरबहादुर खत्रीले टेलिफोनमा भने ।

भर्खरै बनेको नयाँ भवनको एउटा कोठामा काठ थुपारिएकाले त्यसलाई पन्छाएर पढाइ सञ्चालन गर्ने विद्यालयको तयारी छ । त्यति गर्दा पनि ५ वटा अस्थायी भवन बनाउनुपर्ने उनको भनाइ छ । ‘युनिसेफले ५ वटा त्रिपाल दिने खबर पाएका छौं, बाँसको टहरा बनाएर त्रिपालको छानो बनाउने योजना छ’, उनले भने ।
१० कक्षासम्म पढाइ हुने विद्यालयका ४७९ विद्यार्थीमध्ये सोमबार पहिलो दिन १३३ जना विद्यार्थी उपस्थित भएका थिए । गाउँमा घरहरु भत्किएको र परकम्प गइरहेका कारण विद्यार्थीहरु डराएका छन्’ निमित्त प्रधानाध्यापक खत्रीले भने, ‘हामीले आज हाजिर गरेर भूकम्पदेखि डराउनुपर्दैन । भवन भत्कियो भनेर पढाइ नहुने कुरा हुन्न अब अस्थायी टहरामा भए पनि नियमित पडढाइ हुन्छ भन्यौं ।’
१५४ जनाको ज्यान जाने गरी १७ कात्तिकको राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका धेरै विद्यालय भवन भत्किएका छन् । कतिपय विद्यालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको छ । अहिले पनि परकम्पहरु गइरहेका छन् । भूकम्पको त्रासका बाबजुद विद्यार्थी सोमबारदेखि पुनः विद्यालय आएका छन् ।
कतिपय विद्यालयले खुला चौरमा र कतिपयले अस्थायी टहरामा राखेर कक्षा सञ्चालन गरेका छन् । ‘बालबालिकाको मनोवैज्ञानिक त्रास कम गर्नका लागि विद्यालयसम्म ल्याएर सिकाइमा सहजीकरण गर्नुपर्छ भनेर आजदेखि कक्षा सुरु गरेका छौं’ रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले भने ।
आठबिसकोटका ६४ विद्यालयमध्ये ५२ वटा विद्यालयमा क्षति पुगेको छ र ९ हजार ८४४ विद्यार्थी प्रभावित छन् । ११ जना विद्यार्थी र एक कार्यालय सहयोगीको मृत्यु भएको छ । करिब एक हजार ४ सय विद्यार्थीको शैक्षिक सामग्रीमा र ७६ वटा शौचालयमा क्षति पुगेको छ । पालिकाले कक्षा कोठा भत्किएका र बस्न डरलाग्दो भएको विद्यालयमा बालबालिका राख्नलाई बाँसको टहराको अस्थायी केन्द्र बनाएको छ । बालबालिका आपसमा खेल्न र कुराकानी गर्न थालेपछि मनोवैज्ञानिक त्रास कम हुने नगरपालिकाको विश्वास छ । ‘केही दिनभित्रै आवश्यक आधारभूत पूर्वाधार बनाएपछि पढाइको वातावरण सामान्य बन्नेछ’, उनले भने ।
छानाको लागि त्रिपाल, वरीपरी बार्नका लागि सिपोलिन, भुईंमा ओछ्याउन प्रिफर्म, विद्यार्थीको सिकाइ सामग्री, अस्थायी शौचालयको लागि आवश्यक सामग्री युनिसेफले दिन थालेको विष्टले जानकारी दिए । सोमबार ५ वटा विद्यालयको लागि आवश्यक सामग्री उपलब्ध भएको छ । भूकम्पले आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुर्याएको छ । जिल्ला शिक्षा समन्वय इकाइ रुकुम पश्चिमका प्रमुख तारा पुनका अनुसार जिल्लाभरका ६१ हजार विद्यार्थीमध्ये साढे १२ हजार जना प्रभावित भएका छन् ।
भूकम्पले जिल्लाका २८८ विद्यालयमध्ये ५२ वटा विद्यालयको भवन पूर्ण रुपमा भत्काएको छ । ५६ वटा विद्यालय सबलीकरण नगरी पठनपाठन सञ्चालन गर्न नसक्ने अवस्था छ । भूकम्पमा परी १८ जना विद्यार्थीको र एक कार्यालय सहयोगीको मृत्यु भएको छ । एक विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।
भवन भत्केका विद्यालयहरुले स्थानीय तहको सहयोगमा अस्थायी सिकाइ केन्द्र निर्माण गरिरहेको उनको भनाइ छ ।जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकाले जोखिममा रहेका विद्यालयमा सुरक्षित स्थान छनौट गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयहरूलाई पालिकासँगको समन्वयमा पठनपाठन सञ्चालन गर्न भनिएको बताए । उनका अनुसार, भेरी नगरपालिकामा ५६ वटा विद्यालयमा १२ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।
नलगाड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलवीर विकले सोमबारदेखि नै सबै विद्यालयमा पठन पाठन सुरु भएको बताए । उनका अनुसार, अति जोखिम भएका विद्यालयमा अस्थायी सिकाइ केन्द्र बनाएपछि मात्र पठनपाठन सुरु हुनेछ ।




